रवीन्द्र उप्रेती
बर्दीबास, साउन ३१ गते । बर्दीबासमा आयोजित शिवपुराण महायज्ञमा दुई करोड रुपियाँभन्दा बढी दान सङ्कलन भएको छ । महायज्ञ समापनपछि बुधबार आयोजना गरिएको समीक्षा बैठकमा सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि साउन २२ गतेदेखि मङ्गलबारसम्म आयोजना भएको शिवपुराणमा दानदातव्यबाट दुई करोड ४० हजार १८६ रुपियाँ सङ्कलन भएको महायज्ञ आर्थिक उपसमितिका संयोजक शम्भु भट्टराईले बताउनुभयो ।
महायज्ञमा सहभागी भक्तजनमध्ये एक हजार ४१७ जनाले दान रसिदमार्फत एक करोड ५७ लाख आठ हजार ३०४ रुपियाँ दान भएको छ । जसमध्ये तीन जनाले तीन लाख १५ हजार गुप्तदान गर्नुभएको उहाँले जनाउनुभयो । सङ्घीय सांसद लक्ष्मी महतोले आश्रम निर्माणका लागि ७१ हजार इँटा दान गर्नुभयो । शिवपुराण महायज्ञ मूल समितिका सचिव एवं प्रवक्ता चेतकुमार थापाका अनुसार महायज्ञमा सबैभन्दा बढी मधेश प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले हाम्रो मायाको घरमा ३० लाख रुपियाँ बराबरको चारकोठे भवन निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
बर्दीबासका नगरप्रमुख प्रह्लाद क्षेत्री तथा उहाँकी धर्मपत्नी मञ्जु क्षेत्रीले दुई कोठा निर्माणका लागि १५ लाख रुपियाँ दान गर्नुभएको छ । होटल व्यवसायी हिरालाल गौतमले १० लाख ११ हजार १११ रुपियाँ तथा बर्दीबासकै कृष्ण गौतम, शम्भु भट्टराई तथा राजेश थापा र सुमित्रा भट्टराई दम्पतीले साढे सात लाख रुपियाँको दरले दान गर्नुभएको जनाइएको छ ।
महायज्ञ मूल समितिका संयोजक हिरा गौतमले सडक मानवका लागि ‘मायाको घर’ निर्माण गर्न अपेक्षा गरेभन्दा बढी सहयोग सङ्कलन भएको बताउनुभयो ।