• १२ असार २०८१, बुधबार

सुविधाजनक वा आरामदायक पत्रकारिता

blog

गएको पुस १४ गतेका नेपाली मिडिया हेर्ने हो भने चन्द्रागिरि डाँडामा मात्रै हिउँ प-यो । नेपाली मिडियाको रिपोर्टिङलाई आधार मान्ने हो भने हिउँ परेको देख्ने चन्द्रागिरि हिल्सका अधिकारीहरू मात्रै थिए । अघिल्लो रातिदेखि परेको हिउँका बारेको समाचार भोलिपल्टका काठमाडौँकेन्द्रित माध्यम र त्यसपछिको कपिपेस्टकारिताअन्तर्गत देशैभरका माध्यमको समाचार स्रोत एउटै देखियो ।

आठ हजार ३६५ फिट अग्लो यो डाँडामा हिउँ पर्दा उपत्यकाकै अन्य डाँडाहरू नगरकोट, फूलचोकी वा चम्पादेवीलगायतमा प्रकृतिले हेला गरेको थिएन तर यी डाँडाको हिमपातबारे नेपाली मिडिया बेखबर रहे । किनभने चन्द्रागिरि डाँडामा केबुलकार सञ्चालन गरेको चन्द्रागिरि हिल्स प्रा.लि.ले आगन्तुकलाई आकर्षित गर्न जारी गरेका समाचार, तस्बिर र भिडियोमा मात्रै माध्यमहरू र तिनका सम्पादक निर्भर रहे । भोलिपल्ट पनि बाइलाइनसहितका रिपोर्टिङका लेख, तस्बिर र भिडियोमा चन्द्रागिरिकै हिउँले ज्यादा स्थान ओगट्यो । किनभने क्यामरापर्सन वा पत्रकारका लागि केबुलकार सञ्चालन गरेको चन्द्रागिरि हिल्स ज्यादा मित्रवत् देखिन्छ । त्यसो त यो कम्पनीले द्वन्द्वरत पार्टीका मुख्य नेताबीच ‘शीतल’ बैठकको आतिथ्य गरेको होइन । 

वैशाख २२ गते चितवनको भरतपुरमा सत्तारूढ गठबन्धनका पार्टीहरूले संयुक्त चुनावी सभा गरे । चुनावी सभाको सुरुवातदेखि अन्त्यसम्म धेरै माध्यमले आफ्ना अनलाइन प्लेटफर्ममा प्रत्यक्ष प्रसारण गरे । आकर्षक सोफामा आसीन नेताहरूले त्यस क्षेत्रको विकासको गुणगान गाए र सुकुम्बासी एवं सर्वहाराका पक्षमा भाषण ठोके ।

अघिल्लै रातमा परेको भारी वर्षाले त्यहाँको सभास्थलको विकासको परीक्षण गरिसकेको थियो । धन्न सभा हुने दिनमा वर्षा भएन र सभास्थल परिवर्तन गर्नु परेन । चिसै भुइँमा बसेका जनताले अघिल्तिरको झकिझकाउ मञ्चमा आसीन नेताका भाषण झर्को नमानी सुने तर पत्रकारले त्यो मञ्च निर्माणमा कति खर्च भएको थियो भनेर खोजी गरेनन् । झकिझकाउ सोफा मञ्चसम्म कसरी ल्याइन्छन् ? सर्वहारा वा समाजवादी विचारधाराका नेताहरू जनतालाई चिसो भुइँमा राखेर कसरी गफ हान्न सक्छन् होला वा कुन मानसिकताले आयोजकले त्यस्तो मञ्चको प्रबन्ध गर्छन् होला ? 

पत्रकारिता प्रक्रियामा रिपोर्टिङ हुन छाडेका दृष्टान्त हुन् यी । डिजिटल माध्यम वा माध्यमहरू डिजिटल स्वरूपमा उपलब्ध हुन थालेपछि पत्रकारिता नै सुविधाजनक हिसाबमा चल्न थालेको छ । डिजिटल युगमा पत्रकारिताको आधारभूत योगदानमा ह्रास आउन थालेको छ । नेपाली पत्रकारिताले १२२औँ वर्ष पार गर्न लागेको सन्दर्भमा यो आलेख सुविधाजनक/आरामदायक ( कन्भेनियन्ट) पत्रकारिताका विषयमा केन्द्रित छ ।

सुविधाजनक पत्रकारिता मूलतः राजनीति, खेलकुद, मनोरञ्जन, अर्थ वाणिज्यलगायतका बिटमा फराकिलोसँग हुन थालेको छ । कोरोना महामारीपछि त यो अभ्यास झनै बढेको छ । सरकारका विवादास्पद निर्णय र अर्थतन्त्रमा दुरगामी प्रभाव पर्ने विषयहरू कि त रिपोर्टिङको दायरामै परेनन् वा आलोचनात्मक रिपोर्टिङबाट टाढै रहे ।

अनलाइन माध्यममा गरिएका प्रत्यक्ष प्रसारणमै निर्भर रहेरै हार्ड न्युजको रिपोर्टिङ हुन थालेको छ । भ्लगर वा युट्युबरहरू मूलधारे मिडियाले छाडेका विषय समातेर लोकप्रिय बन्दैछन् । सार्वजनिक भलाइका विषयवस्तुको उत्पादन र प्रसारणमा नागरिक सहभागिता फराकिलो बनेको छ जसले ‘अनसेन्सर्ड’ (गेटकिपिङ नगरिएका) विषय छताछुल्ल पारिदिएको छ । 

पत्रकारिता गर्ने माध्यमका आधारभूत काम सूचना दिने, शिक्षा दिने, प्रोत्साहन गर्ने र मनोरञ्जन प्रदान गर्ने मानिन्छ । त्यसका अलावा समाजको निगरानी गर्ने काम पत्रकारिताको मुख्य धर्म हो तर नेपाली पत्रकारिता डिजिटल युगमा आइपुग्दा मुख्य धर्मबाट अलग्गिएको वा अलग्गिएजस्तो देखिन थालेको छ । समाचार र विचारको कारोबार गर्ने समाचार माध्यम र समाचारबाहेकका विषयको कारोबार गर्ने समाचाररहित माध्यम (न्युज मिडिया र नन–न्युज मिडिया)मध्ये डिजिटल युगमा समाचाररहित माध्यम सशक्त हुँदै आएका देखिन्छन् । 

पत्रकारिताका चरणहरूमा योजना, सङ्कलन, सम्पादन र वितरण पर्छन् । वितरणअघिका सबै चरणमा गेटकिपिङ रहन्छ । डिजिटल माध्यमको द्रुत विकासले गेटकिपिङका लागि यथेष्ट समय नपाउँदा पत्रकारिता हलुको बन्दै गएको छ । यसले विश्वसनीयता गुमाउँदै गएको छ । गम्भीर पठनीय विषयवस्तुका सामग्री सीमित हुँदै गएका छन् । भएका सामग्रीको विश्वसनीयता पनि धरापमा परेको छ । त्यस्ता विषयवस्तुको उत्पादनमा लगानी हुनै छाडेको छ । पत्रकारिता जगाउने मुख्य चरण रिपोर्टिङ खुम्चिएको छ र समाचार अनि विचारको आयतन पनि साँघुरिएको छ । 

छापा माध्यमले जेनतेन हरेक दिन नयाँ संस्करण दिएकै छन् । टेलिभिजनले २४ घण्टामा ‘पूर्ण ताजा’ बुलेटिन साँझपखबाहेक दिन सकेका छैनन् । रेडियोको समाचार कक्षमा रिपोर्टिङ टिम दिनदिनै खुम्चिँदै गएको देखिन्छ, सामान्यस्तरको सम्पादन र वाचनका लागि मात्रै जनशक्ति खटाइएको छ । अनलाइन माध्यमका समाचार कक्षमा पनि सुविधाजनक सङ्ख्यामा जनशक्ति छैन । 

नेपालमा आरामदायी पत्रकारिताको दृष्टान्तका लागि बिहानीपखका रेडियोका बुलेटिनलाई सुने पुग्छ । सबैजसो रेडियोका बुलेटिन अखबारकै सामग्रीमा केन्द्रित छन् । अखबारका विषयवस्तु पस्किने कतिपय रेडियोले क्रेडिटलाइन दिनसमेत जरुरी ठान्दैनन् । अर्कोतर्फ रेडियोमा अन्तर्वार्ता स्तम्भले ठूलो समय ओगटेको देखिन्छ र हुनसम्मको गाईजात्रा भएको सुनिन्छ । रेडियोको सम्बोधन यस्तो हुन्छ, आदरणीय दर्शक, कार्यक्रममा आज फलानालाई हेर्न सक्नुहुन्छ । 

अर्थात् टीभीका लागि लिएको अन्तर्वार्ता कुनै सम्पादनबिना रेडियोबाटै प्रसारण गरिदिने र अडियोको सामान्य हिसाबको सम्पादन पनि हुन छाडेको छ । अझै उदेक लाग्दो के छ भने अखबारको सामग्री वाचनका लागि पनि स्टाफ राख्नै नपर्ने, समूहमा आबद्ध नेटवर्कको बुलेटिन सोझै हुक गर्दिने । टन्टै साफ । सम्पादकीय जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा यिनीहरूले बल्ल चाल पाउनेछन् । 

एजेन्डा सेटरको कोणबाट हेर्दा प्रसारण माध्यमभन्दा छापा वा अनलाइन माध्यमको नाम आउने गर्छ तर अहिले पत्रकार यतिसम्म अल्छी भएका छन् कि सोसल मिडियामा भइरहेका पक्ष–विपक्षका आरोप प्रत्यारोपमा समाचार कथा बनाइरहेका हुन्छन् । समाचार बनेका पात्रको भनाइ समावेश गर्ने अभ्यास खिरिलो बनेको छ । स्क्रिन सट लियो वा उसको पोस्टिङलाई इम्बेड गराइदियो कथा तयार, दुःख गर्नु किन ? अङ्ग्रेजी पत्रकारितामा नेपाली विषयवस्तुको रिपोर्टिङमा पहिल्यैदेखि प्रत्यक्ष कोट राख्ने त निकै कम थियो ।

नेपाली रिपोर्टिङकै अनुवाद ज्यादा देखिन्थ्यो, स्रोत भने दिन्थे तर आजकल यो पनि फितलो हुँदै गएको छ । अहिले अनलाइन न्युजपोर्टलको सङ्ख्या ठूलो छ । अधिकांशले इम्बेडेड पत्रकारिता वा एजेन्सीको साभार कर्मलाई नै बढावा दिएका छन् । यिनीहरूले समाचार कथालाई ज्यादा तस्बिरजन्य वा डेटामार्फत ग्राफिक्स प्रयोग गरी दृश्यात्मक बनाउन सक्थे । विडम्बना त्यस्तो हुन सकेको छैन । 

नेपालमा मिडियाको सङ्ख्या बढे पनि संस्थाकरण र व्यावसायिकता बढ्न सकेको छैन । मिडिया फर पार्टिसिपेटोरी डेमोक्रेसी पुस्तकमा प्राध्यापक पी खरेल लेख्नुहुन्छ, “नेपालमा न्यून वेतनसहितका पत्रकारले पूर्ण उत्साहबिना नै काम गरिरहेका छन् । 

सीमित विज्ञापन बजारले पत्रकारिताको गुणस्तर सुधार गर्न सकेको छैन । विज्ञापन पाउनकै लागि विचारधारात्मक वा व्यापारिक स्वार्थमा नेपाली मिडिया अल्झेका छन् । पत्रकारिताको व्यावसायिक अभ्यास नहुँदा पक्षधरताको स्वार्थपूर्ति गर्न र प्रचार यन्त्र बन्ने खतरा रहन्छ ।

भलै अत्यधिक स्वतन्त्रता भयो भने पनि सूचना प्रवाह विश्वसनीयताको ह्रासबाट ग्रसित हुन्छ ।” कुनै पनि क्षेत्र संस्थागत हुनका लागि संस्था स्थापनासँगै उत्तम अभ्यासको विकास गर्नु र समयानुकूल परिमर्जित हुँदै अघि बढ्नु अनिवार्य चरण हुन् । पत्रकारितामा पनि यो कुरा लागू हुन्छ तर यहाँ संस्थाको सङ्ख्यात्मक वृद्धि भए पनि गुणात्मक विकास हुन सकेन । आशा गरौँ, आगामी दिनहरूमा उत्तम अभ्यासको विकास, प्रचलन र अनुसरण हुँदै जानेछ ।

Author

श्रीराम पौडेल