• २८ असोज २०८१, सोमबार

न्युजिल्यान्डका माओरी

blog

“त्यो बेलाका अधिपति अहिले कङ्गालपति !”

माओरीहरू देखाएर निरूले भनेकी थिइन् । पामिस्टान नर्थको एउटा मलमा हामी लुगा किन्न पसेथ्यौँ, त्यहीँ देखिएथे माओरीको निकै ठुलो हुल । साना केटाकेटी, बुढाबुढी र तरुनातरुनीको बगालले मलमा कल्याङमल्याङ चर्कै देखिन्थ्यो । न्युजिल्यान्ड टेकेदेखि नै माओरी शब्द सबैका मुखले भट्याइहाल्थे । माओरी यस्ता, उस्ता, फलाको हालिहाल्थे सबै जना । विलिङटन सहरमा उत्रेलगत्तै सिबी दाहालले भनेको सम्झिरहेको छु, “देश गुमाएर तन्नम छन् तर पनि राजसी ठाँट उस्तै छ ।” 

‘‘हाम्लाई किन चाहियो सम्पत्ति, देशै हाम्रो हो !” सबै माओरीको यही बोली छ भन्थे दाहाल तर आफ्नै देशमा घरबारविहीन, अशिक्षित, अभावग्रस्त, अवहेलित र अपमानित माओरीको इतिहास थाहा पाएपछि मेरो हृदयमा श्रद्धा, सम्मान र स्नेहका भाव छुटे निरन्तर यी आदिवासीप्रति । आफ्नै मुलुकमा अहिले अल्पमतमा छन् माओरीहरू । माओरी न्युजिल्यान्डका मूल जाति तर अहिले ती घरबारविहीन, सम्पत्तिविहीन र शिक्षाविहीन अवस्थामा खुम्चिन पुगेछन् ।

०००

१२ हजार वर्षअगाडिदेखि अस्तित्वमा आएको रहेछ न्युजिल्यान्ड । हल्यान्डका एबल तासमनले अस्ट्रेलियासँगै न्युजिल्यान्ड टेकेको इतिहास भेटिन्छ । त्यसो त सन् ७५० मा सरदार क्युपले न्युजिल्यान्ड पत्ता लगाएका थिए भनिन्छ । उनी माओरीका आदिपुरुष मानिन्छन् । सरदार क्युपको जत्था माछा खोज्दै त्यहाँ गएका रहेछन् । एसोनिया प्रायद्वीपमा अक्टोपसले माछा सबै खाएपछि आफ्नो आहारा खोज्दै उनी र अरू माओरीले यताउता चहार्दा यो देश पत्ता लगाएका थिए भन्ने कथा सुन्न पाइन्छ । न्युजिल्यान्डका आदिवासी माओरीबारे अनेक किंवदन्ती छन् । विलिङटनमा ९० वर्षका टाङ्गारोआ भेटिएका थिए । उनले सुनाएको कथा औधी रमाइलो लाग्यो मलाई ।

‘हाम्रा देवता माओरले यो देश पत्ता लगाएका हुन् । माओरलाई सबै माओरीले पूजा गर्छन्, सम्मान गर्छन् ।’ मैले सोधेको थिएँ, “माओरबाट तपाईंहरू माओरी हुनुभएको हो कि ?” बुढाले कफी सुर्काएर भने, “हो, ठिक अड्कल । माओरबाटै माओरी जाति बनेको हो । न्युजिल्यान्डमा १५ प्रतिशत छौँ हामी । न्युजिल्यान्डभरि नै हामी बस्छौँ ।” बुढाले कुरो थपे, “हाम्रा देवता माओरका चार जना दाजुभाइ थिए । उनीहरू समुद्रभित्र ठुला ठुला माछा समात्न पसेथे । माछाका खोजीमा पसेका माओर देवताले एउटा औधी ठुलो माछा समातेछन् । दाइभाइले चारतिरबाट ठेल्दै, घचेट्दै, उचाल्दै मास्तिर ल्याएछन् । पानीमाथि आउँदा त त्यो माछा नभएर जमिन पो रहेछ । यसरी न्युजिल्यान्ड देश हाम्रा देवताले पत्ता लगाएका हुन् ।”

बुढा टाङ्गारोआ हतारिएर गए । उनलाई नातिनीले तानेरै बाहिर जाऊँ भनिरहिन् । मुखैभरि टाटु खोपेका बुढाले हिँड्ने बेलामा भनेको म सम्झिरहन्छु, “कुनै बेला संसारलाई तर्साउन यो टाटु मुखमा खोपेको थिएँ, अहिले यही टाटु खोपेको अनुहारमा मात्र सीमित भएँ । खोइ को डरायो र ? तपाईं जस्ता आएर फोटो खिचुम भन्छन् ।” हेर्दै डरलाग्दो 

‘बाघे टाटु’ उनको गालाको पाटो, कन्चट, च्युँडो र निधारसम्म फैलेको थियो । ती कोमल दिलका बुढा गएपछि मैले नक्सा हेरेँ, “न्युजिल्यान्डको त झन्डै माछाकै स्वरूपमा पो रहेछ ।”

०००

देशैभरि छरिए पनि अहिले धेरै जसो रोटोरोवा, टाउपो, विलिङ्टन, अकल्यान्ड, हेमिल्टनमा जनघनत्व रहेछ माओरीको । अझै बढी त रोटोरोवामा बाक्लो उपस्थिति रहेछ । माओरीको इतिहास हेर्दा, बुझ्दा, सुन्दा मन अत्तासिँदो हुन्छ । चारैतिर समुद्रले घेरिएको यो देशमा शान्त, मौन, प्राकृतिक र सुखद जीवन बिताइरहका थिए माओरीहरू । झुन्ड झुन्डमा बस्ने माओरीलाई बाहिरबाट कसैले देख्न, भेट्न नसके पनि यी आपसमा मारकाट गर्न, लुट्न, भिड्न र अर्को समूह सिध्याउन बहादुर थिए । आफ्नो झुन्ड जोगाउन यिनले राजा छान्थे । तिनै राजाबिच फेरि महाराजा पनि हुन्थे । तिनै महाराजाले राखेका कबिला सेना रहन्थे । लुकीछिपी तीर, वाण, भाला चलाउन खप्पिस हुन्थे उनीहरू ।

माओरीहरू आफ्नो राजालाई किङ्गिटाङ्गा भन्दा रहेछन् । बेलायती शासकले सन् १७६९ देखि न्युजिल्यान्डमा प्रभाव जमाउन थालेको तथ्य पाइन्छ । क्याप्टेन कुकले आओटिबारोवालाई आफ्नो बलबुता लाएर कब्जामा राखे । त्यसपछि बेलायती दबदबा यहाँ बढ्यो दिन दुगुना, रात चौगुना । अहिले पनि किङ्गिटाङ्गा तुहेइतिया पोताताउ ह्वेरोह्वेरो सेभेन्थलाई माओरीका आधिकारिक राजा मानिँदो रहेछ । जबकि न्युजिल्यान्डको राष्ट्रप्रमुख बेलायती राजा राख्ने प्रचलन छँदै छ ।

माओरीहरू सयभन्दा बढी प्रजातिका छन् । माछाको सिकार गर्ने, जङ्गलतिर ससाना झुप्रा बनाएर, जङ्गली जीवनमा रमाएर बस्ने यो जातिलाई बेलायतीको आगमनपछि ठुलो उथलपुथल ग¥यो । सुरुमा हल्यान्डका नाबिक, खोजकर्ता एबल तासमनले न्युजिल्यान्डमा पाइला हाले पनि उनी माओरीहरूसँग टिक्न सकेनन् । हार मानेर कुलेलाम ठोकेको कथा सबैले सुनाउँछन् । पछि बेलायती क्याप्टेन कुकले अनेक रणनीति बनाई माओरीहरूलाई रसातलमै पु¥याएको दुःखद इतिहास पढ्न पाइन्छ । मार्ने, लखेट्ने, भगाउने र आखिरमा निमिट्यान्नै पार्ने योजना बेलायतीको कठोर पारा लामो समय चलेछ यी आदिवासीमाथि । 

उनीहरूसँग काठ र ढुङ्गेनी हतियार बढी थिए । अझ फलामे हतियारसम्म थिएन । पछि युरोपेलीले यहाँ कब्जा जमाउन थालेपछि माओरीका हातमा माछा मार्न सजिलो होस् भनेर फलामे भाला, तीर थमाइदिएछन् । पछि पछि त हाते पेस्तोल दिएर आफू आफूमा लडाउने योजना बुनेछन् बेलायतीले माओरी कबिलालाई । खैनीका औधी प्रेमी रहेछन् माओरीहरू तर बेलायतीले उनीहरूलाई ललाइफकाई आफ्नो पक्षमा पार्न रक्सी, चुरोटका अम्मली बनाएछन् । ए, ई, आई, ओ, यु अक्षरबाट नै माओरी भाषाको विकास, विस्तार भएको पाइन्छ । यति थोरै अक्षरबाट पनि माओरीको समृद्ध भाषाले गति, लय र सङ्गति पाएको तथ्य भेटिन्छ । 

माओरीहरू समुद्र, रुख, सूर्यलाई सम्मान गर्छन् । उनीहरूका कलामा त्यसको सङ्केत जताततै पाइन्थ्यो । यी सरल र हार्दिक स्वभावका लाग्छन् । अनुहारमा टाटु खोपेर शत्रुलाई परै भगाउने यिनीहरूको आनीबानी देखिन्छ । अझ ‘हाका’ गरेर नचिनेको मान्छेलाई आफ्नो इलाकामा परीक्षा लिने गर्दा रहेछन् । नाक ठोकेर, श्वास सुँघेर उनीहरू आगन्तुकबारे परीक्षा लिन्छन् । जिब्रो देखाएर, चर्को बोलेर, तिघ्रा र छातीमा मुड्की बजारेर नयाँ मान्छेलाई आफ्नो परिचय दिन्छन् । त्यो सत्कार खेप्न सक्ने व्यक्ति नजिक हुन्छ । झगडा गर्न आएको रहेछ भने आफ्नो यही व्यवहारबाट शत्रु लखेट्ने माओरीहरूको मान्यता छ । पामिस्टान नर्थमा भेटिएका टेरेन्सले भनेथे “हामी त हतियारबिनै लड्ने जाति हौँ । डरपोकले पो बन्दुक बोक्छ । हाम्रो त बोली नै बन्दुक हो ।” हुन पनि ‘हाका’ संसार प्रसिद्ध छ । यो मौलिक संस्कृति पनि हो माओरीहरूको । अनुहारमा विभिन्न चाल, ढाल देखाएर गरिने ‘हाका’ बाटै यिनीहरू विख्यात छन् । “कि हुइलाई छिटो छिटो किवी भन्छन् । न्युजिल्यान्डका बासिन्दा किवी भनेर नामी छन्,” टीका रेग्मीले भनेको सम्झिरहन्छु ।

०००

मङ्गोल मूलका गोरा, बलिया, चहकिला र निकै ज्यानदार लाग्थे माओरीहरू । चराचुरुङ्गी मारेर, माछा समाएर र समुद्री किनारको शान्त जीवन बिताइरहने आदिवासी माओरीसँग बेलायतीले गर्नु नगर्नु गरेको तथ्य भेटिन्छ । आफ्नो जमिनमा आएर मनपर्दी गरेपछि माओरी र बेलायतीबिच पटक पटक युद्ध भएका छन् । डच, स्कटिस, फ्रान्सेली आदि अनेकौँ युरोपेलीले न्युजिल्यान्डलाई आफ्नो कब्जामा पार्न नखोजेका होइनन् । अन्त्यमा यो काम गर्न सफल भए बेलायती । साम, दाम, दण्ड, भेद सबै नीति प्रयोग गरेर उनीहरूले माओरीमाथि पैसा दिए, मेसिन ल्याएर उनीहरूको जीवनका तरङ्ग छुटाए । धार्मिक नीति ल्याएर तिनको प्रकृति पूजामा धावा बोलिदिए । लठ्याउने औषधी दिएर माओरीलाई आफ्नो पार्न खोजे । भाषामा अङ्ग्रेजी बोलवाला गरिदिए ।

माओरी महिलाहरू अझै बढी मारिए । छापामार युद्ध भयो पटक पटक माओरी र बेलायती सेनाबिच । धेरै वर्ष यो द्वन्द्व मच्चिरह्यो । दबाउन खोज्ने र नदबिने चक्र चलिरह्यो । नीला समुद्र, हरिया वनजङ्गल, मलिला खेतबारी, सुन्दर हिमाल, रसिला पहाडहरू, अथाह खानीको भण्डार, जल मार्गको निर्बाध सुविधाले बेलायती झन् झन् जरा गाडेर बस्न थाले । न्युजिल्यान्डमा यसो गर्दा माओरीसँग झन् झन् द्वन्द्व चर्किरह्यो । दबाउने र प्रतिकारका घटना दिनहुँ बढिरहे । बेलायतीहरूले जति गरे पनि निर्बाध शासन चलाउन सकेनन् । त्यसो त अत्याधुनिक बाटाहरू, रेलमार्ग, हवाई उड्डयन, पानीजहाज, व्यापार र पर्यटनमा अपार उचाइ लियो न्युजिल्यान्डले । यो उपलब्धि, यो उचाइका पछिल्तिर बेलायती शासनको लगानी ठ्याम्मै छैन भन्नु नसुहाउँदो तर्क हुन्छ । तैपनि मूल जातिमाथिको दमन, दबदबा र द्वन्द्वलाई सजिलै आँखा चिम्लन मिल्दैन । कत्ति पनि मिल्दैन ।

अहिले मारिएर, मासिएर, लघारिएर र ताछतुछिएर जम्माजम्मी १५ प्रतिशत छन् माओरीहरू । तिनलाई ७५ प्रतिशत अरू जातिको थिचथाच छ, थप्पड छ र छोइछिटो छ । त्यसमा पनि अन्य युरोपेलीसँगै बेलायतीकै धेरै दबदबा रहेको देखिन्छ । दोस्रो विश्वयुद्धपछि न्युजिल्यान्डमा आप्रवासी नीति फेरियो । त्यसपछि चिनियाँ, फिलिपिनी र भारतीयको ओइरो लाग्यो । दक्षिणी र उत्तरी दुई ठुला टापुसँगै अन्य सयौँ मसिना टापुले यो देश सुन्दर र सुरम्य ठानिन्छ । ७० प्रतिशत युरोपेली, नौ प्रतिशत एसियाली, सात प्रतिशत एसोनियाली प्रायद्वीपीय देशका मानिसको उपस्थिति छ, न्युजिल्यान्डमा । अन्य सबै मिली १५ प्रतिशत माओरीमाथि शासन गरेको इतिहास भेटिन्छ हिजोआज । 

०००

द्वन्द्वले जति नै गलाए पनि, लोभको ललिपप देखाए पनि र सुविधाको सर्कसमा नचाए पनि माओरीको विद्रोही मन थामिएन । उनीहरू एकोहोरो लड्ने, भिड्ने र जुध्ने गरिरहे बेलायती सत्ता, सेना र शक्तिसँग । युरोपेलीहरूको बलियो उपस्थिति बढिरहे पनि बेलायतले न्युजिल्यान्डलाई फ्रान्सेली कब्जामा नपरोस् भनेर एउटा सन्धि किवी जनतासँग ग¥यो । जसलाई वाइटाङ्गी सन्धि भनिन्छ । सन् १८४० मा भएको यो सन्धिले माओरी समुदायमाथि न्याय नगरेको सुनिन्छ ।

टाउपोमा भेटिएका माओरी तन्नेरी थिए, टामाटी । उनले भनेको म अहिले पनि सम्झिरहेको छु, “देशका मालिक हामी हौँ । वाइटाङ्गी सन्धि भनेको त बाटो हामीले बनाइदियौँ । अब तिमीहरू हिँड्न पाउँछौ भन्ने बेलायतीको तर्क हो । सिङ्गै शरीर खाएर कान्छी औँलाको नङ दिएँ भन्ने विचार हो यो त ।” आफ्नो मौलिक धर्म–संस्कृतिका पूजक माओरीहरू तीनपुस्तेलाई सम्झना गर्छन् । रक्सी, खैनी देवतालाई चढाएर खाने उनीहरूको आफ्नै विशेष जीवनशैली देखिन्छ । भाला, चुप्पी उनीहरूको मौलिक हतियार । कुनैबेला युरोपेली गोरासँग बिहे गरेर माओरीको नस्ल ध्वस्त पारे पनि बचेखुचेका उनीहरूले आफ्नो भाषा, धर्म, संस्कृति र मौलिकतामाथि प्रतिरोध गर्न चुकेनन् । नाक ठोक्काएरै स्वागत गर्ने उनीहरूले हात मिलाउन त पछि युरोपेलीले सिकाएर गरेका हुन् ।

ताराहरूको अर्चना गरिने माटारिकी उनीहरूको ठुलो चाड हो । घरबाहिर जुत्ता खोलेर जाने उनीहरूको चलन धेरै एसियाली देशको संस्कृतिसँग मिल्छ । परिवारमा सबै सँगसँगै बस्ने बहुल पारिवारिक चरित्र अहिले पनि भत्किसकेको देखिँदैन उनीहरूमा । खड्गबहादुर बुढाथोकीले भनेका थिए, “हामीसँगै खान्थ्यौँ । बरू मैले भुलेछु । एक जना माओरीले औसानी हालेको देख्दा मै छक्क परेँ ।” नेपाली संस्कृतिसँग नजिकै रहेको छ, यो चलन माओरीको । रङ्गीचङ्गी लुगा लगाउने, टाउकोमा प्वाँख राख्ने, मुखैभरि विचित्र विचित्रका टाटु खोप्ने, खानेकुरा बाँडेर खाने र रिसाउँदा ‘हाका’ गर्ने उनीहरूको मौलिक पहिचान हो । आफ्नै देश गुमाएर पनि फेरि अस्तित्व, मौलिकता र स्वाधीनताको जीवन यात्रामा उभिएका माओरीहरू देख्दा मलाई बेग्लै आदर, सम्मान र श्रद्धा लागिरहन्थ्यो । मैले थोरै भेटेँ पामिस्टान नर्थमा । धेरै देखेँ अक्ल्यान्ड र विलिङटनमा ।

“सायद उपेक्षा, अपमान, घृणा, थिचोमिचो र शोषणकै कारण होला माओरी युवकयुवती अहिले पनि पुस्तक च्याप्नभन्दा चुरोट चेप्न खोज्छन्, काम गर्नभन्दा अल्छी गर्न रुचाउँछन्, परिश्रमभन्दा धाकधक्कुमा रमाउँछन् ।” कतिले यसो भने पनि माओरी समुदायलाई हेलाहाँसो र सीमान्तीकृत पारिएकैले उनीहरूमा विद्रोह, नैराश्य र उदासीनता बढेको देख्थेँ । अकल्यान्डमा भारतीय मूलका काफिल हेग्डेसँग भेटेको थिएँ । तिनले केही गीत गाएरै सुनाएथे मलाई । वार म्युजियमको घुमघाममा भेटिएका हेग्डेले ‘हाका’ समेत देखाउन भ्याएथे मलाई । “तपाईंले हाका हेरेपछि न्युजिल्यान्ड चिन्न सक्नु हुने छ । साहस, करुणा, क्षमा र स्नेहको सबै चरित्र यसैभित्र छ,” उनको भनाइसँग निकै प्रभावित भएथेँ म । घरबाट बाहिरिएका, यिनको कहिले जुर्ला घर भित्रिने दिन ? कुनै बेलाका अधिपतिलाई समयले फेरि कुन दिन बनाउला लखपति ? हरेक माओरीका अनुहार पढेर भनिरहेको हुन्छु म ।  

 

Author

युवराज नयाँघरे