• ८ मंसिर २०८१, शनिबार

भूमिगत पानी सुक्न थालेपछि पोखरी

blog

ललित बसेल

सुर्खेत, साउन १४ गते । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि उत्तरी जलाधार क्षेत्रतर्फ पानी पोखरी बनाउन थालिएको छ । पानी जम्मा पारी पानीको स्रोत बढाई तल्लो जलाधार क्षेत्रमा पानीको अभाव कम गराउनका लागि माथिल्लो क्षेत्रमा पानी पोखरी बनाउन थालिएको हो । 

भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ३० वटा पानी पोखरी निर्माण गरिसकेको छ । चालु आवमा पानी पोखरी बनाउनका लागि एक करोड रुपियाँ बजेट विनियोजन भएको छ । त्यसका साथै आवश्यकताका आधारमा र पुराना पोखरी संरक्षण गर्नका लागि भनी थप ५० लाख रुपियाँ बजेट पनि विनियोजन भएको छ । कार्यालयका डिभिजनल जलाधार व्यवस्थापन अधिकृत शिखर चपाईंले भूमिगत पानीको स्रोत सुक्दै गएपछि पानी पोखरी बनाउन थालिएको जानकारी दिनुभयो । 

गत आवमा १५ लाख रुपियाँको बजेटमा वीरेन्द्रनगर नगरपालिका–१५ मा ‘एक घर एक पोखरी’ को अवधारणा अनुसार २७ वटा पानी पोखरी बनाइएको उहाँले बताउनुभयो । यस्तै वीरेन्द्रनगर नगरपालिका–४ को खोर्के र वीरेन्द्रनगर–१० को केरेनी खोला तथा जाजरकोटको छेडागाड नगरपालिका–३ मा ठुला पानी पोखरी निर्माण गरिएका छन् । उहाँका अनुसार ती पानी पोखरी बर्खाको पानीले भरिएका छन् । 

बर्सेनि वीरेन्द्रनगर उपत्यकामा भूमिगत पानीको स्रोत घट्दै गएको छ । जथाभाबी डिप बोरिङ खन्ने प्रचलन, विकासका नाममा डोजरे काम, वन विनाश तथा जलवायु परिवर्तनको असरले पानीको सतह घट्दै गएकाले वीरेन्द्रनगर नगरपालिका–१, ४, ५, ७ र १२ का उत्तरी जलाधार क्षेत्रमा पानी पोखरी बनाइएको अधिकृत चपाईंले बताउनुभयो । यस वर्ष पनि पानी पोखरी तथा पानी पुनर्भरण संरचना ड्याम बनाइने छ । सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा त्यस्तै खालका संरचना निर्माण गरिने भएका छन् । 

पानीको सतह कम भएपछि बुलबुले तालको प्राकृतिक धारामा पानी आउन छोडेको छ । बाहिर पानी ल्याउनका लागि धाराभित्र पाइप लगाइएको छ । साउनको बर्सातमा पनि बुलबुलेमा पानीको सतहमा वृद्धि हुन सकेको छैन ।