• १३ साउन २०८१, आइतबार

गोरखामा पहिरोमा परी एकै घरका ३ जना सहित ४ बेपत्ता, दुई घाइते

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ सिङला स्थित रेसेगाउँमा एकै घरका ३ जना सहित पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् । रेसेगाउँमा कृषि फार्म र नजिकै रहेको घरमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका हुन् ।

 पहिरोले एक घर र गोठ बगाउँदा धार्चे गाउँपालिका – ५ रेसेगाउँमा बस्ने ३७ वर्षीय जीतबहादुर गुरुङ, जीतबहादुर गुरुङको श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, जीतबहादुर गुरुङको बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ र सोहि ठाउँ बस्ने कामदार ३३ वर्षीय रमेश गुरुङ, बतन नखुलेका सोही फार्ममा ट्याक्टर चालकको रूपमा काम गर्ने २४ वर्षीय रमेश परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिरोमा पुरिएर घाइते भएका सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र  फार्ममा कामदारको रूपमा काम गर्दै आउनुभएका खमबहादुर गुरुङलाई सामान्य चोटपटक लागेको उहाँले बताउनुभयो । 

प्रहरी चौकी माछी खोलाबाट गएको प्रहरी टोली र लाप्राकबाट गएको प्रहरी टोलीले उद्धार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।