• २ माघ २०८१, बुधबार

विस्थापितको अवस्था दयनीय छ : सांसद रोकाय

blog

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कुरा राख्नु हुँदै राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन १५ गते। नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले मनसुनजन्य विपद्का कारण विस्थापित भएका परिवारको अवस्था दयनीय रहेको बताउनुभएको छ। 

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको बाढीपहिरो प्रभावितस्थलको स्थलगत निरीक्षण र प्रभावित परिवारसँग भेटघाटपछि सांसद रोकायले उनीहरूको अवस्था थप कष्टकर बन्दै गइरहेको बताउनुभयो। उनीहरूलाई खाद्यान्न, आवास, खानेपानी लगायतका समस्या रहेको उहाँले जनाउनुभयो। 

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा उहाँले अप्ठ्यारो अवस्थामा दैनिकी गुजारिरहेका बाढी पहिरो प्रभावितको लागि सबै निकाय एक भएका काम गर्नु आवश्यक भएको उहाँको भनाइ छ। 

उहाँले सम्भव भएसम्म जोखिम बस्तीको नजिकमा तालिम प्राप्त सशस्त्र प्रहरीको युनिट राख्न सुझाव दिनुभयो। आठबिसकोटको वडा नम्बर ९, ११ र १२ का ४० परिवार विभिन्न उद्योगमा आश्रय लिएर बसेकाले उनीहरूको आवास र खाद्यान्नको पक्षमा गम्भीर हुन अनुरोध गर्नुभयो। 

त्रिपालले विस्थापित परिवारलाई जोगाउन असम्भव रहेकोले टेन्टको आवश्यकता रहेको र माथिल्लो निकायमा आफूले पनि पहल गर्ने उहाँको भनाइ छ। सांसद रोकायले भूकम्प प्रभावित लाभग्राहीको अस्थायी आवास निर्माण वापत सरकारले दिने भनेको अनुदान रकमको बारेमा सरकारका गृहमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराएको र निकासा पठाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो।