• ८ मंसिर २०८१, शनिबार

कोशी प्रदेशको विकास सम्भाव्यता

blog

विश्वको अग्लो चुचुरो सगरमाथादेखि नेपालको सबैभन्दा होचो भाग केचनाकवल अवस्थित रहेको कोशी प्रदेश उच्च हिम शृङ्खला, मनोरम पहाड, सुनौलो तराईका फाँटलगायत प्राकृतिक सम्पदा र धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । हिमाल, पहाड र तराईसम्म तीन वटै भूभाग समेटिएको कोशी प्रदेशको कुल क्षेत्रफल २५,९०५ वर्ग किलोमिटर छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस प्रदेशको जनसङ्ख्या ४९,६१,४१२ रहेको छ, जुन नेपालको कुल जनसङ्ख्याको १७ प्रतिशत हुन आउँछ । 

प्रदेशको कुल भूभागको खेतीयोग्य क्षेत्रफल आठ लाख २१ हजार ६११ हेक्टर रहेकोमा आर्थिक वर्ष (आव) २०७९/८० मा सात लाख सात हजार २२१ हेक्टर जमिनमा खेती गरिएको थियो । कुल खेतीयोग्य क्षेत्रफलको ३७.२ प्रतिशत अर्थात् तीन लाख पाँच हजार ७१३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको नेपाल राष्ट्र बैङ्क, प्रादेशिक आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।

३१.३८ प्रतिशत यहाँको जमिन कृषि उत्पादनमा प्रयोग गरिएको छ । यहाँका ७५ प्रतिशत मानिसको जीविकोपार्जनको मुख्य स्रोत कृषि हो । कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयको आयोजना गरेको कोशी प्रदेशको कृषि योजना, नीति तथा कार्यव्रmम प्रस्तुत विवरण अनुसार राष्ट्रिय उत्पादनको हिसाबबाट हेर्दा कोशी प्रदेशको उत्पादन चिया उत्पादन ९९.१७ प्रतिशत, अलैँची ९३.४७ प्रतिशत, अदुवा ३४.७२ प्रतिशत, आलु ३३.९३ प्रतिशत, मकै २८.७४ प्रतिशत, धान २०.७६ प्रतिशत, गहुँ ९.५६ प्रतिशत योगदान रहेको छ । कुल गार्हस्थ उत्पादनमा प्रदेशको योगदान ३८ प्रतिशत छ । 

कोशी प्रदेश खाद्यान्न र फलफूल उत्पादनमा मात्र नभएर मासु, दुध तथा दुग्धजन्य उत्पादनमा समेत अग्रणी भूमिका निभाउन सक्ने देखिन्छ । पन्ध्रौँ योजनाले मासुमा आत्मनिर्भर हुन गरेको परिकल्पना साकार पार्न कोशी प्रदेश उपयुक्त स्थान रहेको छ । यहाँ चरीचरणको प्रशस्त ठाउँ रहेको भए पनि व्यावसायिक पशुपालन तर्फ किसानलाई अभिप्रेरित गर्नुपर्ने देखिन्छ । त्यसै गरी बढी प्रतिफल दिने पशुका बिउको सुलभ उपलब्धता, तालिम, उचित प्राविधिक सहयोग, बजारको सुनिश्चित लगानीको स्रोत व्यवस्थापन हुन सके यो प्रदेशमा मासु, दुध तथा दुग्धजन्य उत्पादनको प्रचुर सम्भावना देखिन्छ ।

चुनौती

कोशी प्रदेशको मुख्य स्रोत कृषि भए तापनि यसको समुचित प्रयोग, विकास र विस्तारमा विभिन्न प्रकारका चुनौती देखा परेका छन् । जसमध्ये केहीको यहाँ चर्चा गरिएको छ ।

कृषिको प्रचुर सम्भावना भए तापनि करिब दुई तिहाइ जमिनमा सिँचाइको सुविधा उपलब्ध हुन सकेको छैन भने आवश्यकता अनुसार उन्नत जातका बिउबिजन, रासायनिक मल, कृषि औजार तथा उपकरणका साथै कृषकले सहज र आवश्यकताका आधारमा प्राविधिक सेवा पाउन सकिरहेका छैनन् । त्यसै गरी युवा जनशक्ति विदेश पलायन भई कृषि श्रमिकको अभाव टड्कारो रूपमा खड्किएको छ । यसले गर्दा उर्वरा भूमि बाँझो रहने गरेको छ भने उत्पादन भएका कृषि उपजले उचित मूल्य नपाउने र बजारको सुनिश्चित नभएकाले कृषि पेसाप्रति नै नैराश्यता सिर्जना गरेको छ । त्यसै गरी कृषि पेसा अँगालेका कृषकलाई उचित तालिम, आधुनिक औजारको प्रयोगको चेतना नभएका कारण कृषि पेसालाई व्यावसायीकरण गर्न सकिएको छैन । उत्पादित वस्तुको उचित प्रशोधन तथा शीत भण्डारको व्यवस्था नहुँदा एकातिर कृषकले उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर समयमा बजार नपाउँदा भण्डार गर्ने व्यवस्था नभएकाले उत्पादित वस्तु कुहिएर जाने सम्भावना पिन त्यत्तिकै छ ।

सम्भाव्यता

देशको कुल कृषि क्षेत्रको उत्पादनमा कोशी प्रदेशको योगदान सबैभन्दा धेरै रहेको अवस्थामा यस क्षेत्रमा उत्पादन हुने खाद्यान्न, फलफूल, तरकारी साथै केही नगदे बालीको उत्पादन वृद्धि गर्न पूर्वाधारको विकास, लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सामूहिक खेती प्रणालीको विकास गरी कृषि क्षेत्रको व्यावसायिकीकरणका साथै बजार सुनिश्चित गरेमा कृषिजन्य उत्पादनको आयात प्रतिस्थापन तथा निर्यातसमेत गर्न सक्ने सम्भावना रहेको छ ।

कोशी प्रदेशमा वर्षैभरि जल प्रवाह हुने अरुण, तमोर, मेची, कन्काई, दुधकोशी, सुनकोशीलगायतका नदी रहेका छन् । देशकै उर्वरायुक्त भूमि भएका झापा, मोरङ, सुनसरी जस्ता जिल्लामा सिँचाइ सुविधाको पर्याप्त पहुँच पु¥याएर कृषि उत्पादनमा आत्मनिर्भर हुन सक्ने सम्भावना रहेको छ । अर्को तर्फ जलविद्युत्, जल यातायातको सञ्चालन तथा पिउनयोग्य खानेपानीको उत्पादन गरी निर्यात गर्न सकिने प्रचुर सम्भावना रहेको छ । 

यो प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा, हिमाली वन्यजन्तुको जीवन पद्धति झल्काउने सगरमाथा र मकालु बरुण राष्ट्रिय निकुञ्जको अवस्थिति छ । छोटो दुरीमै विविधता झल्कने जलवायु र पर्याप्त जैविक विविधताले मनोरञ्जन, पर्वतारोहण तथा साहसिक क्षेत्रमा रमाउने विश्वका पर्यटकलाई आकर्षित गर्न सकिन्छ । विदेशी मुद्रा आर्जनको स्रोतको रूपमा विप्रेषणपछिको दिगो वैकल्पिक स्रोतको रूपमा विकास गर्न सकिने देखिन्छ । 

हिन्दुहरूको धार्मिक महत्वका हिसाबले प्रसिद्ध हलेसी महादेव, बराह क्षेत्र, पाथिभरा देवीलगायतका अनगिन्ती मठ मन्दिर, धार्मिक तथा ऐतिहासिक क्षेत्र यही प्रदेशमा अवस्थित छन् । पर्यटन पूर्वाधारमा लगानी गरी ठुलो सङ्ख्यामा हिन्दु तथा बौद्धमार्गीको बसोबास रहेका छिमेकी तथा अन्य राष्ट्रबाट धार्मिक पर्यटक भित्र्याएर आर्थिक, सामाजिक एवं धार्मिक विकासमा योगदान पुग्ने देखिन्छ ।

यो प्रदेश भारत र चीन दुवै देशसँग सिमाना जोडिनुको साथै यहाँ रहेका कोशी तथा मेची राजमार्गले दुवै छिमेकी मुलुकसम्मको पहुँच सहज बनाएको छ । तुलनात्मक लाभका उद्योग तथा कलकारखाना स्थापना गर्न विदेशी लगानी आकर्षित गर्न सके उत्पादित वस्तु तथा सेवा निकासी गर्न श्रम, समय र लागतका दृष्टिले उपयुक्त हुने छ । 

त्यसै गरी, मध्यपहाडी लोकमार्ग तथा लोकमार्गसम्म जोडने सहायक मार्गको तीव्र निर्माण तथा विस्तारको कारण ग्रामीण क्षेत्रका उत्पादनका लागि आन्तरिक तथा बाह्य बजारको सुनिश्चित वृद्धि हुँदै गएकाले कृषिजन्य तथा औद्योगिक उत्पादनको आन्तरिक तथा निर्यात व्यापार विस्तारको प्रचुर सम्भावना छ । 

मुलुककै औद्योगिक क्षेत्रको उत्पादनमा कोशी प्रदेशको उद्योग क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको सन्दर्भमा सुनसरी मोरङ करिडोरमा भएका उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा औद्योगिक उत्पादनले निर्यात व्यापार प्रवर्धन तथा आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान पु¥याउन सक्ने सम्भावना छ । 

त्यसै गरी निर्यात सम्भाव्यता भएका कृषिजन्य उपजको पकेट क्षेत्र घोषणा गरी खेती विस्तार एवं उत्पादन वृद्धि गरी कतिपय कुरामा देशलाई आत्मनिर्भर बनाउन सकिने सम्भावना देखिन्छ । जसमा अलैँची, मौसमी तथा बेमौसमी तरकारी, सुन्तला, किवी, चिया तथा अन्य अन्नबाली रहेका छन् । 

चिया निर्यात र चिया पर्यटनको सम्भावना

नेपालकै सबैभन्दा धेरै चिया क्षेत्र भएको कोशी प्रदेशका विशेषतः झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, सङ्खुवासभालगायत पूर्वी जिल्ला चिया उत्पादनका केन्द्र हुन् । आधुनिक प्रविधि र यथेष्ट तालिमको व्यवस्थाका साथै गुणस्तरमा एकरूपता कायम गरी विश्व बजारमा विश्वसनीयता कायम गर्न सके आर्थिक उपार्जनको एउटा भरपर्दो स्रोतका रूपमा चियालाई लिन सकिन्छ ।

त्यसै गरी चिया रोपण, उत्पादन र प्रशोधनको अध्ययन तथा अवलोकनसँगै इलामको चिसो मौसममा रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा चिया क्षेत्र पर्ने गरेको छ । चियाको हरियालीमा रमाउन इलाम पुग्ने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै कन्याम, श्रीअन्तु, फिक्कल, पानीटारलगायत क्षेत्रमा होटल, रेस्टुराँलगायत स्थानीयले होमस्टेसमेत सञ्चालन गर्नुले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको कुरालाई पुष्टि गर्छ ।

पर्यटन

भौगोलिक विविधता अतुलनीय प्राकृतिक स्रोत, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले धनी कोशी प्रदेश नेपालका अन्य प्रदेशभन्दा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना छ । विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि नेपालको सबैभन्दा होचो स्थान केचनाकवल र सगरमाथा वन्य जन्तु आरक्ष, मकालु वरुण वन्य जन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायतका मनोरम स्थलले पर्यटकलाई सहजै लोभ्याउँछन् । त्यसै गरी धार्मिक पर्यटकका लागि प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा देवीको मन्दिर, इलामको माईपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको वराह पोखरी, भोजपुरको साल्पा पोखरी, सोलुखुम्बुको दुधकुण्ड, तेह्रथुमको सिद्धकाली देवी, धनकुटाको छिन्ताङ देवी, खोटाङको हलेसी महादेव आदि प्रख्यात धार्मिक स्थलहरू यसै कोशी प्रदेशमा पर्ने भएकाले पर्यटकलाई आकर्षण गर्न पर्याप्त छन् । साहसिक पर्यटनका लागि जल, चट्टान, मनोरञ्जनका लागि दृश्यावलोकन, ऐतिहासिक गन्तव्यका लागि प्राचीन तथा पुरातात्त्विक स्थल यस प्रदेशमा छन् ।

पर्यटकीय गन्तव्य स्थल तथा सम्पदाको संरक्षण, सुरक्षा तथा पूर्वाधारको विकास गरी पर्यटकका लागि न्यूनतम मापदण्डका होटल तथा रेस्टुराँको व्यवस्था, भरपर्दो यातायातलगायत पदमार्गमा सुरक्षाको प्रत्याभूति दिन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयाप्त सम्भावना छ ।

अन्त्यमा

आधुनिक प्रविधिको प्रयोग, सामूहिक खेती प्रणालीको विकास र कृषि क्षेत्रको व्यावसायिकीकरण गरी कोशी प्रदेशमा नगदेबालीको उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावना छ । यहाँको कृषियोग्य उर्वर जमिनको अधिकतम प्रयोग गर्न सकेमा राष्ट्रिय अन्न भण्डारमा नै उल्लेख्य योगदान दिन सकिने छ ।

त्यसै गरी साहसिक पर्यटकका लागि वर्षैभरि जल प्रवाह हुने नदी, ट्रेकिङ गर्न तथा प्रकृतिमा रमाउन चाहनेका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा, चिया बगानको मनोरम दृश्यलगायत विभिन्न हिमाल, राष्ट्रिय निकुञ्जमा रमाउन चाहने विश्वका पर्यटकलाई आकर्षित गरी विदेशी मुद्रा आर्जनको दिगो स्रोतका रूपमा विकास गर्न सकिने छ । धार्मिक पर्यटकका हिसाबले पनि प्रसिद्ध मठ मन्दिर, धार्मिक तथा ऐतिहासिक क्षेत्र प्रशस्त रहेकाले धार्मिक पर्यटक भित्र्याएर आर्थिक, सामाजिक एवं धार्मिक विकासमा योगदान पुग्ने छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले उल्लिखित क्षेत्रको विकास, संवर्धन र प्रचार प्रसारमा यथेष्ट ध्यान दिने हो भने आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा सबल कोशी प्रदेशमा विकास हुनेमा विश्वास गर्न सकिन्छ ।

  

Author

शिवहरि भट्टराई