• १२ असोज २०८१, शनिबार

‘मुलुक विकासको नयाँ युगमा प्रवेश’

blog

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रे सुरुङमार्ग छिचोलिने कार्यव्रmममा सहभागीहरूका साथ । तस्बिर : नेपाली सेना

काठमाडौँ, साउन २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । उहाँले तोकिएको समयावधिभित्र आयोजनाको काम सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिनुभयो ।

मकवानपुरको बकैया गाउँपालिकास्थित सोमबार आयोजित धेद्रे सुरुङमार्ग छिचोलिने कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । नेपाली सेनाका अनुसार प्रधानमन्त्री ओलीले विद्युतीय ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएको थियो । विस्फोट भएसँगै छिचोल्न बाँकी रहेको भाग भत्केर सुरुङ वारपार भएको थियो । 

उहाँले आयोजनाको काम नयाँ प्रविधियुक्त ढङ्गले अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्दै निर्माण कार्यमा आबद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । छिचोलिएको सुरुङको लम्बाइ १.७२८ किमी छ ।

उहाँले सुरुङ मार्गसँगै मुलुक विकासको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अब पूर्वाधार विकासको यो गति नरोकिने बताउनुभयो । राष्ट्रिय गौरवको यो द्रुतमार्ग निर्माणले देशमा केही भएन भन्ने भाष्यलाई खण्डन गरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग समेत जोडिएको बताउनुभयो । उहाँले खोकनाको जग्गामा राजनीति मात्रै नभई अरू चिजसमेत मिसिएको दाबी गर्नुभयो । विगतमा अपेक्षित रफ्तारमा पूर्वाधार विकास हुन नसकेको बताउँदै उहाँले अब मुलुकको विकासको नमुना यो द्रुतमार्ग बन्ने दाबीसमेत गर्नुभयो । सो अवसरमा उहाँले पूर्वाधार विकासका नयाँ आयोजना थप्नुभन्दा चालु अवस्थामा रहेका आयोजनालाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै उहाँले द्रुतमार्गलगायतका पूर्वाधार विकासले यी लक्ष्यलाई मूर्त रूप दिन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना द्रुतमार्गको निर्माण निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै आयोजना निर्माण कार्यमा सरकारलगायत सम्बद्ध निकायबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । २०८३ चैत मसान्तसम्म म्याद थप गरिएको यो आयोजनाको काम १३ प्याकेजमा भइरहेको छ । 

भौतिक प्रगति ३६ प्रतिशत

नेपाली सेनाको व्यवस्थापनमा काम सुरु भएको यस आयोजनाको अहिलेसम्मको भौतिक प्रगति करिब ३६ प्रतिशत छ । सरकारले २०७४ वैशाखमा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । द्रुतमार्गको कुल लम्बाइ ललितपुरको खोकना (प्रस्थान विन्दु) देखि बाराको निजगढसम्म ७०.९७७ किलोमिटर छ । पछिल्लो पटक थप गरिएको म्याद अनुसार २०८१ मङ्सिरभित्र निर्माणको काम सक्नुपर्नेमा २०८३ चैतसम्म म्याद थप गरिएको छ । ७०.९७७ किमीमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ । खोकना खण्डको जग्गा विवाद भने अझै टुङ्गिएको छैन । सेनाका अनुसार यस आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् ।