• ७ मंसिर २०८१, शुक्रबार

हरियो साउन (निबन्ध)

blog

निरन्तर चलायमान भइरहने जीवन, त्यसैप्रतिको अगाध आस्थाको चौतारी हो, हरियो साउन । जस्तै हुरीबतास र झञ्झावातमा पनि अविचलित अभेद्य आत्मविश्वासको प्रतिविम्ब हो हरियो साउन । वर्षभरि घुम्दैफिर्दै आउनेमध्ये सबैभन्दा गर्विलो रसिलो, बहारिलो महिना हुनु साउनको साख । हरियालीको लाली भरेर मैलो मनभित्रका कुण्ठा, क्लेश कल्मष एकैसाथ पखालौँ भन्ने अभ्यर्थनाको अभिधेय हो साउन । पृथ्वीलाई बचाउने सञ्जीवनी लिएर पाखाभित्ता र खोलाकिनारका जरुवामा मूल फुटिरहूँ, बीज बनेर खेत बारीमा सधैँ उम्रिरहूँ, पोथ्रा बुटाहरूमा पालुवा पलाएर आकाश छुन माथिमाथि बढौँ, बढीरहूँ भन्ने सङ्कल्प साधनाको तथास्तु अभिषेक पनि हो साउन । सधैँ दूरदूर फैलिरहूँ सधैँ क्षीतिजभरि मौलाइरहूँ सधैँ अजरअमर बनेर तीन लोक चौध भुवनमा हाँगा, पालुवा लर्किरहूँ भन्छ यसले । खोला खोल्सादेखि कालीगण्डकी र कोशीमा उर्लिएर प्रवाहित हुँदै भरिलो बैँसमा पोखिने साउन अनि फोहोरका डङ्गुरलाई गाउँसहरबाट लफन्ड्याएर सफासुग्घर सुगन्धित बनाउने महापर्वको अभिषेकमय उत्सव मेला पनि हो साउन । 

थरी थरी फूलमा फक्रिएर भमराको लाखेनाच देखाउँदै सगरमाथाको शिरबाट ‘पृथ्वी आकाशभरि उज्यालो खुसी छरिरहूँ’ भन्ने गीतमा लय दिन्छ साउनले । जहाँ नेपाली त्यहाँ नेपाल । जहाँ नेपाल त्यहाँ भरिलो झरिलो साउन । त्यहीँ खोला, खोल्सा, तलाउ, दहमा जूनलाई काखीमा लिएर पौडी खेल्छ नेपाल । गङ्गाजमुना र वद्रीकेदारका तीर्थालुका हरिया चुरापोते । बागमती, विष्णुमती, कोशी, गण्डकी तीरमा स्नानार्थीका साथ हरियो परिधानमा फक्रिएको सुन्दर साउन । सुदूर विदेशका नगर, महानगरदेखि स्वदेशका छाप्राझुप्राभित्र गच्छे अनुसार दिनरात पालुवा मुजुरा मुनामा विकस्वर बनेको छ साउन । हवाईजहाजका सिटदेखि पानीजहाजका डेकसम्म लमतन्न लर्किएको छ साउन । व्रतालु नानीका हरियो चुरा, पोते, सारीको पारी बनेर देवालयमा बत्ती बाल्दै धूप सल्काउँदै विचरणमा चलायमान बनिरहेछ साउन ।

पृथक् पृथक् महादेशका आधुनिक महानगरमा पत्तै नदिई छाल मार्नपुग्छ हरियो साउन । हङ्कङ टोकियो सिङ्गापुर कतै पुग्दा पनि हामीले साउन खोजिरहनु पर्दैन, साउन आफैँ आउँछ नेपाली अनुहार पछ्याउँदै हरिया चुरापोते साडी चुनरीमा ढाकिएर अनि सिँगारका साधनमा सजिएर । मरुभूमिका पठारदेखि महानगरका कछारसम्म आफैँ खोजी खोजी आउने साउनलाई हामीले सोधीहिँड्नु पर्दैन । देश महादेशका कुना कन्दरा जहाँपुगे पनि साउनलाई नपाएर हामीले नियास्रो खप्नु पर्दैन । प्रवासको बासमा थुपुक्क छेउमा आएर लुटुक्क काखमा निदाउँछ कलिलो साउन । बैँस भरिएको साउन प्राचीन कामकलाका अनेकन खजुराहो अजन्ता इलोरा लिएर आफैँ हामीसँग गला मिलाउन र प्रेम साट्न आउँछ । रैथाने विदेशीलाई लोभ्याउँदै लच्छिनकी लक्ष्मी बनेर चितवन ढोरपाटनलगायत राष्ट्रिय निकुञ्जको कुञ्जमा वनविहार गर्दै आउँछ साउन । देशकाल र भूगोलका सीमा केहीले कहीँकतै छेकबार लगाउँदैन साउनको विचरणलाई । देख्ने ठाउँ कति कति अनि प्रकृतिभित्रै पढ्ने पुस्तकपात्रा पनि त्यस्तै अनगन्ती । आऊ साउन पढौँ हामी पनि । बागबगैँचा र अटव्य जङ्लका हाँगा पात र पालुवा पढौँ । अनि पढौँ लोखर्के, भालेमुङ्ग्रा, न्याउरीमुसा र पाहा भ्यागुता अनि अनेकथरी पुतली–कीरा फट्याङ्ग्राका कथा । गठेमङ्गल मञ्छने, बुझाउने र सर्प बिच्छीको पूजा गर्दै फेरि लगाएर आकाशपाताल बाँध्ने साउनका पूरा कथा हाम्रा आस्था विश्वासका सम्पदा । 

गमक्क गम्किएर गर्विलो चालढालमा टुप्लुक्क देखा पर्छ साउन । यसको पूर्वाङ्ग वर्णन गर्दै महाकवि कालीदासले एक महिनाअगाडि नै कविता लेखे ‘आषाढस्य प्रथम दिवसे ।’ भास अश्वघोष माघ दण्डी आदि पूर्वीय महाकविहरूले साउनकै बयानमा महाकाव्यका कैयौँ चरण लेखे । वेद, पुराण, महाभारत भ्याउँदै जिन्दवेस्ता र कुरानसम्म बादल वर्षा लिएर पुगेको छ साउन । कौरवका लाक्षागृह नजिकै बर्सिएको छ साउन । 

गीतकारहरूले समयलाई लट्ठाएर सुताउने यसैको गीत लेखे । लाटो निद्रामा सुतेको समयलाई बिउँझाउने अर्का जनकवि केशरी धर्मराज थापाले गीत लेखे । 


‘हरियो डाँडामाथि हलो जोत्ने साथी ।

हो हो माले हो हो हो हो तारे हो हो ।’

साउन आएर त डाँडाकाँडा हरिया भरिला देखिएका छन् । हलो, कोदाली, फाली, अनौ, हल्लुँडो, जुवा, फालीधरी खनखाँचो टार्ने मूल्यवान् माल बनेका छन् । अल्छी कामचोर गफास्टकका दिन गए र नै अनौ, हरिस, जोताराले भाउ पाएका छन् । ब्याड, बाउसे, रोपाहारमा अपार जाँगर र उत्साहको लहर छाएको छ । हिन्दी गानामा तराना भरेको छ साउनले । मुकेश गाउँछन् ‘सावनकी महिना पवन करे सोर, जियारारे झुमे ऐसे, जैसे वनमा नाचे मोर ।’ उर्दु सायरले पनि साउनको नाममा मनमाफिक सायरी लेखे । गजलकारले पनि गजलमा साउनका काफिया भरे । तरन्नूम खिपे । साउन आयो चारै दिशा मडारिँदै कुहिरो बादलले धर्तीलाई खास्टोभित्र लुकायो । खडेरीको अलच्छिनी तुँवालो बढारेर सहकालको रामराज्य जगायो । एकछत्र हरियाली खर्क बने खप्तड रामारोशनका पाटन । हनुमन्ते डाँडा र ट्याम्केका नागी हरिया भए । लेकाली बस्ती अनि अवलका बारी फाँट र सहरबजार हरियो खास्टोभित्र पसे । व्रत बस्ने, मन्दिर धाउने र आआफ्नो इच्छा अनुसार वर माग्ने किशोरीवृन्दको हलचल बढ्यो । सौन्दर्य प्रसाधनको प्रतिस्पर्धा माथिल्लो विन्दुमा पुग्यो, मानौ उतारचडावमा पिङ खेल्दै गरेको सेयर बजार सम्झाउँदै प्रसाधनको प्रतिस्पर्धामा पनि सर्किट ब्रेकको अवस्था आई नै गयो । खडेरीले खँगारिएको जङ्गली जन्तु जनावर र पाल्तु वस्तुभाउको ज्यानमा शीतल हावापानीको सञ्चार भयो । जीवन बाँचौँ र बाँचिरहूँ लाग्ने जिजीविषाले अत्यासिलो मान्छेभित्र त झन् बढी उत्साह भरियो । मौसमी दुष्चक्रको गतिले दुर्गतिको त्रास देखाउँदै गर्दा लामो समयको गर्मी खडेरीले ल्याएको अनिश्चितता भय र सन्त्रासका अनुभूतिको अन्त्य भयो । गच्छे अनुसार सुट्केस, कुम्लाकुटुरा बोकेर तीर्थ जाने टोली खडा पनि भए । उत्तरापन्थका बाढीपहिरोदेखि दक्षिणवर्ती समुद्री छालको पर्वाह नलिई देउता पितृ बुझाउने तीर्थयात्रामा सरिक बन्यो धर्मरक्षक नरलोक ।

हरियो पछ्यौरीमा अनुहार लुकाएर साउन आयो । उहिले द्वापर युगमा मोहनी अवतारमा ओर्लिएका कृष्णकै जादु ल्यायो । चट्याङ वर्षा बिजुली र बाढीको महामारी पनि साथै आयो । कतिपय बस्तीमा मानिस जनधन र यातायातका साधनदेखि घरखेत निमिट्यान्न बढारेर मानवीय सङ्कट पनि सँगै ल्यायो साउनले । स्वयम् कृष्णकै नगरी द्वारकालाई पेटभित्र हुलेर इतिहासकै वास्तुकलाको हुर्मत लियो बाढीले । खेतमा लगाउने कुला, मानिस हिँड्ने राजमार्ग, वारिपारि तर्ने पुलपुलेसा बगाउने जस्ता अनेकन विध्वंशकारी अभिषाप पनि सँगै बोकेर ल्यायो बाढीले । डाँडाकाँडा बढार्दै गडगडाएर आउने बाढीपहिरोले दुर्गमका गाउँबस्ती र चौपायासहित नरनारीका जीउज्यानमा क्षति पु¥याएर सखाप बनायो । त्यस्तै असती बाढीले उर्वर फाँट बगायो भने अर्कोतिर उर्वरा शक्तिको जादु पनि देखायो । नाङ्गा पहाडमा जमरा टुसा उमार्दै तराई हिमाल एकछत्त हरियाली ल्यायो । निर्वस्त्र बनाएर फाँडिएका डाँडापाखाका वनवुट्यानहरू एकाएक पालुवा, मुना भरेर पलाउँदै हरिया बने । उजाड पाखापखेरा खर, बन्सो उमारेर आफू फसलदार सफल जननी बनेको झाँकी देखाउन थाले । च्याउ, निगुरो, जटामसी, छऔँले, पाषणभेद आदि जडीबुटी उमार्दै हुर्काउँदै साउन आफैँ हरियो जादु खेल देखाउने तमासे बनेर उदायो । अनि त के चाहियो र जता हेर हरियाली मात्रै । पहाड, तराई भन्नु परेन जतासुकैका टार पाखा हरिया । टारी गलखेत केही भन्नु परेन, जहाँसुकै भए पनि खेतमा रोपाइँ गर्ने रोपाहार हरिया । रोपाहारले रोप्ने बिउ हरियो । रोपिसकेको रोपो हरियो । आलीका मास भटमास हरिया । भिरपाखा उत्तिकै उर्वर बने । बारी हरिया । टार, कान्ला, सुर्का हरिया । बाबियो, पटपटे, बन्सो, गन्दे, मुसेखरी झन् हरियो । घर, करेसाका छेउभित्ता छपक्क ढाकेर उम्रिने फूल, फलका लहरा हरिया । हलुवाबेत, आँप, नास्पाती, आरुका बोट हरिया । बोटमा लटरम्म परेर लर्किने फल हरिया । केराका काइँया, घरी, थाम सब हरिया ।

गाउँठाउँका पाखा चउरमा झारपात, लहरा अनि करु, जुनेलो, कागुनो, मकैमा सीमित रहेन साउन । खेतका धान बारीका मास र तिल गोड्ने, बेडाउने, छोडाउने कर्ममा मात्र पनि बाँधिएन साउन । बाढी र राहतका पोका पतेरामा पनि सीमित रहेन साउन । सहर पसेर यसले धोवीखोला, विष्णुमती, बागमती किनारका बस्तीमा बिछट्टै रैँदालो मच्चायो । बाढीले बेइजिङ, दिल्ली, बम्बई, मद्रासलगायतका महानगर डुबायो । बकैया बागमती पनि कोशीकै धमास दिँदै उर्लिए । हिले जात्राका पात्र जस्तै सहरभित्र पनि घरपसलमा पसेर धमिलो पानी छ्याप्दै र अन्नपात डुबाउँदै आतङ्क मच्चाएर हिँड्न थाल्यो बाढी तै पनि साउनको हरियो लाली अक्षत अमिट रहिरह्यो । पसल हरिया । चुरापोते सारी हरिया । मलिलो लेदोले खेतका गरा आली बने हरिया । बाढीले बगर ढाकेपछि मलिलो माटोमा हरियो काँस पलायो । चरीचरनमा रमाउने गाईभैँसी, घोडा, खच्चड सबैमा थेगिनसक्नु गरी हरियो आस पलायो । मानवलोकलाई सुख शान्ति दिलाउन अएको साउन तिमी, हामी, उनी सबैका आँखामा हरियो आभा छरेर चमचमायो । बस ।