• ७ मंसिर २०८१, शुक्रबार

उद्योगमन्त्रीद्वारा हेटौँडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

blog

उद्योगमन्त्री दामोदर भण्डारी । तस्बिर : रासस

मकवानपुर, भदौ १ गते । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा सङ्घीय सरकारलाई अवगत रहेको बताउनुभयो । 

उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिँदै उहाँले सङ्घीय सरकारले चरणबद्धरुपमा गृहकार्य गरिरहेको बताउनुभयो । हेसिउली उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिएकाइ लागत न्यूनीकरण गरी प्रतिस्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिनुभयो । समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेशिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताउनुभयो । 

अध्यक्ष भण्डारीले हेटौँडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्ता माझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले हेटौँडा सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटका कारण पटक-पटक बन्द गर्नु परिरहेको बताउँदै उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मेशिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मेशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्री भण्डारीसमक्ष माग गर्नुभयो ।

मन्त्री भण्डारीले आजै हेटौँडा औद्योगिक क्षेत्रमा रहेको हेटौँडा कपडा उद्योगको पनि वर्तमान अवस्थाका बारेमा निरीक्षण गर्नुभएको छ । कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै मन्त्री उहाँले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताउनुभयो । हेटौँडा उपमहानगरपालिका-१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले आज नै अवलोकन गर्नुभएको छ । 

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ । मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने जानकारी दिनुभयो । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक सङ्गीता कुँवर, हेसिउली व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले मयुरधाप औद्योगिक क्षेत्रको हालसम्मको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । 

आजै मन्त्री भण्डारीले मकवानपुर उद्योग वाणिज्य सङ्घमा उद्योगी तथा व्यवसायीसँग वर्तमान समसामयिक समस्याका बारेमा छलफल गर्नुभएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरपालिकाका विभिन्न शीर्षकका करका दर एक सय ५३ प्रतिशतसम्म बढाएर उद्योगी व्यवसायीलाई दुःख दिएको सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मन्त्री भण्डारीसमक्ष गुनासो राख्नुभयो । रासस