• ९ मंसिर २०८१, आइतबार

स्वर्गीय बाबुआमाको स्मृतिमा अक्षयकोष स्थापना

blog

अक्षयकोषका लागि एक लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १७ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा निवासी एक परिवारका दिदीबहिनीले आफ्ना स्वर्गीय बाबुआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ। स्वर्गीय दम्पती दावा शेर्पा र लाक्पी शेर्पाका छोरीहरू दिकु लामा शेर्पा र जाङ्मु लामा शेर्पाले स्वर्गीय बाबुआमाको स्मृतिमा एक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो।

स्वर्गीय बाबुआमाको स्मृतिमा दिदी दिकु र बहिनी जाङ्मुले हाङ्देवास्थित श्री साङ्क देछ्योलिङ गोन्पा विद्यालयमा एक लाख रुपियाँको अक्षयकोष स्थापना स्थापना गर्नुभएको हो। आफ्ना बाबुआमाको स्मृति (सम्झना) मा छोरीहरूले विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएको हो। 

अक्षयकोष बराबरको चेक हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष दावा शेर्पालाई दिदीबहिनीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको छ।

थोरै रकमको अक्षयकोष भए पनि विद्यालयको विकास तथा त्यहाँ अध्ययनरत बालबालिकाको शैक्षिक उन्नति र प्रगतिमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको अक्षयकोषदाता दिकु लामाले बताउनुभयो। यता विद्यालयको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएकोमा अक्षयकोषदाता दिदीबहिनीप्रति विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरिएको प्रधानाध्यापक पासाङरिता शेर्पाले बताउनुभयो।