• १२ असोज २०८१, शनिबार

ट्याङ्की हेरेर चित्त बुझाउँछन् ज्यामरुककोटवासी

blog

निर्माण गरिएको पानी संकलन ट्याङ्की । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन २० गते । खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका –२ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा थिए । तर आशा निराशामा परिणत भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९–८० मा ज्यामरुककोटका दुईसय ५० घरधुरीमा ‘एक घर एक धारा’ योजनाअनुसार ज्यामरुककोट–ठूलो खोला राताभिर लिफ्ट खानेपानी योजना संचालन गरेको थियो । ठूलो खोलाबाट लिफ्टिङ प्रविधिबाट गाउँको शिरमा रहेको ज्यामरुककोटको डाँडामा निर्माण गरिने ट्याङ्कीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना थियो ।  

योजनामा पहिलो वर्ष एउटा मात्र पानी संकलन गर्ने ट्याङ्की  निर्माण भएको वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । वडाको भकुण्डे, फापरखेत र अर्जमको ठुलो वस्तीलाई खानेपानी सुविधा विस्तारका लागि योजना सञ्चालन भए पनि रकम अभावमा कार्यन्वयनमा समस्या भएको उहाँको भनाइ छ । 

योजनाको कुल लागत १० करोड ९४ लाख ८० हजार  रुपियाँ रहेकोमा पहिलो वर्ष ४५ लाख रुपियाँ खर्च गरेर उपभोक्ता समितिमार्फत दुईसय घनमिटर पानी संकलन ट्याङ्की निर्माण गरिएको थियो । 

योजना सञ्चालन भएको एक वर्षपछि आर्थिक वर्ष २०८०–८१ मा संघीय खानेपानीबाट योजना कार्यान्वयनका लागि गण्डकी प्रदेश सरकार मातहतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमा हस्तान्तरण भएको छ ।   

गत आर्थिक वर्षमा उक्त कार्यालयले योजना कार्यन्वयन गर्न सकेन । योजना कुल लागत ठुलो भएको र प्रयाप्त मात्रामा बजेट विनियोजन नभएकाले योजना कार्यान्वयनमा समस्या भएको कार्यालयको भनाइ छ ।  

चालु आर्थिक वर्षमा उक्त योजना फेरि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मातहत आएको कार्यालयका इन्जिनियर नविन सुवेदीले बताउनुभयो । ठुलो लागतका योजनाहरु स्विकृत गर्ने तर न्यून बजेट पठाउने प्रवृत्तिले योजना कार्यन्वयनमा समस्या भएको इन्जिनियर सुवेदीले बताउनुभयो । 

यो योजनाको अघिल्लो आर्थिक वर्षकै १५ लाख रुपियाँ भूक्तानी गर्न बाँकी छ, उहाँले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षका लागि ५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । यसरी योजना कार्यन्वयन गर्न समस्या हुन्छ ।’’ 

हिउँदका ६ महिना पिउने पानीको समस्यालाई समाधान गर्न लिफ्टिङ प्रविधिको योजना माग गरेको तर सम्बन्धित निकायबाट आवश्यक मात्रामा बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।