• १६ भदौ २०८१, आइतबार

खोकनामा रुद्रायणी जात्रा सुरु

blog

काठमाडौँ, भदौ ४ गते । काठमाडौँ उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ । खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन (हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ ।

यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरूमा दर्शन र पूजाका लागि ल्याइन्छ । पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भए पनि यसलाई छोट्याएर अहिले तीन दिनमा सारिएको हो । यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । यस्तै भोलि पर्सी र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ ।

खोकनाको रुद्रायणीको जात्रा कृषिसँग जोडिएको स्थानीयको मत रहेको छ । ‘सी’ भनेको फलफूल र ‘काली’ भनेको फल्ने ठाउँ भएर काठमाडौँ उपत्यका आफैँ सिकाली रहेको भनिन्छ । यो जात्रामा विशेष गरी फलफूल दान गर्ने चलन छ ।

स्थानीय उदयकुमार डङ्गोलले रुद्रायणी मन्दिरमा रहेका देवताहरूलाई खटमा निकालेर सिकाली चौरमा पुर्‍याइ पूजाआजा गरी रुद्रायणी जात्रा मनाउने गरिएको बताउनुभयो । उहाँले सिकाली चौरमा पुर्‍याएर विधिपूर्वक देवताहरूको पूजाआजा गरेपछि देवताहरूलाई पुनः रुद्रायणी मन्दिरमा फिर्ता ल्याइन्छ र फिर्ता ल्याउने पनि आफ्नै विधिसम्मत तरिका रहेको बताउनुभयो ।

उहाँकाअनुसार देवतालाई खटमा बसाएर बाजागाजासहित नाचगान गर्दै ल्याएर पुनः रुद्रायणी मन्दिरमै देवतालाई पुनः स्थापित गरिन्छ । पूजाआजा सम्पन्न भएपश्चात् मन्दिरमा भोज गरिन्छ । र राती डबलीमा गएर जात्रा गर्ने परम्परा रहँदै आएको छ । उहाँले खोकनामा गाईजात्रा भने भोलि मात्रै मनाइने बताउनुभयो । भोलि मृतकको परिवारबाट एक वर्षभित्र साफर जाने भनी कार्यक्रम गरिने र भोलि पनि देवगणहरूको विशेष पूजासहित भोजन हुने उहाँको भनाइ छ ।

स्थानीय ईश्वर डङ्गोलले हिजो क्वाँटी खाने दिनमा भ्यागुतालाई भात खुवाउने चलन रहेको बताउनु भयो । भ्यागुतालाई खुवाएर राखिराखेको भागबाट आज बेलुका औजारहरू पूजा प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले कुनै घरको परिवारका सदस्यको निधन भएको छ भने सो परिवारले दान गर्ने चलन रहेको बताउनुभयो ।

खोकनाका नेवारी समुदायले रुद्रायणीको जात्रालाई निकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । परम्परा जोगाउनका लागि पछिल्लो पुस्ताहरूको पनि उत्तिकै साथ रहेको स्थानीयले बताएका छन् ।