• १४ पुस २०८१, आइतबार

डिजिटल युगमा युवा नेतृत्व

blog

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरि सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाइँदै आइएको छ । सर्वप्रथम पोर्चुगलको लिस्वनमा १९९८ अगस्ट ८ देखि १२ सम्म भएको विश्वस्तरीय युवा मन्त्रीहरूको सम्मेलनले युवासम्बन्धी प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावका आधारमा १७ डिसेम्बर १९९९ मा भएको राष्ट्र सङ्घको साधारणसभाको प्रस्ताव नं ५४ र १२० ले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गर्‍यो । सोही घोषणाका आधारमा सन् २००० अगस्ट १२ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । नेपालमा पनि सन् २००४ बाट युवा दिवस मनाइँदै आइएको छ । 

युवाले आफूसँग जोडिएका विषयमा खुलेर बहस तथा अन्तर्क्रिया गर्दै आएका छन् । विश्वभरका सरकारले पनि युवाप्रति आफ्नो दायित्व र प्रतिबद्धता जनाउने गर्छन् । नेपालमा पनि युवाप्रति सरकारको दायित्व रहेका प्रतिबद्धता जाहेर हुँदाहुँदै पनि तदनकूलको परिणाम आउन सकेको छैन । 

यो वर्ष राष्ट्र सङ्घले ‘युवा डिजिटल मार्गमा र दिगो विकासका उपलब्धि’ भन्ने नारा तय गरेको छ । दिगो विकासका लागि युवाले नयाँ प्रविधिमा अभ्यस्त भई आफ्ना सिपको चौतर्फी विकास गर्नु पर्छ । सूचना प्रविधियुक्त युवा निर्माण गर्न सरकारले लगानी बढाउनु पर्छ । युवालाई सुन्ने तथा युवाको सहभागिता सुनिश्चित गर्ने विषयमा जोड दिनु पर्छ । राष्ट्र सङ्घले प्रविधि र युवालाई अलग अलग हेर्न मिल्दैन । प्रविधि युगको अगुवाई युवाको नेतृत्वमा हुनु पर्छ । जसले दिगो विकासलाई लक्ष्यमा पुग्न मद्दत पुर्‍याउँछ भन्ने सन्देश सरकारलाई दिएको छ । जबसम्म दक्ष तथा सक्षम युवाका लगानी बढाउन सकिँदैन तबसम्म दिगो विकास हुन सक्दैन । 

युवा सहभागिताको विषय 

नेपालको जनगणना २०७८ लाई आधार मान्ने हो भने नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत छ । जुन एक करोड २४ लाख १२ हजार १७३ हुन्छ । २०६८ सालको जनगणनामा युवा ४०.३५ प्रतिशत (१,०६,८९,८४२) थिए । पछिल्ला दुई जनसङ्ख्याको तुलना गर्दा २.२१ प्रतिशतले नेपालमा युवाको सङ्ख्या बढेको छ । श्रम गर्न सक्ने उमेर समूहलाई आधार मान्ने हो भने कुल जनसङ्ख्याका १५ देखि ५९ वर्ष उमेर समूहको जनसङ्ख्या ६१.९६ प्रतिशत छ । अर्थात् काम गर्न सक्ने उमेर भएका नेपालीको जनसङ्ख्या एक करोड ८० लाख ७१ हजार ६८५ छ । देश विकासका लागि युवा अर्थात् श्रम गर्ने उमेर समूहको जनसङ्ख्या उल्लेख्य हुनु नेपालका लागि राम्रो सूचकाङ्क हो । 

२०७९ को सङ्घीय निर्वाचनको परिणामलाई हेर्दा २७५ सदस्यीय सङ्घीय संसद्को प्रतिनिधि सभामा ४० वर्षमुनिका केबल २८ जना सांसद रहेका छन् । अझ युवाको उमेर ३० वर्ष मान्ने हो भने केवल आठ जना मात्र छन् । जुन आफैँमा नगण्य हो । सङ्घीय संसद्भन्दा स्थानीय तहमा भने युवाको सहभागिता सन्तोषजनक देखिन्छ । निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन २०७९ को निर्वाचनमा ७५३ वटा स्थानीय तहका लागि ३५ हजार ९७ पदका लागि ५९ हजार ८१४ युवाले उम्मेदवारी दिएका थिए । जसमा १४ हजार ४४२ (४१.१४ प्रतिशत) उम्मेदवार २१ देखि ४० वर्षसम्मका युवा निर्वाचित भए । जसमध्ये नगरप्रमुखमा ३७, गाउँपालिका अध्यक्षमा  १०६ युवाले स्थानीय तह हाँकिरहेका छन् । त्यस्तै उपप्रमुख पदमा ९५ तथा उपाध्यक्षमा २३८ युवा निर्वाचित भएका छन् । यो केवल सङ्ख्याको कुरामा मात्र हैन, नीति निर्माणमा युवाको नेतृत्व तथा सहभागिताको प्रश्न पनि हो ।

‘युथ बल्ज’ सिद्धान्तका अनुसार जुन देशमा १५ देखि २४ वर्षसम्म युवाको जनसङ्ख्या अरू भन्दा बढी अर्थात् कुल जनसङ्ख्याको पाँच भागको एक भाग छ भने त्यसलाई ‘युथ बल्ज’ भनिन्छ । यो उमेर समूहको जनसङ्ख्यालाई देशमा अस्थिरता तथा ठुलो समस्या निम्तिने सङ्केतका रूपमा लिइन्छ । यो सिद्धान्तका अनुसार सरकारले उचित स्थान दिन वा युवालाई रोजगारी, शिक्षा तथा अवसर प्रदान गर्न नसके त्यो देशमा जनसाङ्ख्यिक सङ्क्रमणकालको सुरुवात हुन्छ । जसले देशलाई अस्थिरतातिर धकेली समाजमा डरलाग्दो द्वन्द्व निम्तिने खतरा बढ्छ । देशलाई समृद्धितिर लैजान युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु पर्छ । 

प्रविधिमा युवा 

२०२३ सम्म आइपुग्दा विश्वव्यापी इन्टरनेट तथा नवीन प्रविधिले उल्लेखनीय प्रगति गरेको छ । विश्व जनसङ्ख्याको दुई तिहाइभन्दा बढीले इन्टरनेट प्रयोग गरिरहेका छन् । युवाको अरू जनसाङ्ख्यिकीय समूहहरूको तुलनामा इन्टरनेट प्रविधिमा उच्च पहुँच छ । २०२२ मा विश्वभरका १५ वर्षदेखि २४ वर्षसम्मका युवामध्ये ७५ प्रतिशतको इन्टरनेटमा पहुँच रहेको विभिन्न तथ्याङ्कले जनाएको छ । नेपालमा पनि लगभग ५८ प्रतिशत युवा इन्टरनेटको पहुँच रहेको एक तथ्याङ्कले जनाएका छ । जसमा नेपाल मोबाइल डाटा प्रयोगकर्ता बढिरहेको देखाएको छ । 

नेपालमा पनि आममानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । प्रविधिबाट टाढा बस्ने वा प्रविधिको उपयोग नगर्ने भन्ने कुरा सम्भव भएन । बरु कसरी प्रविधिको अधिकभन्दा अधिक सदुपयोग गरेर जीवन सहज बनाउने र दिगो विकासमा योगदान दिने भन्नेतिर सोच्नु पर्छ । थोरै भए पनि नेपालमा पछिल्लो समयमा युवा डिजिटल प्रविधिको माध्यमबाट रोजगार र स्वरोजगारका अवसर सिर्जना गरिरहेका छन् । सूचना प्रविधि (आइटी) क्षेत्रमा धेरै नयाँ स्टार्टअप र उद्यमी उदाएको देखिन्छ । यी स्टार्टअपले केवल रोजगारी सिर्जना मात्र गरेका छैनन्, नवप्रवर्तन र अनुसन्धानमा पनि योगदान पु¥याएका छन् । नेपालमा आइटी क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न पनि मद्दत गरेको छ । अनलाइन प्लेटफर्मको उपयोगले युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ । 

सामाजिक परिवर्तनका लागि प्रविधि युवाका लागि एक महत्वपूर्ण साधन बनेको छ । सामाजिक सञ्जालहको माध्यमबाट युवाले सामाजिक न्याय, मानव अधिकार, लैङ्गिक समानता र वातावरणीय मुद्दामा उठान गरिहेका छन् । समाजमा सकारात्मक परिवर्तन ल्याउन र विभिन्न मुद्दामा जनमत सिर्जना गर्न डिजिटल प्लेटफर्मको उपयोग गरिरहेका छन् । युवाले डिजिटल माध्यममार्फत सामाजिक अभियान सञ्चालन गरेर सरकारी नीति निर्माणमा पनि प्रभाव पारिरहेका छन् । नेपालमा डिजिटलाइजेसनको तीव्र विकासका बाबजुद, यसले केही चुनौती पनि सिर्जना गरेको छ । जस्तै, डिजिटल पहुँचमा असमानता, साइबर सुरक्षाको कमी र ग्रामीण क्षेत्रमा डिजिटल साक्षरताको कमी लगायतका समस्या छन् । यस्ता चुनौतीको समाधान गर्दै डिजिटल प्रविधिको सही उपयोग गर्दा, नेपालमा दिगो विकास र सामाजिक समृद्धि हासिल गर्न सकिन्छ । डिजिटल प्रविधिको उपयोगले ग्रामीण क्षेत्रका युवालाई पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन सक्छ, जसले गर्दा समग्र राष्ट्रिय विकासमा योगदान पुग्ने छ । 

अबको बाटो

जनसङ्ख्या तथा हिस्सेदारीको हिसाबले नेपालका लागि युवा विकासको मुख्य साझेदार हो । समय, उमेर, क्षमता र लगानीको हिसाबले विकासको नेतृत्व युवाले गर्नुपर्ने हो । किनभने जसको लगानी बढी हुन्छ वा सहभागिता बढी हुन्छ, त्यसैको नेतृत्व हुन्छ । नेपाल सरकारले अब युवाका लागि पाँच, १०, २० तथा ४० वर्षे योजना तर्र्जुमा गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्छ । राज्यको स्रोतसाधनको उचित वितरण, योजना तर्जुमा र युवालाई उचित स्थान उपलब्ध गराउनु पर्छ । विकासको मुख्य उद्देश्य भनेको युवा सहभागितामार्फत लामो समयसम्म सामाजिक वातावरणलाई प्रभाव पारी उनीहरूको वृद्धि विकास गराउनु हो । 

नेपालसँग कसरी युवाको इन्टरनेट र प्रविधिमा पहुँच बढाउने र सिपयुक्त बनाउने भन्ने मूल चुनौती हो । नेपाली युवालाई विश्वबजारमा कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ तदनकुलको प्रविधियुक्त शिक्षा प्रणालीको विकासमा जोड दिनु पर्छ । अब सरकारले देशभरि निःशुल्क तथा सहज रूपमा अनलाइन शिक्षा प्लेटफर्म, वेबिनार र ई–लर्निङका प्याकेज तयार पार्नु पर्छ । युवालाई घरबाटै उच्चस्तरीय शिक्षा हासिल गर्न व्यवस्था मिलाउनु पर्छ । जसले युवाको ज्ञानलाई विस्तार गर्दै, रोजगार र व्यावसायिक दक्षता बढाउन मद्दत पुग्ने छ । डिजिटल साक्षरताका कार्यक्रमले हरेक ग्रामीण क्षेत्रका युवालाई जोड्नु पर्छ । जसले युवालाई प्राविधिक ज्ञान मात्र होइन, सबल नेतृत्व क्षमता र उद्यमशीलता सहयोग पुर्‍याउने छ । यसरी हेर्ने हो भने, युवाको ऊर्जा, सिर्जनशीलता, र नेतृत्व क्षमतासँगै, डिजिटल प्रविधिको उपयोगले नेपाललाई समृद्धि र दिगो विकासको मार्गमा अग्रसर बनाउन सरकार जिम्मेवार बन्नु पर्छ ।