• ८ मंसिर २०८१, शनिबार

त्यो बेलाको मनोरञ्जन

blog

एउटा समूह र अर्को समूहबिच झगडा हुन्थ्यो । रोचक कुरा त यो झगडामा नियम बनाइएको हुन्थ्यो र झगडा गर्ने व्यक्ति अनुशासनमा बस्थे । अनुशासन र नियमभित्र रहेर नै हरेक रात दुई समूहबिच झगडा हुन्थ्यो । झडपमा मारामार भने हुँदैनथ्यो । तथानाम गाली पनि हुँदैनथ्यो । फेरि यो खेल पनि होइन, जहाँ रेफ्री तथा एम्पायर होस् तर झगडा गरेर रमाइलो गर्ने चलन पनि चलेको थियो । 

गाउँका युवा रातभर समूह बनाएर विपक्षी समूहसँग झगडा गर्थे । राति झगडा गरेका युवा दिउँसो भेट्दा भने मिलेरै बस्थे । दिनभर आआफ्नो काममा व्यस्त हुन्थे । रात परेपछि भने झगडा गर्न तम्सन्थे । झगडामा मानवीय क्षति हुँदैनथ्यो । एक दिन होइन, दुई दिन होइन तीन दशक चल्यो यो झगडा ।

यो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५, चाचालुङमा कुनै बेला मनोरञ्जनका लागि गरिने सामूहिक झडप वा झगडाको कथा हो । गाउँमा मनोरञ्जनको साधन केही नभएको बेला यही झडपलाई नै मनोरञ्जनको साधन बनाइएको थियो । समूह बनाएर अर्काे समूहसँग भिड्न जान्थे । अनि रातभर दुई समूहबिच झडप हुन्थ्यो । महाकुलुङ गाउँपालिका–५ घर भई काठमाडौँमा बस्दै आएकी ७९ वर्षीया हर्कठूलीको सम्झनामा त्यो सामूहिक भिडन्त अहिले पनि ताजै छ । आफू जवान हुँदा आफूले पनि खेलेको स्मरण उहाँले गर्नुभयो । एक पटक यो झडपमा जाँदा रातभर फाइट खेल्दा खेल्दै सबै तितरबितर भए । अनि उहाँ एक्लै हुनुभयो रे । विपक्षी समूहबाट दुई जना युवकले उहाँलाई घेरिहाले तर हार नखाइ लड्दा दुई जनालाई नै हराउन उहाँ सफल हुनु भयो रे !

विसं २०२० को दशकमा मनोरञ्जको साधन केही थिएन । पढ्नका लागि स्कुल जाने चलन पनि थिएन । चाचालुङमा त विद्यालय नै स्थापना नै भएको थिएन । गाउँमा सुन्नका लागि फाट्टफुट्ट रेडियो थियो । मुख्य पेसा खेती थियो । बजार र व्यापारसँग धेरै टाढा थियो गाउँले परिवेश । बजारबाट नुनबाहेक अरू केही खरिद गरिँदैनथ्यो । खानका लागि आफ्नै घरमा घिउदेखि अन्नसम्म उत्पादन गर्नुपर्ने भएको हुँदा दिनभर खेतीमै व्यस्त हुनुपर्ने समय थियो ।  

दिनभर खेतीपाती र घाँस दाउरामा व्यस्त हुने युवा रात परेपछि भने सामूहिक झडपमा सहभागी हुन्थे । त्यो बेला उनीहरूको मनोरञ्जनको साधन जस्तै बनेको थियो यो सामूहिक झडप । जसलाई ‘हाःहै’ भनिन्थ्यो । ‘हाःहै’ मनोरञ्जनको नाममा एउटा विकृति पनि थियो तर जति समय चल्यो अनुशासनमा चल्यो । मानवीय क्षति हुन नदिनु नै ‘हाःहै’ को सफलता मान्न सकिन्छ । ‘हाःहै’ को केन्द्र चाचालुङ थियो । जहाँ झडपका लागि दुई वटा समूह हुन्थ्यो । एउटाको नाम सुम्बुवाली र अर्को समूहको नाम माझटोले थियो । 

दुई समूह बनाएर युवा एकअर्कामा भिड्थे । त्यतिबेला उक्त झडपमा सहभागी डिल्लीकुमार कुलुङका अनुसार आफू सहभागी नभएको बेला घरमा बसेर सुन्दा जमिन नै थर्किएको जस्तो ठुलो आवाज आउँथ्यो । हरेक रातजसो यो खेल चल्ने गरेको उहाँ स्मरण गर्नु हुन्छ । ठुलो समूहबिच लड्नुपर्ने भएको हुँदा बर्सातमा भने दैनिक हुँदैनथ्यो । किनभने हिमाली जिल्लामा सम्म परेको जमिनमा खेती गरिन्थ्यो । अन्य खेल मैदान हुँदैनथ्यो । त्यसैले बाली भिœयाएपछि त्यही ठाउँमा ‘हाःहै’ खेलिन्थ्यो । 

अनुशासन कस्तो थियो भने अन्नबाली भएको बेला सबै जोगाइन्थ्यो । खेल्नका लागि समूहबिच बोलावट हुन्थ्यो । रातभर जति रिस भए पनि दिउँसो त्यसको प्रतिकार गर्न पाइँदैनथ्यो । घाइते भने धेरै जना भएका थिए तर चाचालुङमा कुनै मानवीय क्षति भएन । 

डिल्लीकुमारको भनाइ अनुसार २०२० सालतिर सुरु भएको माझटोले र सुम्बुवालीबिचको उक्त झगडामा छिमेकी गाउँ गुदेल, लुच्चाम, बुङ र नाम्लुङका युवा पनि सहभागी हुन्थे । आफ्नो समूह कमजोर भएपछि उनीहरूलाई बोलाइन्थ्यो । त्यो बेला सञ्चारको साधन केही थिएन । त्यसैले छिमेकी गाउँका युवासँग घाँस, दाउरा र मेलापतमा भेट्दा आज राति ‘हाःहै’ चल्छ आउनु है भनेर बोलाइन्थ्यो । 

महाकुलुङ–१, बुङका सृष्टिराम कुलुङ पनि ‘हाःहै’ मा सहभागी हुन चाचालुङ पुगेको स्मरण गर्नुहुन्छ । एक पटक सहभागी हुँदा नै झन्डै ज्यान गएपछि खेल्नै छोडेको उहाँ स्मरण गर्नुहुन्छ । चाचालुङबाट ‘हाःहै’ खेल्दै, लड्दै, गुदेलको लाम्पम्मा भन्ने ठाउँमा पुग्दा साथीहरू छुटेका थिए रे ! 

‘हाःहै’ को नियम

पूरै गाउँको मुख्य पेसा नै खेती भएको हुँदा दिनभर अभिभावकको नियन्त्रणमा खेतीपातीमै व्यस्त हुनुपथ्र्यो । रातको समय सदुपयोग गर्दै ‘हाःहै’ खेलिन्थ्यो । रातको समयमा मात्र यो खेलमा सहभागी हुन युवालाई छुट थियो । यस खेलमा आफ्नो समूह बलियो बनाउने कोसिस गरिन्थ्यो । समूहमा बलवान् युवा ल्याउने काम हुन्थ्यो । अनि दुई समूहबिच निश्चित ठाउँमा भेटेपछि ठेलमठेल, घचेटाघचेट, तानातान हुन्थ्यो । एउटा समूहले अर्को समूहलाई सकेसम्म रिङभित्र हालेर नियन्त्रण गर्ने कोसिस गथ्र्यो । त्यसैले समूहमा सङ्ख्यात्मक रूपमा धेरै युवा भिœयाउनकै लागि छिमेकी गाउँबाट पनि युवा ल्याइन्थ्यो । त्यसको प्रभाव अन्य गाउँतिर पनि चल्यो । अन्य गाउँमा पनि खेल्न थालिएको थियो । 

रातभर एउटा समूह र अर्को समूहबिच जति ठेलमठेल र घचेटाघचेट चले पनि हात उठाएर कुट्न तथा कुनै हतियारले हिर्काउन पाइँदैनथ्यो । अहिलेको कुस्ती जस्तो थियो तर कुस्तीमा जस्तो अनुशासन हुँदैनथ्यो । खेलाडीको सङ्ख्या पनि तोकिएको हुँदैनथ्यो । कुस्तीमा जस्तो रेफ्री पनि हुँदैनथ्यो । समूह भेला गर्दा गर्दै आफ्नो समूह पूर्ण नभई विपक्षी समूह आइदियो भने घेरा हालेर ठुलो समूहले सानो समूहलाई च्याप्ने वा एक व्यक्तिले अर्को व्यक्तिलाई दुई हातबिच बेस्सरी अँठ्याउँथ्यो । 

खेलमा के सम्म हुन्थ्यो भने आज राति सुम्बुवाली समूहले माझटोले समूहलाई हराएको छ भने भोलि माझटोले समूहले आफ्नो समूह बलियो बनाउनका लागि सबै सदस्यलाई भेला पारेर सुम्बुवालीलाई हराउने गरी जान्थ्यो । हराउनु पर्छ है भनेर रणनीति बनाइन्थ्यो । सङ्ख्यात्मक रूपमा कमजोर भएमा साथीभाइको माध्यम प्रयोग गरेर छिमेकका युवा ल्याइन्थ्यो । सकेसम्म विपक्षी समूहका सदस्य आफ्नोमा तानिन्थ्यो तर विपक्षीका सदस्य आफ्नो समूहमा ल्याउनु भनेको शत्रु देशका सैनिक आफ्नो मैदानबाट भिडाउनु जति नै जटिल थियो । त्यसैले अन्यत्रको युवा ल्याउनमै जोड दिइन्थ्यो । 

रातभर समूह/समूहबिच झगडा भए पनि दिउँसो काम, मेला, पर्व र खेताला आदिमा भेट्दा भने सामान्य बोलचाल हुने गरेको डिल्लीराम कुलुङको भनाइ छ । गए राति विपक्षी टिमले घाइते बनाए पनि दिउँसो भेट्दा रिस गर्न पाइँदैनथ्यो । दिउँसो कुनै काम तथा बाटोघाटोमा भेटेमा गए राति तिमीहरूले जित्यौ, आज हामी जित्ने गरी आउँछौँ है भनेर कुरा भने हुने गरेको डिल्लीरामले जानकारी दिनुभयो । 

कुनै मानवीय क्षति नभए पनि यो खेलले विकृतिको रूप भने नलिएको होइन । पछिल्लो समय कुट्न नपाए पनि जहाँ ढुङ्गा छ, त्यहाँ लगेर पछार्ने अनि फेरि लड्न नसक्ने गरी घाइते बनाउने गरिन्थ्यो । मनोरञ्जनका रूपमा सुरु भएको ‘हाःहै’ ले विकृतिको रूप लिन थालेकै बेला माओवादी सशस्त्र युद्ध भयो । अनि यो खेलको पनि अन्त्य भयो । 

Author

विवश कुलुङ