• १२ असोज २०८१, शनिबार

नदी सरसफाइमा राजविराजका युवा सक्रिय

blog

वर्षौदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गर्दै । तस्बिर : रासस

राजविराज (सप्तरी), साउन २६ गते । जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् । ‘सरसफाइ तपाईँको हातमा, हामी युवा तपाईँको साथमा’ भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका हुन् ।

देशमा परिवर्तन गर्न युवाको आवश्यकता पर्दछ भन्ने सन्देश दिने उद्देश्यले प्रत्येक शनिबार स्थानीय खोला, नदी सरसफाइमा यहाँ युवा सक्रिय हुँदै आएका सप्तरी युथ क्लबले जनाएको छ । क्लबको आयोजना तथा राजविराज नगरपालिका र राजविराज यूथ कम्युनिटीको सहकार्यमा प्रत्येक शनिबार भलुवाही खोलासहित यहाँका अन्य नदी तथा खोला सरसफाइ अभियानमा युवा जुटेका क्लबका कार्यवाहक अध्यक्ष मोहन यादवले बताउनुभयो ।

खोलामा छरिएर रहेका फोहर, घाँस, नाला तथा खोलाभित्र वर्षौँदेखि मानिसले फालेका नकुहिने पानीका बोतल, सिसा, फलामलगायत फोहरजन्य वस्तु निकालेर सफा गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो । यूथ क्लब नेपालको आयोजनामा थालिएको सरसफाइ अभियानको आज ११ औँ हप्तामा पुगेको छ । कार्यवाहक अध्यक्ष यादवलेजिल्लाको समग्र विकाससँगै राजविराजको मुख्य बजार हुँदै बग्ने भलुवाही खोलालाई व्यवस्थित गर्न लागिएको जनाउनुभयो । “उक्त खोलालाई आफ्नो स्वरूपमा फर्काउन युवाको सहयोगमा आज पनि सरसफाइ गरिएको छ”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनलाई मध्यनजर गरी राजविराज-८ स्थित खानेपानी डिभिजन कार्यालयबाट कनौली रोडको पब्लिक माध्यमिक विद्यालयसम्म सरसफाइ गरिएको छ । क्लबको स्रोत परिचालन गरेर खोला सरसफाइ थालिएको बताउँदै ४० जनाको समूहमा जेसिबी भाडामा लिएर सरसफाइ गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यवाहक अध्यक्ष यादवले भन्नभयो, “समुदायलाई सफा, स्वास्थ्य बनाउन, पर्यावरणीय सन्तुलन  कायम राख्न जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मीसहितको सहभागितामा सरसफाइ अभियानमा थालेका छौँ । यसलाई निरन्तरता दिन नगरपालिकाले आर्थिक सहयोग गर्नुपर्ने हाम्रो माग छ ।” एक वर्षभित्र भलुवाही खोला सरसफाइ सकेर वृक्षारोपण गर्ने योजना रहेको बताउँदै उहाँले यसमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

भलुवाही खोलामा सबै तिरबाट आएको फोहरका कारण वातावरणलाई प्रतिकूल प्रभाव पार्नुका साथै लामखुट्टे, किरापट्याङ्गा लगायतको जोखिम बढेको क्लबका सचिव आयुष श्रेष्ठले बताउनुभयो । “सरसफाइ थालिएसँगै स्थानीयको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । खोलाको फोहरका कारण सामान्य वर्षा हुँदा पनि बाढीले राजविराज नगर क्षेत्र जलमग्न हुने गरेको स्थानीयले बताएका छन् । क्लबले राजविराजस्थित सरकारी कार्यालय अगाडिका बाटोमा फूलका बिरुवा लगाउन थालेको छ । रुपनी बसपार्क, राज रङ्गशाला हुँदै राम मन्दिरसम्मको दुई किलोमिटर बाटोमा फूल लगाउन थालिएको क्लबका सचिव श्रेष्ठले जानकारी दिनुभयो । रासस