• २४ पुस २०८१, बुधबार

स्वास्थ्य बिमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह

blog

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल । फाइल तस्बिर

काठमाडौँ, साउन २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन पार्टीसँग आग्रह गर्नुभएको छ । 

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सोमबार बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बिमाको दायरा पाँच लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गर्नुभयो । 

उहाँले ४० अर्ब हाराहारीमा बिमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गर्नुभयो । 

मन्त्री पौडेलले भन्नुभयो, “मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजनाअन्तर्गतको बिमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु ।”

बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठाएको क्यान्सरको औषधी महँगो भएको विषयको जवाफ दिँदै यी लगायत बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा ल्याएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नसर्ने रोगको औषधि मूल्य आकासिएको छ। त्यसैले यसलाई नियन्त्रण गर्न मैले समायोजनको प्रस्ताव ल्याएको छु ।”