सन् २०२४ को मनसुन प्रारम्भ भएपश्चात् जुलाई १७ सम्ममा ज्यान नै लिने खालका ३८ वटा घातक पहिरो गएका र १३५ जनाको मृत्यु भयो । कतिपय पूर्वाधार र कृषि तथा पशुजन्य उत्पादनमा क्षति पुगेको छ । यो वर्षको मनसुन अक्टोबरको सुरुवातसम्म रहने भनिएको हुँदा अझ पनि पहिरो जाने र त्यसबाट प्रभावित हुने सम्भावना बाँकी नै छ । जोखिमयुक्त स्थानमा भारी वर्षा हुनासाथ मानिसहरू आफू बसोबास गरेको स्थानबाट सुरक्षित र फराकिलो स्थानमा शरण लिन जानुपर्ने बाध्यता छ ।
पहिरो जानुमा भूकम्प, वन फँडानी जस्ता कारणले जमिनमुनि रहेको चट्टानको अवस्थामा परिवर्तन आई भूसंरचना नै कमजोर हुन जानु वा जमिनको वहन क्षमता र भूगर्भको पर्याप्त अध्ययनबिना नै पूर्वाधार बन्नु जस्ता कारण रहेको देखिन्छ । यति मात्र होइन, पहिरोका कारण र प्रभाव सम्बन्धमा अनभिज्ञ रहेका स्थानीय बासिन्दा र वातावरणीय ह्रासप्रति अनदेखा प्रकट गर्ने निर्णय निर्माताको पनि कम भूमिका हुँदैन पहिरोजन्य विपत् हुनुमा । पछिल्ला वर्षमा खास गरी बादल फुट्न गई हुने भारी वर्षाका कारणले मनसुनको समयमा पहिरो जाने गरेको छ । यति मात्र होइन, माटो वा चट्टानको उत्खनन हुनु र भूकम्प जानु पनि पहिरोजन्य विपत्का लागि सहयोगी बनेको देखिन्छ ।
अध्ययनले देखाए अनुसार भूकम्पपश्चात् खुकुलो भएको भूगर्भका कारण पनि पहिरोजन्य विपत्का घटना बढ्ने सम्भावना बढेर जान्छ । वर्षाको मात्रामा आएको अन्तर, असमान र विविध भूगोल, साबिकमा रहेका जङ्गल र हरियालीको नाश हुनु जस्ता कारणले पहिरो आउने क्रम बढेको छ । इसिमोडले गरेको अध्ययनको निष्कर्षमा के भेटियो भने दलित समुदाय पहिरोले ज्यादा प्रभावित हुनेमा पर्छन् । जग्गा र अन्य स्रोतमा सीमित पहुँच रहेकै कारण उनीहरू पहिरोको असरमा पर्ने सम्भावना बढी हुन्छ । त्यसै गरी अक्सफाम र युएनडिपीले निकालेको निष्कर्षले समेत जातीय विभेदका कारण नेपालका सीमान्तकृत समुदायमा पहिरोको असर बढाएको देखाएको छ ।
पहाडी भूभागमा निर्माण भइरहेका पक्की वा कच्ची सडकका कारण पानीको निकास व्यवस्थापन बिथोलिन गएको छ । पानी परेका बेला भेलले जम्मा गर्ने ठोस चिजको बहाव अर्थात् डेब्रिजले गर्दा खोला थुनिने र वेगका साथ वहन पुगी जलविद्युत्का संरचना, पुल, सडकलगायत मानव बस्तीमा समेत ठुलो क्षति पुग्ने गरेको छ । पहिरोका कारण ज्यान गुमाउनेको विवरण विश्लेषण गर्दा अधिकांश व्यक्ति दलित र विपन्न वर्गका रहेको पाइन्छ । अर्थात् भनौँ दुःखी नेपालीको बस्तीमा पहिरोले पीर थपेको छ ।
पहिरोको बढ्दो प्रवृत्ति
दी जर्नल अफ इन्भाइरोमेन्ट एन्ड अर्थ साइन्समा प्रकाशित केसी, शर्मा र दाहालसमेतले गरेको अध्ययनमा सन् २०११ देखि सन् २०२० सम्म गएका पहिरोको भौगोलिक वितरण र घटित भएको समयरेखाको अध्ययन गरिएको थियो । जसमा नेपालमा पहिरो जाने क्रम अर्थात् प्रतिएक हजार वर्गकिलोमिटरमा जाने पहिरोको सङ्ख्या जसलाई पहिरोको घनत्व पनि भन्ने गरिन्छ, यसको मान सन् २०११ मा ०.८५ रहेकोमा सन् २०२० मा बढेर ३.३४ पुगेको छ । अध्ययनले के पनि देखाएको छ भने सन् २०१५ मा गएको विनाशकारी भूकम्पपश्चात् पहिरोको घनत्व झन् बढेर गएको छ । हुन त जलवायु परिवर्तनको परिणामस्वरूप वर्षाको प्रवृत्तिमा हेरफेर भएको र खास गरी वर्षा भएका बखत त्यसको सघनता बढेको देखिन्छ । खास गरी पहाडी भूभागमा इन्जिनियरिङ अध्ययनबिना मापदण्डविपरीत बनेका बग्रेल्ती सडक पनि पहिरो जस्ता विपत्जन्य घटना बढाउने कारण भएका छन् ।
विपत् र गरिबी
गरिबी र विपत्जन्य घटनाबिच दोहोरो सम्बन्ध देखिन्छ । अर्थात् गरिबीले विपत्को असरलाई बढाउँछ भने विपत्जन्य घटनाबाट कुनै पनि सीमान्तकृत परिवारको गरिबी थप बढेर जान्छ ।
विसं २०७१ अर्थात् सन् २०१५ मा गएको भूकम्पपश्चात्को अवस्थामा नेपालको कुल जनसङ्ख्याको स्थान हेरी २.५ प्रतिशत देखि ३.५ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि पुग्न बाध्य भएको विश्लेषण सार्वजनिक भएको थियो । अन्य सानातिना विपत्का घटना विश्लेषण गरेर प्रतिवेदन त आउँदैन तापनि ती घटनाले घरपरिवारको आर्थिक, सामाजिक जगलाई भने नराम्ररी हल्लाएको हुन्छ । नेपालको सन्दर्भमा अधिकांश गरिब घरपरिवारको गुजारा कृषिजन्य कार्यबाटै हुने गर्छ । जब बाढीपहिरो, खडेरी जस्ता विपत् आइपर्छन् तब वर्षभरि खानुपर्ने बालीनाली क्षणभरमै सत्यनाश हुन्छ ।
सन् २०११ मा जेनेभामा भएको विपत् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा केयर इन्टरनेसनलका महासचिव रोबर्ट ग्लासरले आफ्नो अभिव्यक्तिमा भनेको कुरा हृदयस्पर्शी छन् । उहाँका अनुसार गरिब घरपरिवार विपत्मा पर्दा उनीहरूले गुजाराका लागि अक्सर प्रयोग गर्ने सम्पत्ति वा आधार गुमाउन पुग्छन् । यति मात्र पनि होइन, उनीहरूसँग रहेको सीमित स्रोत, शिक्षा तथा स्वास्थ्यमा रहने कमजोर पहुँचका कारण पटक पटक विपत्मा पर्ने जोखिम बढी हुन्छ ।
कतिपय विपत्जन्य घटना हुनुमा मानिससँग जोडिएका कारण हुने बताइएको छ । भूकम्प आउनुमा मानिस प्रत्यक्ष जिम्मेवार हुँदैन तर भूकम्प आउने क्रममा के गर्न हुने के गर्न नहुने भनेर अलमलिने त मानिस नै हो । त्यस्तै विभिन्न संरचना बनाउने तथा थरिथरिका सामान थुपार्ने पनि मानिस नै हो । यसो गर्दा जोखिम बढ्ने पनि मानिसलाई नै हो । विपत्को बढ्दो प्रभावका लागि मानव स्वयम् जिम्मेवार हुने भनेर विपत् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले नै स्वीकार गरेको छ । खास गरी जङ्गल जथाभावी फडानी गर्ने, अव्यवस्थित सहरीकरण र अपर्याप्त तथा न्यून गुणस्तरको पूर्वाधार जस्ता मानवीय क्रियाकलाप सम्बद्ध कारणले बाढीपहिरो, भूकम्प जस्ता विपत्जन्य घटनाको असर ज्यादा हुने गरेको छिपेको छैन ।
विपत्को अर्थसामाजिक आयाम
प्राकृतिक विपत् र गरिबीबिचको सम्बन्ध विषयक खोजमूलक आलेखमा पिआर अवस्थीले नेपालमा केही वर्षका बिचमा भएका विपत्का घटनामा आधारित विश्लेषणबाट निकालेको निष्कर्ष अनुसार घरपरिवारको आम्दानीको अवस्था कमजोर हुनेबित्तिकै सम्भावित विपत्जन्य जोखिमसँग मुकाबिला गर्ने क्षमता कम हुन्छ । फलस्वरूप विपत्ले ल्याउने असर गहिरो हुने गर्छ र गरिबीको गहिराइ झनै बढ्छ । विश्व बैङ्कले गरेको एक अध्ययन अनुसार गरिब घरपरिवार अक्सर अप्ठेरो जग्गामा बसोबास गरेका र प्रयोगमा रहेका घर पनि कमजोर अवस्थामा रहेका हुन्छन् । गरिबले खाने खानामा पोषणको अवस्था कमजोर हुने, आधारभूत आवश्यकताका वस्तुको उपलव्धता न्यून हुने हुँदा विपत्जन्य घटनासँग जुध्ने क्षमता सीमित हुन्छ । विपत्जन्य घटनाको असर धनी र गरिबमा फरक अनुपातमा पर्ने गरेको छ ।
गरिबीको रेखाभन्दा थोरै माथि भएका पनि विपत्पश्चात पुनः गरिबीको चक्रमा पर्न बाध्य हुन्छन् । त्यसो त गरिबसँग स्रोतसाधन नै सीमित हुने र जसबाट सुरक्षित घरबास, सफा पिउने पानी र स्वास्थ्य सुरक्षाको अवस्था नै कमजोर हुनाले विपत्का बखत लड्ने क्षमता कम हुन्छ । त्यस्तै जरुरी हुँदा सहयोग पाउने सम्भावना पनि कमै हुन्छ । सरकारले लागु गरेका बिमाको स्किमले यस्ता घटनालाई पूर्ण रूपमा सम्बोधन नगर्ने हुँदा विपत्का घटनापश्चात् वित्तीय रूपमा उनीहरू निकै कमजोर हुन पुग्छन् । घटनापश्चात् सुरक्षित स्थानमा जानका लागि पनि एक त आफूसँग भएका सामान लिएर यातायातसम्मको पहुँच नहुन सक्छ भने अर्कोतिर झट्ट सहारा दिने व्यक्ति वा संस्थाको पनि अभाव हुन सक्छ । भएको जीविकाको स्रोत आंशिक वा पूर्ण रूपमा नष्ट भएपछि गरिब झन् गरिब हुन्छन् । यसबाट स्थानीय अर्थतन्त्र थप कमजोर हुने र समुदायको समुत्थान क्षमता पनि कमजोर भएर जान्छ ।
विपत् आफैँमा प्राकृतिक हो र यो अवश्यम्भावी हो भन्ने विषयलाई खण्डन गर्न आवश्यक छ । किनकि सबै जसो विपत्को असर कम वा बढी हुनुमा मानवीय भूमिका हुन्छ । विपत् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयका अनुसार मानवीय क्रियाकलाप संलग्न हुने वन फँडानी र जथाभाबी विकास निर्माण पनि विपत् घटना बढाउने कारण हुन् । अव्यवस्थित सहरीकरण, अपर्याप्त पूर्वाधारका कारण बाढी, आँधी, पहिरो, भूकम्पबाट हुने नोक्सानी अधिक हुन जान्छ । खोलाको प्रभाव क्षेत्रमा घर बनाउनु, पहाडी पाखामा डोजर प्रयोग गरेर सडक बनाउनु, पानी बग्ने निकास रोक्नु जस्ता क्रियाकलाप केही समयको अन्तरालमा घातक हुन पुग्छन् । त्यसो त विपत्ले सबै समुदायलाई समान ढङ्गले असर गर्ने हुँदैन । सामाजिक जोखिमका रहेका गरिबी, असमानता र सीमान्तीकरणको प्रभावस्वरूप विपत्बाट जोगिन वा जुध्नका लागि हुनुपर्ने समुत्थान क्षमतामा अन्तर पर्छ । यसबाहेक जलवायु परिवर्तनले पनि विपत्जन्य जोखिम बढाएको छ । के कुरा बुझ्नु जरुरी छ भने जसरी मानवीय क्रियाकलापकै कारण विपत् जोखिम बढेको छ, प्रकृतिमा असन्तुलन देखा परेको छ, त्यसरी नै मानवीय व्यवहार र कार्यमा देखाइने सावधानी र प्रकृतिको संरक्षणलाई अर्थतन्त्र र विकासको एक महत्वपूर्ण सर्त मान्न सकियो भने विपत् जोखिम घट्ने छ । त्यसो हुन सके विपत्को मुख्य कारण पहिचान भई उपयुक्त रणनीतिको प्रयोगबाट विपत् व्यवस्थापन सरल हुन जान्छ ।
समाधान के त ?
समुदायको जोखिम वहन क्षमता अर्थात् समुत्थानशीलता बढाउन तथा विपत् घटनापश्चात् पहिलेको अवस्थामा फर्कनका लागि पनि गरिबीको सम्बोधन अपरिहार्य छ । यसका लागि खास गरी हाल प्रयोगमा रहेका पूर्वाधारको गुणस्तर बढाउने, सामाजिक सुरक्षाका स्किमलाई बृहत् बनाउँदै लैजाने, विकासमा दिगोपन ल्याउने उपाय अवलम्बन गर्ने र शिक्षा तथा स्वास्थ्य सुविधामा पिँधमा रहेका वर्गको पहुँच बढाउन सकेमा कतिपय अप्ठेरा समाधान हुने देखिन्छ ।
समावेशी खालको भूउपयोग योजना जसले सीमान्तकृत समुदायले बेहोर्नु परेका जोखिमलाई सचेतना, पूर्वतयारी र निर्णय प्रक्रियामा सहभागिताका माध्यमले सम्बोधन गर्न सकिन्छ, अवलम्बन गरिनु पर्छ । विपत् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्दा सीमान्तकृतको आवाज सुनिनु आवश्यक छ । गरिब घरपरिवारको विपत्सँग मुकाबिला गर्ने सक्षमता बढाउन बिमाको स्किममा विपत् घटनालाई समेट्नुका साथै जोखिमको विश्लेषणसहितको प्रकृतिमैत्री विपत् व्यवस्थापन रणनीति अपनाउनु आवश्यक छ ।