घोराही (दाङ), साउन १४ गते । जिल्लाको गढवा गाउँपालिका-४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो । उहाँले हरेक वर्ष घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्नुहुन्छ ।
हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताउनुभयो । “लामो समयदेखि भैँसी पालनसँगै व्यापार पनि गर्दै आएको छु । अहिले वार्षिक ३० देखि ३५ लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “घरमा पनि सधैँ दुई÷चार वटा भैँसी भइरहने भएकाले दूध, दही बिक्रीबाट पनि आर्यआर्जनमा सहयोग पुगेको छ ।” देउखुरी क्षेत्रबाट आफूसहित अन्य व्यापारीले पनि यहाँ दुहुना भैँसी बिक्रीका लागि ल्याउने गरेका मुसलमानले जानकारी दिनुभयो ।
कटुवा खोलाबाट एक सय प्रतिलिटरका दरले दैनिक दूधसमेत बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अन्य समयमा भन्दा असार, साउनमा बढी भैँसी बिक्री हुँदै आएको मुसलमानको भनाइ छ । “यो वर्ष १२ वटा भैँसी बिक्री भइसकेका छन्”, उहाँले भन्नुभयो, “यहाँ ल्याइएका भैँसी बिक्री गरेर सकियो भने फेरि देउखुरी लिन जाने गर्छौ । बुबाबाजेले गर्दै आएको भैँसीपालन पेसालाई निरन्तरता दिँदै आएका हौँ ।”
मुसलमानले एउटा भैँसीको ६० हजारदेखि दुई लाखसम्म पर्ने बताउनुभयो । उहाँका अनुसार कटुवाखोला किनारमा भैँसी किन्न दाङका साथै रोल्पा, प्युठान, सल्ल्यान, रुकुमलगायत जिल्लाबाट ग्राहक आउने गरेका छन् । वार्षिक ३० देखि ३५ लाखसम्मको कारोबार हुने गरेको बताउँदै उहाँले सबै खर्च कटाएर पाँच लाख बढी आम्दानी हुने गरेको जानकारी दिनुभयो । घरका अन्य सदस्यले घरपालुवा पशुको हेरचाह गर्ने मुसलमानको भनाइ छ । उहाँले छ महिना घरबाट र छ महिना घोराहीमा आएर भैँसी बेच्ने गर्ने गरेको सुनाउनुभयो ।
दाङको गढवा गाउँपालिका-४ बाट मात्रै अहिले २० जनाबढी व्यापारी घोराही आएर भैँसीको व्यापार गर्नुहुन्छ । मुसलमानले ‘रोशनी पशु खरिद बिक्री केन्द्र तथा पशु फार्म’ दर्ता गरी भैँसीको व्यावसायिक व्यापार गर्दै आउनुभएको हो । लामो समयदेखि पशुपालन क्षेत्रमा लाग्नुभएका उहाँले आयआर्जन राम्रो हुँदै गएको बताउनुभयो । देउखुरी क्षेत्रको राजपुर, राप्ती, गढवालगायत क्षेत्रका अधिकांश किसानले व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका छन् । रासस