• १२ असोज २०८१, शनिबार

धार्मिक पर्यटनको विकास गर्नु पर्छ : मुख्यमन्त्री कार्की

blog

सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यव्रmम सार्वजनिक गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित । तस्बिर : प्रेम अधिकारी

पशुपतिनगर समाचारदाता

पशुपतिनगर, साउन १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । 

उहाँले वराहक्षेत्रको चतरा, रामधुनी, अर्जुनधारा, पाथीभरा जस्ता धार्मिक र अनेकाँै सांंस्कृतिक स्थल रहेको कोशी प्रदेशमा धार्मिक पर्यटनको विकास गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “राष्ट्रिय पुँजीको विकास गर्नका लागि पर्यटकीय गन्तव्यलाई बेच्न सक्नु पर्छ ।” उहाँले उत्पादनमा जोडिएर राष्ट्रिय पुँजीको निर्माणमा लाग्न आग्रहसमेत गर्नुभयो । मुख्यमन्त्री कार्कीले आफ्नै पालामा कोशी प्रदेशलाई आर्थिक दृष्टिकोणले उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यव्रmममा कोशी प्रदेशका पूर्वआन्तरिक तथा कानुनमन्त्री शमशेर राईले तिनै तहका सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो । 

सूर्योदय नगरपालिकाले बर्सेनि साउन १५ गते बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । सार्वजनिकीकरण कार्यक्रममा विभिन्न क्षेत्रबाट नगरको विकास गर्ने २६ जनालाई सम्मान गरिएको छ । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्य प्राप्त गर्ने गरी नगरले काम गरिरहेको जानकारी दिनुभयो । 

महालेखा परीक्षकको कार्यालयको ६१ औँ प्रतिवेदनमा इलामका १० पालिकामध्ये सूर्योदय नगरपालिका सबैभन्दा कम बेरुजु भएको पालिकामा परेको जानकारी दिँदै आगामी दिनमा बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । आव २०७९/८० को महालेखाको प्रतिवेदन अनुसार सूर्योदयको बेरुजु ०.०७ प्रतिशत मात्र छ । 

आव २०८१/८२ का लागि सूर्योदयको कुल बजेट एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सय रुपियाँ रहेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । गत आव आर्थिक विकास र सुशासनतर्फ सूर्योदय नगरपालिका देशकै पहिलो भएको थियो ।