• ९ मंसिर २०८१, आइतबार

निरन्तर सरसफाइ अभियान

blog

प्रकाशपुर बजार क्षेत्र सफा गरिँदै ।

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, साउन ३१ गते । वराहक्षेत्र नगरपालिकालाई सुन्दर, सफा नगर बनाउने योजनासहित सुरु गरिएको सरसफाइ अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ । 

नगर क्षेत्रको सार्वजनिक स्थलमा नगरप्रमुख रमेश कार्कीको अगुवाइमा हुँदै आएको सरसफाइ अभियानले दुई वर्षदेखि निरन्तरता पाउँदै आएको छ । प्रत्येक शनिबार नगरका सार्वजानिक स्थलमा सरसफाइ गरिँदै आएको थियो । पछिल्लो समय आवश्यकता अनुसार शनिबारबाहेक अरू दिन पनि सरसफाइ गरिँदै आएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले चलाएको अभियान अन्तर्गत साबिकका पाँच वटा गाविस प्रकाशपुर, मधुवन, महेन्द्रनगर, भरौल, वराहक्षेत्रका प्रमुख चोक बजार, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, बसस्टेसन, औलिया मठ परिसरलगायतका क्षेत्र प्राथमिकता र आवश्यकता अनुसार सरसफाइ गरिँदै आएको छ । नगरपालिकाले चलाएको अभियान अन्तर्गत वराहक्षेत्र मन्दिर, चतराधाम क्षेत्रमा मानिसको चहलपहल बाक्लो हुने हुँदा बढी मात्रामा सरसफाइलाई ध्यान दिनु परेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । नगर क्षेत्रमा रहेका बसपार्क, बजारलाई सफा राख्न अभियानलाई चलायमान बनाउँदै ल्याइएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।

‘हाम्रो वराहक्षेत्र, राम्रो वराहक्षेत्र’ बनाउन सबै नगरवासीको साथ आवश्यक रहेको नगर आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताउनुभयो । नगरपालिकाले आफ्ना घरअगाडि रहेको फोहोर व्यवस्थापन गर्न र पानी जम्ने खाल्टाखुल्टीमा पानी जम्न नदिन सबै नगरवासीलाई आग्रह गरेको छ । सरससफाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, व्यापारी, राजनीतिक दलका नेता, कार्यकर्ता, स्थानीय सङ्घ संस्था र नगर प्रहरीलगायतको सहभागिता हुँदै आएको छ ।