ढाका, साउन ३० गते । आँखामा पट्टी बाँधेर, हतकडी लगाएर गोप्य जेलमा राखिएका बङ्गलादेशी वकिल अहमद बिन कासेमले आठ वर्षपछि जेलबाट बाहिर ल्याइएको महसुस गर्नुभयो ।
उहाँले बङ्गलादेशमा भएको परिवर्तनबारे कुनै जानकारी पाउनुभएको थिएन । त्यसैले उहाँले आफूलाई हत्या गर्न बाहिर निकालिएको बुझ्नुभएको थियो । यद्यपि, उहाँले जेलबाट निस्किएपछि आठ वर्षमा पहिलोपटक स्वच्छ हावाको सम्पर्कमा आएको महसुस गर्नुभयो अनि लामो सास फेर्नुभयो ।
उहाँको कल्पना विपरीत उहाँको आँखा खोलिदिइयो, हतकडी पनि खोलिदिइयो र ढाकाको बाहिरी इलाकासम्म कारमा ल्याई हिलो खाल्डोमा फ्याँकियो । आफ्नो रिहाइलाई प्रेरित गरेको राष्ट्रिय स्थितिबारे उहाँलाई अझै पनि कुनै ज्ञान थिएन ।
“आठ वर्षमा पहिलोपटक मैले ताजा हावा पाएँ,” ४० वर्षीय कासेमले एएफपीलाई बताउनुभयो । “मैले सोचेको थिए कि उनीहरूले मलाई मार्न लगिरहेका छन् ।” कासेमको अपहरण र बेपत्ताका लागि जिम्मेवार प्रधानमन्त्री शेख हसिना वाजेद उहाँको रिहाइको केही घण्टाअघि राजीनामा दिएर देशबाट भाग्नु भएको थियो ।
अगस्ट ५ मा हसिना मित्रराष्ट्र भारततर्फ पलायन भएसँगै उहाँको १५ वर्षको शासनकालको अन्त्य भयो । यो अवधि उहाँको राजनीतिक विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्याका लागि जिम्मेवार थियो ।
कासेमलाई सेनाको गुप्तचरद्वारा सञ्चालित ऐनाघर (हाउस अफ मिरर) मा नजरबन्दमा राखिएको थियो । त्यहाँ बन्दीहरूले आफूबाहेक अरू कसैलाई कहिल्यै देख्न सक्दैनथे । कासेमलाई आठ वर्षसम्म झ्यालविहीन एकान्त कारावासमा बन्दी बनाएर राखिएको थियो र उहाँको जेलरलाई बाहिरी संसारबाट समाचार प्रसारण नगर्न कडा निर्देशन दिइएको थियो ।
हिरासत केन्द्रमा गार्डहरूले कैदीलाई नजिकैका मस्जिदहरूबाट प्रार्थनाको लागि इस्लामिक आह्वान सुन्न नदिन दिनभरि सङ्गीत बजाउने गरेका थिए । यसले गर्दा मुस्लिम समुदायका कासेमले आफ्नो प्रार्थनाको समय थाहा पाउन सक्नुभएको थिएन । उहाँ आफू अपहरण भएदेखि कति समय बित्यो भन्नेमा पनि अनविज्ञ हुनुहुन्थ्यो ।
जब सङ्गीत बन्द हुन्थ्यो तब अन्य बन्दीहरूको पीडादायी आवाजहरू सुन्ने गरेको उहाँले बताउनुभयो । “बिस्तारै, बिस्तारै, मैले म एक्लो छैन भन्ने महसुस गर्न थालेँ”, उहाँले भन्नुभयो, “मैले मानिसहरू रोइरहेको, यातना दिइरहेका र चिच्याएको आवाज सुन्थेँ ।
ह्युमन राइट्स वाचले गत वर्ष सन् २००९ मा सत्तामा आएपछि हसिनाको सुरक्षा बलले ‘६०० भन्दा बढी जबरजस्ती बेपत्ता’ पारिएको बताएको थियो । सन् २०२२ मा ह्विसलब्लोअरको प्रतिवेदन विदेशमा प्रकाशित नभएसम्म ऐनाघर जनताका लागि अज्ञात थियो ।
हसिना सरकारले यसरी जबरजस्ती बेपत्ता पारिएको कुरा अस्वीकार गरेको छ र केही व्यक्तिहरू गैरकानुनी मार्गबाट युरोप पुग्ने प्रयास गर्दा भूमध्यसागरमा डुबेर बेपत्ता भएका दाबी गरेको छ ।
कासेम आफ्नो अपहरणको कारणबारे जानकार हुनुहुन्छ । उहाँका बुबा मिर कासेम अलि बङ्गलादेशको सबैभन्दा ठुलो इस्लामवादी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ सदस्य हुनहुन्थ्यो । सन् १९७१ मा पाकिस्तानविरुद्ध स्वतन्त्रता युद्धको क्रममा स्वतन्त्रता समर्थक बङ्गलादेशीलाई यातना दिने अर्धसैनिक समूह चलाएको आरोपमा अलिमाथि मुद्दा लगाइएको थियो ।
उहाँ र अन्य व्यक्तिलाई युद्ध अपराध न्यायाधिकरणले द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने उद्देश्यले अभियोग लगाएको थियो । तर यो व्यापक रूपमा हसिनाका लागि राजनीतिक विरोधीहरूलाई उन्मूलन गर्ने माध्यमको रूपमा हेरिएको थियो ।
कासेमले उक्त समयमा आफ्नो बुबाको तर्फबाट प्रतिरक्षाका लागि मुद्दा लडिरहनुभएको थियो । न्यायाधीकरणमा प्रक्रियागत त्रुटि र न्यायिक पक्षपातका बारेमा उहाँको नियमित जानकारी अधिकार समूह र संयुक्त राष्ट्रका विज्ञहरूले प्रतिध्वनित गरेसँगै उहाँ तत्कालीन सरकारको निशानामा पर्नुभएको थियो ।
एक रात सादा लुगा लगाएका मानिसहरू उहाँको घरमा प्रवेश गरे र उहाँलाई लतार्दै सिँढीबाट तल झारेर कारमा हाले । “मेरो बुबाको मृत्युदण्ड हुनुभन्दा केहीदिन अघि तिनीहरूले मलाई बेपत्ता पार्नेछन् भनेर मैले सपनामा पनि सोच्न सकिनँ,” कासेमले भन्नुभयो ।
मैले तिनीहरूलाई भन्ने गरेको थिए,“म विरुद्ध मुद्दा चलाउन म त्यहाँ हुनु आवश्यक छ । म मेरो परिवारसँग हुन आवश्यक छ ।” कासेमका बुबालाई उहाँलाई बेपत्ता पारिएको चार हप्तापछि फाँसी दिइएको थियो । कासेमलाई यो कुरा थप तीन वर्ष बित्दासम्म थाहा थिएन ।
जेलबाट बाहिर निकालेपछि कासेम आफ्नो घर जाने बाटो खोज्ने प्रयासमा रातभरि भतारिनुभएको थियो । संयोगले, उहाँ एक परोपकारी संस्थाद्वारा सञ्चालित मेडिकल क्लिनिकमा पुग्नुभयो जसका लागि उहाँका बुबा एकपटक ‘ट्रस्टी’ रहनुभएको थियो ।
उहाँलाई त्यहाँको एक कर्मचारी सदस्यद्वारा पहिचान गरियो र परिवारसँग सम्पर्कमा ल्याइयो । यतिवेलासम्ममा बङ्गलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शनको परिणामस्वरूप आफ्नो रिहाइ भएको कासेमले थाहा पाउनुभएको थियो ।
“यो सबै केही किशोर किशोरीहरूले सम्भव बनाएका हुन्”, उहाँले भन्नुभयो । “म साँच्चै आशावादी छु कि यो बङ्गलादेशको लागि भविष्यका लागि नयाँ दिशा फेला पार्ने अवसर हुनेछ ।” उहाँकी श्रीमती तहमिना अख्तरले कासेमको मुद्दाको विषयमा भएको प्रचारले आफ्ना बच्चाहरूले विद्यालयमा बहिष्कार हुनुपरेको महसुस गरेको बताउनुभयो ।
कासेमलाई अपहरण गरेको समयमा उहाँका दुई छोरीहरू तीन र चार वर्षका थिए । ठुली छोरीले आफ्नो बुबाको अपहरण भएको प्रत्यक्ष देखेकी थिइन् उनी अझै पनि विद्यालय बाहिर तैनाथ निजी सुरक्षा गार्डजस्ता केही अधिकारीहरूसँग डराउँछिन् ।
कासेमको कान्छी छोरीलाई आफ्नो बाबुको कुनै स्मरण छैन । “यो हाम्रो लागि आठ वर्ष जस्तो भएन, आठ जीवनकाल जस्तो भयो,” कासेमकी आमा आयशा खातुनले बताउनुभयो । रासस/एएफपी