बुकी फूल भन्नाले हिमाली क्षेत्रका पाटनमा बर्सातको समयमा फुल्ने फूललाई जनाउँछ । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । अन्यत्रको तुलनामा ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्रका पाटन चौडा र समथर रहेकाले यहाँका पाटन बढी आकर्षक र मनमोहक देखिन्छन् ।
बुकी फुल र चाडपर्वको सम्बन्ध
बुकी फूलको सम्बन्ध ढोरपाटन र आसपासका गाउँमा मनाउने चाडबाड र धर्म, संस्कृतिसँग गाँसिएको छ । मगर समुदायको बाहुल्य रहेको ठाउँमा जेठ मसान्तदेखि असारको पहिलो हप्तासँग मनाइने वल पूजा अर्थात् भुमे पर्वमा युवकयुवती फूल टिप्न पाटन जाने गर्छन् र बुकी फूल टिपेर एकअर्कालाई दिने तथा सगुनका रूपमा टिपेर ल्याई गाउँका मान्छेलाई दिने गर्छन् । यहाँको लोकप्रिय भुमे नाचमा सबै बुकी फूलको नाम लिएर गीत गाउने र नाच्ने गरिन्छ । त्यसै गरी राँकेसङ्क्रान्ति भनिने साउनेसङ्क्रान्तिका दिन सबै बुकी फूललाई जम्मा पारेर लेक र गाउँका देवतालाई पुज्ने गरिन्छ । मगरात क्षेत्रकै प्रमुख मानिने उत्तरगङ्गा ढोरवराहको मेला ढोरपाटनलाई बुकी फूलले ढाकेको समयमा लाग्ने गर्दछ । ढोरपाटनमा ढकमक्क फूल फुलेर स्वर्ग जस्तै बनेको जनैपूर्णिमाको दिन पारेर यहाँ बलि राजा प्रकट भएका थिए भन्ने मान्यता रहेको छ र उहाँको स्वागतका लागि मेला लाग्ने गरेको हो भन्ने किंवदन्ती रहेको छ ।
बुकी फूल र पर्यटन
सामाजिक सञ्जालमा बुकी फूलका फोटो र भिडियो पोस्ट भएसँगै ढोरपाटनका होटेल र होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । यसले बुकी फूलबारे सबैको चासो बढाएको छ र बुकी फूलको संरक्षण गर्न सके पर्यटन प्रवर्धनमा सहयोग पुग्ने देखिएको छ तर ढोरपाटनका पाटनमा कति प्रजातिका बुकी फूल पाइन्छन् भन्ने विषयमा कुनै अध्ययन, अनुसन्धान र अभिलेखीकरण भएको पाइँदैन । यहाँका अधिकांश स्थानीय बासिन्दालाई यस्ता फूलको स्थानीय नामसमेत थाहा छैन । गोठालाहरू बुकी फूलबारे बढी जानकार भए पनि उनीहरूमा रहेको यो ज्ञान नयाँ पुस्तामा पुस्तान्तरण हुन सकेको छैन ।
मगर समुदायको बाहुल्य रहेको ठाउँमा मनाइने वल पूजा अर्थात् भुमे पर्वमा युवकयुवती फूल टिप्न पाटन जाने गर्छन् र बुकी फूल टिपेर एकअर्कालाई दिने तथा सगुनका रूपमा टिपेर ल्याई गाउँका मान्छेलाई दिने गर्छन् । यहाँको लोकप्रिय भुमे नाचमा सबै बुकी फूलको नाम लिएर गीत गाउने र नाच्ने गरिन्छ ।
बुकी फूलका प्रजाति
क) बिजौरे फूल : यो ढोरपाटनमा सबैभन्दा बढी पाइने बुकी फूलको प्रजाति हो । यस फूलका बिचमा सानो पहेँलो गुथो र त्यसबाट १५/१६ वटा साना पहेँला पत्र निस्केका हुन्छन । फूलका गुथाहरू मिलेर छत्र आकारको जस्तै बनेको हुन्छ ।
ख) राँके फूल : यो फूल सिम्रिक रङको हुन्छ र फूलको आकृति गहुँ, उवाको बाला जस्तै हुन्छ । राँकेसङ्क्रान्तिका दिन पूजा गर्दा यो फूल अनिवार्य रूपमा प्रयोग गरिने हुँदा यसलाई राँके फूल भन्ने गरिन्छ । यो फूल दलदले सिमसार क्षेत्रमा फुल्ने गर्दछ ।
ग) दुधे फूल : झट्ट हेर्दा सूर्यमुखी फूलको आकार जस्तो देखिने यो प्रजातिको फूल पहेँलो रङ र गोलो आकृतिको हुन्छ । फूल ससाना पत्र गाँसिएर बनेको हुन्छ । यसको डाँठ चुँड्दा दुध जस्तो पदार्थ निस्कने हुँदा दुधे फूल भन्ने गरिएको हो ।
घ) चुम्री फूल : घाम लागेपछि दिनभर फक्रिने र रात परेपछि डल्लो पर्ने फूललाई चुम्री फूल भनिन्छ । चुम्री फूल विभिन्न रङका रङ्गीचङ्गी हुन्छन् र हेर्दा निकै आकर्षक देखिन्छन् । यी फूल पाँच वटा रङ्गीन पत्र मिलेर गोलो आकृतिमा रहेका हुन्छन् । रातो फूल फुल्ने चुम्री फूललाई नाके फुली फूल भनिन्छ भने हल्का रातो रङको फूललाई पात्ले फूल वा पुतली फूल भनिन्छ । त्यसै गरी पहेँलो फुल्ने फूललाई प्याउली फूल भनिन्छ भने निलो फुल्ने फूललाई ओठफुटे फूल भनिन्छ । खर्कमा ओठ फुटेपछि यो फूलको पत्र चुँडेर लगाएपछि ओठ फुटेको सन्चो हुन्छ ।
ङ) बोक्सी फूल : दलदले सिमसार क्षेत्रमा पाइने यस फूलको डाँठमा तलदेखि माथिसम्म सेता फूल पलाएका हुन्छन् ।
च) दहीठेकी फूल : यो फूलको आकृति ठेकीको बिक्रो जस्तो हुने भएकाले दहीठेकी फूल भन्ने गरिन्छ । यस फूलको बिचमा पहेँलो रङको गुथो हुन्छ र त्यसको वरिपरि गोलाकारमा १५० वटा जति साना प्याजी रङका पत्र गाँसिएका हुन्छन् ।
छ) मदाने फूल : ढोङ्ग्रे काँडा नामको झारमा फुल्ने फूललाई मदाने फूल भनिन्छ । यस फूलका सेता पत्रमा हल्का रातो रङ मिसिएको हुन्छ । यसका फल पाकेपछि चरा र मानिसले खाने गर्छन् ।
ज) काप्चुच्चे फूल : यस फूलका डाँठ कागको खुट्टा जस्तै आकृतिका हुने भएकाले काप्चुच्चे फूल भन्ने गरिएको हो । यसका डाँठमा रातो रङका गेडा फल्ने भएकाले हेर्दा राम्रो देखिन्छ ।
यीबाहेक कप्टेरी फूल, भुइँपाटी फूल, बटारे फूल, फट्याङ्ग्री फूल, घोप्टे फूल र अतिश फूललगायतका धेरै प्रजातिका बुकी फूल यहाँका पाटनमा फुल्ने गर्छन् । बर्सात्को समयमा मात्रै फुल्ने यस्ता फूल असोज लागेपछि सुक्न थाल्दछन् ।
चुनौती
विगतको तुलनामा यहाँका पाटनमा चरिचरनका लागि लैजाने गाईवस्तुको सङ्ख्या बर्सेनि घट्दै गएकाले माटोको मलिलोपन पनि घट्दै गएको छ । साथै जलवायु परिवर्तनका कारण गर्मी बढेसँगै वृक्षरेखा अर्थात् ट्रिलाइन माथि सर्दै गएकाले पाटन झाँडी, बुट्यानले ढाकिँदै गएका छन भने सुक्खा बढेसँगै राँके फूल, बोक्सी फूल जस्ता सिमसारमा फुल्ने फूल मासिँदै गएका छन् ।