मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलको बढ्दो उडान चापलाई व्यवस्थापन गर्न कठिनाइ हुन थालेपछि थप अन्तर्राष्ट्रियस्तरका विमानस्थल निर्माण गर्नुपर्ने आवश्यकताबोध गरेर दुई वटा विमानस्थल निर्माण भइसकेका छन् । अर्बौं रुपियाँको लगानीमा निर्माण भएका भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित सेवा प्रारम्भ भएपछि त्रिभुवन विमानस्थलको चाप स्वतः कम हुने विश्वास गरिएको थियो । दुवै विमानस्थल तयार भएर पनि अन्तर्राष्ट्रिय उडान नियमित गर्न सकिएको छैन । निर्माण सम्पन्न भएका दुई विमानस्थल सञ्चालनमा सकस भइरहेका बेला अर्को थप विमानस्थल निजगढमा निर्माण गर्नसमेत गृहकार्य हुँदै आएको लामै समय भइसकेको छ । आन्तरिक उडानतर्फ समेत हवाई कम्पनीहरूको वृद्धि तथा अन्तर्राष्ट्रिय उडान बढिरहँदा समय व्यवस्थापनका साथै सुरक्षा व्यवस्थामा चुनौती थपिएको सरोकारवालाले बताउँदै आएका छन् । वार्षिक ८० लाख यात्रुको आवागमन हुने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमताभन्दा बढी उडान हुन थालेपछि उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा असर पर्नु स्वाभाविक हो ।
मुलुकको हवाई उडानको इतिहासमा सन् १९४९ मा पहिलो पटक नेपालका लागि भारतीय राजदूत सरजित सिंह आफ्नो निजी विमानमा आउँदाको नै पहिलो विमान अवतरण मानिएको छ । सानो गौचरनमा एक इन्जिनको चारसिटे बिचक्र्याफ्ट बोनान्जा घाँसे मैदानमा अवतरण गरेको थियो । त्यसपछि सन् १९५० मा भारतीय हिमालयन एभिएसनको डकोटा डिसी–३ ले पहिलो पटक उडान अनुमति पाएर काठमाडौँ–कोलकाता चार्टर उडान प्रारम्भ गरेको थियो । प्रजातन्त्र स्थापनापछि नेपाल र भारतको राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तारसँगै भारतले सन् १९५१ मा उपहारमा दिएको एउटा हिमालयन डकोटा विमानले सिमरा, भैरहवा, पोखरा र विराटनगरमा व्यावसायिक उडान सञ्चालन गरेको इतिहास छ । ६६ वर्षको इतिहास बोकेको त्रिभुवन विमानस्थलले यतिबेला वार्षिक करिब एक करोड यात्रुको आवागमन र बर्सेनि बढ्दो सङ्ख्यालाई थेग्न नसक्ने भएपछि निर्माण सम्पन्न दुई विमानस्थलमा उडान व्यवस्थापन गर्न सरकारले गम्भीर हुनुपर्ने देखिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३० वटा वायुसेवा कम्पनी र आन्तरिकतर्फ १२ वटा हेलिकोप्टर कम्पनी तथा नौ वटा वायुसेवा कम्पनीका जहाजले हवाई सेवा सञ्चालन गर्दै आएका छन् । आन्तरिक उडानका लागि काठमाडौँनजिकको उपयुक्त क्षेत्रमा अर्को विमानस्थलको खोजी हुन थालेको पनि धेरै भइसकेको छ । अन्तर्राष्ट्रिय उडानको चाप बढ्न थालेपछि आन्तरिक उडानलाई अन्यत्र सार्न केही वर्षअघिदेखि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विकल्प खोज्न थालेको हो । तत्काललाई आन्तरिक उडानका लागि क्षेत्रीय विमानस्थल प्रयोग गर्ने र उपत्यकानजिकै नयाँ विमानस्थल निर्माण गर्ने विषयमा गृहकार्य थालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । चर्चा गरिने तर निर्णयमा नपुग्ने पुरानै रोग हो । काभ्रे जिल्लास्थित धुलिखेल नगरपालिकाको ठुलीचौर, नागीखेत र नागडाँडामा विमानस्थल निर्माण गर्न अध्ययन गरे पनि प्रक्रिया अघि बढ्न सकेको देखिँदैन । केही वर्षअघि सरकारले ५० लाख रुपियाँ विनियोजन गरेर पात्लेखेतको सम्भाव्यता अध्ययन गरेको मन्त्रालयले जानकारी गराएको हो । काठमाडौँबाट नजिक पर्ने क्षेत्रमा आन्तरिक विमानस्थल अनिवार्य भएको सरोकारवालाको बुझाइ हुँदाहुँदै पनि प्रक्रिया अगाडि नबढ्नु पुरानै रोग हो । एक वर्ष अध्ययन गरिने र अर्को वर्षदेखि चासो नदिने गरिँदा विमानस्थलतर्फ मात्र होइन, मुलुकका अन्य विकास निर्माणका कार्यमा समेत अलमल देखिने गरेको छ ।
सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न कसरत गरिरहँदा पहिले उडान गरिसकेको कुवेतको जजिरा एयर र हङ्गेरीको बिज एयरले विभिन्न छुट सुविधा मागसहित पत्राचार गरेको नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । उडान अनुमतिसँगै हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर, इन्धन र पर्यटन करमा छुटसमेत माग गरेकाले सरकारले निर्णय गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको हो । पोखराका लागि पनि यस किसिमका के कस्ता सुविधा दिन सकिने हो, त्यसको नीतिगत निर्णय गर्न आवश्यक देखिएको छ । निर्माण भइसकेका विमानस्थल ‘हवाई रुट’ देखि लिएर अन्य सेवा सुविधा उपलब्ध गराएर आकर्षित गर्ने सम्बन्धमा सरकारले गम्भीर पहल गर्नुपर्ने आवश्यकताबोध हुन्छ । त्रिभुवन विमानस्थलकै पनि विस्तार प्रारम्भ गरिएको धेरै भयो । निर्माण कार्य सुस्त भएको अनुभव गरिएको छ । विमानस्थल क्षेत्रमै भएका हवाई दुर्घटनाले अन्तर्राष्ट्रियस्तरमा प्रश्नचिह्न लागिरहेको अवस्थामा अर्को व्यवस्था नहुन्जेल यसैलाई चुस्त व्यवस्थापन गरेर सञ्चालन गर्नेतर्फ सरोकारवालाको ध्यान केन्द्रित हुन आवश्यक छ ।