• १२ असोज २०८१, शनिबार

बागलुङ बडिगाड पहिरो : उद्धारका लागि घटनास्थल पुग्यो हेलिकोप्टर

blog

पहिरोमा परी घाइतेको उपचार गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
बागलुङ, साउन २३ गते ।
मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटामा गएको पहिरोमा परेर घाइते भएकाहरुको उद्धारका लागि करिब २१ घण्टापछि हेलिकोप्टर घटनास्थल नजिक अवतरण गरिएको छ । मङ्गलबार बिहान पहिरोमा परेर वडा नम्बर १० मा ६ र ९ मा दुईजनाको मृत्यु भएको थियो ।

दुईजना चिकित्सक र केही प्रहरीसहित नेपाली सेनाको हेलिकोप्टर बडिगाडतर्फ गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मङ्गलबार खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्किएको थियो । पहिरोका कारण सडक अवरुद्ध हुँदा घाइतेहरुलाई अस्पतालसम्म लैजान कठिन भएको थियो ।

बुधबार बिहान हेलिकोप्टर ९ नम्बर वडाको जनता आधारभूत विद्यालय नजिक अवतरण भएको वडाध्यक्ष विरेन्द्रकुमार बुढामगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हेलीकप्टर ९ नम्बर वडामा अवतरण भएको छ । हेलिकोप्टरबाट गम्भीर घाइतेहरुलाई काठमाडौँ लैजाने तयारी छ ।’’

स्थानीयवासीहरुले उपचारका लागि घाइतेहरुलाई बुर्तिबाङस्थित अस्पतालमा पु¥याइसकेको उहाँले जानकारी दिनुभयो । पहिरोमा परेर बेपत्ता भएका चारजनाको खोजी कार्य विहानैदेखि थालिएको वडाध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ ।

पहिरोमा परेर गम्भिर घाइते हुनुभएका आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढाको समयमै उपचार नपाउँदा मङ्गलबार साँझ मृत्यु भएको वडाध्यक्ष बुढामगरले जानकारी दिनुभयो । पहिरोमा परेर बेपत्ता भएकाहरुको प्रहरी र स्थानीयवासीहरुले बिहानैदेखि खोजी कार्य थालेका छन् । 

सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बिहान ११ः३० बजेको समयमा मृतक जोगबहादुरको घरमाथिको पाखोबाट खसेको पहिरोले घर र गोठ पुरिएको थियो । पहिरोका कारण करिब ५० घरधुरी विस्थापित भएको वडाध्यक्ष बुढामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिरोका कारण वडामा करिब ५० घरधुरी विस्थापित भएका छन् । विस्थापितहरुलाई बस्ने, खाने र पानीको समेत अभाव भएको छ ।’’