• १३ साउन २०८१, आइतबार

विपत्बाट नौ जनाको मृत्यु

blog

रजनी योगी

सुर्खेत, साउन १३ गते । पछिल्लो दुई साताको अवधिमा मात्रै कर्णाली प्रदेशमा प्राकृतिक विपत्बाट नौ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत २८ जेठयता विपत्का घटनाबाट नौ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । 

मनसुन सुरु भएयता प्रदेशका विभिन्न स्थानमा बाढीपहिरोलगायतका विपत्मा परेर ठुलो सङ्ख्यामा मानवीय क्षति भएको छ । यो खालको क्षति हरेक वर्षको बर्सातको समयमा हुने गरेको छ । मानवीय क्षतिका साथसाथै ठुलो मात्रामा भौतिक क्षति हुँदै आएको छ । बाढीपहिरो, चट्याङलगायतका विपत्ले बर्सेनि सताउने गरेको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने कर्णाली प्रदेशमा प्राकृतिक विपत्को क्षतिको अवस्था निकै भयावह देखिन्छ । हरेक वर्ष धनजनको निकै ठुलो मात्रामा ज्यान गुमाइरहेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेशभर ८८२ वटा प्राकृतिक विपत्का घटना भएका थिए । त्यसको अर्को वर्ष अर्थात् आव २०७६/७७ मा ९०२ वटा घटना भएका थिए ।

त्यसै गरी आव २०७७/७८ मा भने कर्णालीमा ४१६ विपत्का घटनाबाट ८८ जनाले ज्यान गुमाएका छन् । आव २०७८/७९ मा एक हजार २१५ वटा विपत्का घटनाबाट ६८ जना व्यक्तिले अनाहकमै मृत्युवरण गर्नु प-यो । आव २०७९/८० मा दुई हजार २१४ घटनाबाट ७२ जनाको ज्यान गएको थियो । गएको आव २०८०/८१ मा भने ७३३ विपत्का घटना प्रदेशभर भएको तथ्याङ्क कर्णाली प्रदेश प्रहरी कार्यालयको छ । प्रहरीका अनुसार गत वर्ष यस्ता घटनामा परेर १९४ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय विपत्का घटना कम भए पनि मानवीय क्षति बढी हुने गरेको देखिन्छ । मानिसको ज्यान जाने गरी हुने अधिकांश विपत्का घटना बर्सातको समयमा हुने गरेका छन् । मनसुन लागेसँगै बाढीपहिरो, चट्याङलगायतका घटनाले धेरै क्षति गर्ने गरेको छ । आव २०७७/७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यसै गरी आव २०७८/७९ मा १७ जना तथा आव २०७९/८० मा ४० जनाको मृत्यु भएको थियो । आव २०८०/८१ मा छ जनाको पहिरोमा परी ज्यान गएको छ ।

यसै गरी प्रदेशमा विगत चार वर्षमा चट्याङ लागेर २१ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रहरीको तथ्याङ्क हेर्दा बर्सेनि चट्याङका घटना पनि बढिरहेका छन् । आव २०७७/७८ मा चट्याङ परेर सात जनाको मृत्यु भएको थियो । आव २०७८/७९ मा छ जनाको मृत्यु भयो । त्यसै गरी आव २०७९/८० मा तीन जनाको मृत्यु भयो भने आव २०८०/८१ मा पाँच जनाको मृत्यु भएको छ । प्रदेशमा मनसुनजन्य विपत्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ । 

चार जनाको मृत्यु कैयौँ परिवार विस्थापित

यसैबीच मुसीकोट समाचारदाताका अनुसार मनसुनजन्य विपत्का कारण रुकुमपश्चिममा चार जनाको मृत्यु भएको छ भने २६९ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासनका कार्यालयले सार्वजनिक गरेको विपत् बुलेटिनका अनुसार हालसम्म विपत्का कारण आठबिसकोट नगरपालिका–१२ मा एक पुरुष र तीन जना महिलाको मृत्यु भएको छ । 

त्यसै गरी बाढीपहिरोका कारण आठबिसकोट, मुसीकोट नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिकाका २६९ घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार आठबिसकोट नगरपालिका–९, १०, ११, १२, १३ र १४ का २५० घरधुरी, बाँफिकोट गाउँपालिका–९ का चार घरधुरी बाढीपहिरोको उच्च जोखिमका कारण विस्थापित भएका छन् । त्यसै गरी मुसीकोट नगरपालिका–१, २, ५ र १४ का छ घरधुरी र सानीभेरी गाउँपालिकाका–७ र ८ का नौ घरपरिवार विस्थापित भएका छन् । 

आठबिसकोटका विस्थापित परिवारलाई वडा नम्बर ११ र १२ को कर्णाली बेभरेज, काष्ठ उद्योग र वृद्धाश्रममा राखिएको छ भने अन्य विस्थापित आफन्तको घरमा आश्रय लिएर बसेको सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो । सानीभेरीका आठ विस्थापित परिवारलाई स्थानीय बालकल्याण आधारभूत विद्यालयको भवनमा राखिएको छ । 

उहाँका अनुसार विपत्जन्य घटनामा परेर आठबिसकोटमा एक वटा भैँसी र सानीभेरीमा तीन वटा बाख्रा मरेका छन् । त्यसै गरी जिल्लाभर १५ वटा घर पूर्ण क्षति, तीन वटा आंशिक क्षति भएका छन् भने १२ वटा उद्योग र एक विद्यालयमा पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।