• १६ भदौ २०८१, आइतबार

मुस्ताङमा स्याउ टिप्ने मिति तय

blog

शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा फलेका स्याउ।

अमृतप्रसाद पौडेल

मुस्ताङ, भदौ ६ गते। हिमालपारिको जिल्ला मुस्ताङमा फलेका स्याउ टिप्नका लागि सर्वपक्षीय बैठकले मिति तय गरेको छ। समय नपुग्दै स्याउ टिपेर बजार पठाउँदा स्याउको आफ्नो रङ तथा गुणस्तर नआएको भन्ने गुनासो बढ्न थालेपछि पछिल्लो तीन वर्षदेखि मिति तय गरेर स्याउ बजार पठाउन थालिएको हो। गत वर्ष असोज १ गते बाट मात्रै स्याउ टिपेर बजार पठाइएको भए पनि यस वर्ष भने स्याउको जातका आधारमा टिप्ने मिति तय गरिएको छ।

जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङको अध्यक्षतामा बिहीबार जोमसोममा भएको बैठकले स्याउ टिप्ने मिति तय गरेको हो।

मुस्ताङमा उत्पादन भएको स्याउको उपयुक्त समयमा टिपाई गरेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने र आम स्याउ उपभोक्तामाझ मुस्ताङमा उत्पादित स्याउको ख्याति राम्रो रहने र कृषकले राम्रो मूल्य पाउने विषयलाई मध्यनजर गर्दै स्याउका जातीय गुण अनुसार स्याउ टिप्ने निर्णय भएको समन्वय प्रमुख गुरुङले जानकारी दिनुभयो। 


उहाँका अनुसार गाला प्रजातिको स्याउ भदौ १० गतेपछि टिप्न पाइने छ। त्यस्तै किङ रोट रेड डेलिसियस प्रजातिको स्याउ भदौ १५ पछि टिपेर बिक्री गर्न पाइने भएको छ। त्यसैगरी रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजी लगायतका स्याउहरू स्वाद गुलियोपन तथा गुणस्तरलाई ध्यान राख्दै असोज १ गतेपछि मात्रै टिप्नु उपयुक्त हुने निर्णय भएको उहाँले जानकारी दिनुभयो। 

सबै स्थानीय तहमा नै उक्त निर्णय कार्यान्वयन हुने जनाइएको छ। बैठकमा गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, स्याउ जोन, स्याउका अगुवा कृषकको सहभागिता रहेको थियो।

मुस्ताङमा पछिल्ला दिनमा इटालियन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो। मुस्ताङमा उच्च घनत्वका स्याउका झण्डै दुई लाख बिरुवा आइसकेको उहाँको भनाइ छ।