इनरुवा, साउन २९ गते । बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न यहाँका सरोकार राख्ने पक्षहरुबिच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सर्वपक्षीय बैठक गरी विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलगायतबिच छलफल गरेको थियो ।
बैठकमा धार्मिक सहिष्णुता कायम राख्न आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । बैठकले धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्षलाई सार्वजनिक आह्वान गरेको छ । परम्परागत चाडपर्व मनाउनेबाहेक प्रशासनको अनुमतिबिना धार्मिक भेला तथा सभा नगर्ने सहमति भएको प्रजिअ तिवारीले बताउनुभयो ।
बैठकले सुनसरीको धरानलगायतका क्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबाट सामाजिक सद्भाव खलबलिन नदिन आगामी साता धार्मिक सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ । बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि आह्वान गरिएको बैठकमा प्रशासनले सीमाक्षेत्रमा विशेष निगरानी गर्ने तथा कुनै पनि तेस्रो मुलुकका नागरिकको प्रवेशमा कडाइ गर्ने सहमति भएको छ । रासस