• २४ भदौ २०८१, सोमबार

निःशुल्क एम्बुलेन्सले बिरामीलाई सहज

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), साउन २३ गते । जलजला गाउँपालिका–७, धाइरिङका ७४ वर्षीय चन्द्रे परियारलाई उपचारका लागि पोखराको अस्पतालमा पुग्ने र फर्किने पैसा जुटाउने चिन्ता थियो । टाउकाको शल्यक्रिया गर्नुभएका परियारलाई जलजला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्सले घरबाट पोखरास्थित अस्पताल लैजाने र ल्याउने सेवा प्रदान ग¥यो । पालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा पाएपछि परियारको मुहारमा खुसी छायो । 

परियारले भन्नुभयो, “लोकतन्त्र आएपछि काठमाडौँको सिंहदरबार गाउँघरमा आयो भनेको सुनेको थिएँ, बल्ल सिंहदरबारको अनुभूति भयो ।” उहाँले स्थानीय सरकारलाई धन्यवाद दिनुभयो । यस्तै बागलुङ अस्पतालमा सुत्केरी हुनुभएकी वडा नम्बर ३ की अस्मिता सुवेदीले पालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाको उपयोग गरेर घर फर्किनुभयो । वडा नम्बर ४ की मनकुमारी परियार पैसाको अभावमा उपचारका लागि अस्पतालसम्म पुग्न नसकी घरमै बसेको खबर पाएपछि पालिका उपाध्यक्ष दीपक आचार्य एम्बुलेन्स लिएर परियारको घरमा पुग्नुभयो । निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गरेर परियारले बेनी अस्पतालमा पुगेर उपचार गर्नुभयो । 

जलजला गाउँपालिकाले यही साउन १० देखि सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा गर्भवती, सुत्केरी महिला, ज्येष्ठ नागरिक, असहाय गरिब तथा विपन्न र अपाङ्गता भएका नागरिकलाई वरदान साबित भएको छ । १२ दिनको अवधिमा चार जना सुत्केरी, असहाय, ज्येष्ठ नागरिक र अपाङ्गता भएका एक/एक जनाले सेवा लिएका छन् भने १३ जना अन्यले सुलभ भाडादरमा एम्बुलेन्स सेवा लिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेपछि निजी सवारीसाधन भनेको बेलामा नपाइने, महँगो शुल्क तिर्नुपर्ने र गाडी भाडाको अभावमा समयमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएकाले स्थानीय सरकारको अनुभूति भएको पालिकावासीको भनाइ छ । निजी सवारीसाधनले चर्को भाडा लिने तथा गाउँघरमा यातायातका साधनको पनि अभाव हुने हुँदा गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिक उपचारका लागि अस्पतालसम्म पुग्न असहज भएकाले गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । 

आचार्यले भन्नुभयो, “तोकिएको समयमा गर्भ जाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्राथमिकता दिएका छौँ । ज्येष्ठ नागरिक, असहाय गरिब र अपाङ्गता भएकाको स्वास्थ्य सेवामा पहुँच बढाउन निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी भएको छ ।” एम्बुलेन्स, विपत् व्यवस्थापन, सेवा प्रवाह, गुनासोलाई व्यवस्थापन गर्न लामाखेतस्थित गाउँपालिका कार्यालय परिसरमा सचिवालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले बताउनुभयो । वडा कार्यालयको सिफारिसमा सचिवालयका कर्मचारीले समन्वय गरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने, विपत् व्यवस्थापन र सेवा प्रवाहमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।