• १२ पुस २०८१, शुक्रबार

‘तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित हुन्छ’

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ।

काठमाडौँ, साउन १९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।

डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातिलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसद्को चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उहाँको भनाइ थियो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘आँखाको क्षेत्रमा डा. सन्दुक रुइतले खेल्नुभएको भूमिकालाई हामीले कसरी अगाडि लैजान सकिन्छ ? आजभन्दा दुई महिना अगाडि  मात्रै हो– त्यहाँबाट एउटा टिम तिलगंगा अस्पतालको तर्फबाट आउनुभयो । तिलगंगा नेत्र विश्वविद्यालय र त्यसका कानुन बनाउनुपर्ने भयो । त्यो विश्वविद्यालयको ऐन पास गर्नुपर्ने भयो । त्यो विधेयक छिटो पास गर्नका लागि सहयोग गर्नु पर्‍यो भनेर उहाँले आएर कुरा गर्नुभयो ।’’ 

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढङ्गले अघि बढाउन सकिने बताउनुभयो । उहाँले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्त्व दिएको पनि उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरू हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।