ठाकुरप्रसाद आचार्य
बेनी, साउन २६ गते । बेनीका युवाहरूको सक्रियतामा लाखे नाच प्रदर्शन सुरु गरिएको छ । नवार समुदायको बर्खे नाचअन्तर्गत पर्ने परम्परागत लाखे नाच नागपञ्चमीका दिनदेखि देखाउन थालिएको छ । लाखे नाचलगायत नेवारी समुदायको मौलिक संस्कृति झल्किने विभिन्न नाचहरू हरितालिका तिजसम्म देखाउने प्रचलन छ ।
युवा र बालकलाकारहरुको समूहले शुक्रबार साँझ बेनीमा निकालेको लाखेनाच निकै रोचक थियो । युवाका साथमा साना दुई बालकलाकार पनि लाखेको भेषमा सजिएर लाखे नाच नाचेका थिए ।
लाखे नाचलाई नेवार समुदायको मौलिक कला संस्कृतिका रूपमा लिने गरिन्छ । लाखे नाच नाच्ने कला र सीप पाका पुस्ताबाट युवाहरूले सिकेका छन् । विगत पाँचवर्ष देखि यता लाखे नाच युवाहरूको सक्रियताका कारण प्रदर्शन हुँदै आएको छ ।
नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आबद्ध भएका युवाहरूको सक्रियतामा लाखे नाचका साथै घोडा नाच, सापरु, नागानागिनी नाच, गाइजात्रा, श्रीकृष्ण रथयात्रा र जोगी नाच एक महिनाको अवधिसम्म प्रदर्शन गरिने अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । भक्तपुर र साँखु लगायत विभिन्न स्थानबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति पनि भित्रिएको अगुवाहरू बताउँछन् ।
पुरानो मौलिक कला संस्कृतिप्रति नयाँ पुस्ताले चासो देखाउन थालेको नेवार समुदायका युवा तथा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
पुरानो खम्पर (मुखौटो) लगाएर ठुलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । नेवार समुदायको कलासंस्कृतिलाई पुस्तान्तरणका लागि युवा पङ्क्तिलाई तालिमको व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।