सहरी वन विकासका क्रममा राणा प्रधानमन्त्री चन्द्रशमशेर र जुद्धशमशेरको पालामा काठमाडौँ उपत्यकाका केही सडक किनारा र दरबार परिसरमा मङ्कीपजल (काँडे सल्ला), मसला, रुखकमललगायत विदेशी प्रजाति र खोटे सल्ला, देवदार जस्ता स्वदेशी प्रजातिका बिरुवा रोपिएका थिए ।
विश्वसँगै नेपाल पनि सहरीकरणको दौडमा अगाडि बढिरहेको छ । यहाँ जनसङ्ख्याको ठुलो हिस्सा सहरमा बसोबास गर्छन् । वरपरका ग्रामीण बस्तीबाट तीव्र रूपमा सहरमा बसाइँसराइ भइरहेको छ । फलस्वरूप, पहाडी क्षेत्रका ग्रामीण बस्ती पातलिँदै गएका छन् र कतिपय पहाडी जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुन पुगेको छ ।
विसं २००९–११ को जनगणनामा देशको कुल जनसङ्ख्याको २.९ प्रतिशत सहरी जनसङ्ख्या रहेकोमा २०७८ को जनगणनामा यो ६६ प्रतिशत पुगेको छ । नेपालमा नगरपालिकाको जनसङ्ख्याको आधारमा सहरी जनसङ्ख्या कायम गरिएको छ । विसं २००९–११ मा नगरपालिकाको सङ्ख्या १० रहेकोमा हाल २९३ पुगेको छ ।
हुन त कतिपय ग्रामीण चरित्रका क्षेत्र पनि नगरपालिकाको क्षेत्रभित्र परेपछि सबै क्षेत्र सहर र सोभित्रका सबै वन सहरी वन नै मानिन्छन् । सहरी क्षेत्रका प्राकृतिक वा निजी तथा सरकारी तवरबाट लगाइएका सडक छेउ, सडकबिच, नदी किनार, कार्यालय परिसर, निजी जग्गा, पार्क, बगैँचा तथा सहर वरपरका क्षेत्रमा रहेका वन, रुख, झाडी सबैलाई सहरी वन बुझिए पनि यस आलेखमा नगरपालिका भित्रका सहरी विशेषता भएका क्षेत्रलाई मात्र समेटिएको छ ।
नेपालमा सहरी वन शब्द नौलो भए पनि अवधारणा भने नौलो होइन । यसको विकासमा धेरथोर प्रयास नभएका पनि होइनन् । सहरका जनताको स्वास्थ्य र सौन्दर्यलाई ध्यान दिई सडक छेउछाउ, नदी किनार, पानीपँधेरा, मठमन्दिर, सार्वजनिक स्थल र अन्य स्थानमा पहिलेदेखि नै रुखहरू रोपी हुर्काउने गरिन्थ्यो । साथै, निजी जग्गामा पनि सौन्दर्यमूलक तथा फलफूलका रुखबिरुवा लगाउने चलन थियो । समग्रमा भन्नु पर्दा हालसम्म पनि यस्ता वनलाई सहरी वन नभनी बगैँचा, उद्यान, पार्क, वाटिका, वन, हरित पेटी जस्ता नामबाट सम्बोधन गरिन्छन् ।
मानव सभ्यताको विकासमा वनको महìवपूर्ण भूमिका रहिआएको छ । घना र धेरै जनसङ्ख्या भएका सहरी क्षेत्रमा त यसको महìव अझ बढी छ । नेपालमा सहरीकरणसँगै सहरी वनको दायरा पनि फराकिलो बनेको छ । देशको समृद्धि वातावरणीय पक्षसँग पनि गाँसिएको हुन्छ र वातावरण संरक्षणमा वनको अहम् योगदान रहन्छ । पहिला पहिला सहरी वनलाई सौन्दर्यसँग मात्र जोडेर हेरिन्थ्यो भने हाल वातावरणीय, सामाजिक, आर्थिक एवं सार्वजनिक स्वास्थ्यसँग पनि सम्बन्धित मानिन्छ ।
सहरी वनले सहरबासीलाई प्राकृतिक वातावरण दिनुका साथै सौन्दर्य बढाउँछ, मनोरञ्जन दिन्छ, पर्यटकलाई आकर्षित गर्छ । जलवायु परिवर्तनका असर न्यूनीकरण, वायुको तापक्रम नियन्त्रण, मानव स्वास्थ्यमा सकारात्मक प्रभाव, कार्बन सञ्चिति, बाढीपहिरो तथा भूक्षय नियन्त्रण पनि गर्छ । साथै नदी नियन्त्रण, धुलोधुँवा जस्ता प्रदूषक पदार्थको शोषण, ध्वनि प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण, काठ÷दाउरा÷फलफूल एवं जडीबुटीलगायतका वन पैदावार आपूर्ति, रोजगारी सिर्जना, अध्ययन अनुसन्धानलगायत कार्यमा योगदान पुर्याउँछ ।
रुखबिरुवा वायुमण्डलको कार्बन सोस्ने र सञ्चित गर्ने एवं प्रदूषण घटाउने सबैभन्दा सस्ता, सरल र प्रभावकारी मेसिन हुन् । हावा छान्ने हुँदा रुखबिरुवालाई फोक्सोसँग पनि दाँज्न सकिन्छ । अतः सहरी वनले सहरबासीलाई विविध वस्तु तथा सेवा प्रदान गरी उनीहरूको जीवनस्तर सुधार्न उल्लेख्य सहयोग पुर्याउँछ ।
सहरी वन विकासका प्रयास
सहरी वन विकासका क्रममा राणा प्रधानमन्त्री चन्द्रशमशेर र जुद्धशमशेरको पालामा काठमाडौँ उपत्यकाका केही सडक किनारा र दरबार परिसरमा मङ्कीपजल (काँडे सल्ला), मसला, रुखकमललगायत विदेशी प्रजाति र खोटे सल्ला, देवदार जस्ता स्वदेशी प्रजातिका बिरुवा रोपिएका थिए । सन् १९७० को दशकमा भृकुटीमण्डप र टुँडिखेल वरिपरि, माइतीघर– तीनकुने सडकखण्ड, कोटेश्वर–सूर्यविनायक सडकखण्ड तथा चक्रपथको दायाँबायाँ ठुलो सङ्ख्यामा लहरेपिपललगायत प्रजातिका बिरुवा रोपिए । त्यसपछि पनि देशका विभिन्न सहरी क्षेत्रमा निरन्तर वृक्षरोपण भइरहेको छ । वृक्षरोपणका लागि वन तथा वातावरण मन्त्रालय मातहतका निकायबाट दशकौँ अघिदेखि निःशुल्क बिरुवा वितरण गर्नुका साथै हाल आएर निजी नर्सरीबाट समेत प्रशस्त बिरुवा आपूर्ति भइरहेका छन् ।
विगत १०–१२ वर्षअघिदेखि काठमाडौँ उपत्यकाका कोटेश्वर–सूर्यविनायक, कुपन्डोल– जावलाखेल, माइतीघर–तिनकुने, कोटेश्वोर–कलङ्कीका सडक किनारा र बिचमा, बागमती-विष्णुमति-धोवीखोला किनारमा रोपिएका बिरुवाले आज सहरका शोभा बढाएका छन् । उक्त क्षेत्रको यात्रा गर्दा मन नै आनन्दित हुन्छ । सो क्षेत्रमा शमी, क्यालियान्ड्रा, कल्कीफूल, चिनियाँ कल्की, करवीर, गोल्डेन धूपी, असारे फूल, जाकारांडा, जापानी असारे, टेकोमा, कपुर, गुलाबजामुन, कनिके, रुखकमल, नीलकाँडा लगायत प्रजातिले सडक ढकमक्क बनाएका छन् ।
काठमाडौँ उपत्यका बाहिर पनि भद्रपुर, विराटनगर, इटहरी, लाहान, जनकपुर, वीरगन्ज, हेटौँडा, भरतपुर, पोखरा, बुटवल, भैरहवा, नेपालगन्ज, वीरेन्द्रनगरलगायत देशका धेरै सहरमा सहरी वन विकासका कार्यक्रम सञ्चालित छन् । यिनमा हेटौँडा, लाहान, इटहरी आदिमा रोपिएका अशोक प्रजातिका रुखले बजारको सौन्दर्य बढाएका छन् ।
सहरी वन विकासमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्थानीय निकाय, निजी क्षेत्र, धार्मिक संस्था, वन उपभोक्ता समूह, शैक्षिक तथा वित्तीय संस्था, नागरिक समाज, टोल सुधार समिति, क्लबलगायत सरोकारवालाको सहभागिता बढेर गएको छ । नेपाल सरकारको वन दशक कार्यक्रम (२०७१–२०८०) अन्तर्गतको ‘एक नगर अनेक उद्यान’ कार्यव्रmमले पनि सहरी वन प्रवर्धनमा बल पुर्याएको छ । त्यसै गरी, वन ऐन, २०७६ मा पनि सहरी वनको विकास र व्यवस्थापनको प्रावधान समावेश गरिएको छ ।
समस्या
अव्यवस्थित सहरीकरण एक राष्ट्रिय समस्याको रूपमा देखिएको छ । नेपालमा सहरीकरणको गति तीव्र भए पनि स्तर न्यून छ । वायु, जल, जमिन, ध्वनि प्रदूषण सहरी क्षेत्रमा बढी छ । विश्वका केही प्रदूषित सहरमध्ये काठमाडौँ पनि एक भएको छ । समग्रमा हेर्दा देशमा वनक्षेत्र केही बढेको भए पनि सहरी हरियाली भने कम छ र यससम्बन्धी भएका कार्य पनि त्यति व्यवस्थित छैनन् । हाम्रा सहरहरूले मनोरम हावापानी र उब्जिलो जमिनका कारण सुन्दर र हराभरा हुन सक्ने प्रशस्त सम्भावना बोकेका भए पनि जहाजी दृश्यबाट हेर्दा विश्वका कतिपय सहर सुन्दर बगैँचा जस्ता देखिन्छन् भने हाम्रा धेरै सहर कङ्व्रिmटका जङ्गल जस्ता देखिन्छन् ।
‘गह्रो बन्ने जग्गामा घर भए पनि घर अन्य जग्गामा सारी कुलो खनी आबाद गर्नु’ भन्ने पृथ्वीनारायण शाहले दिव्योपदेशममा उल्लेख गरेका छन् तर आज धान फल्ने उर्वर खेतमा भवन ठडिएका छन् । देशका सहरी वनसम्बन्धी सूचना एकीकृत छैनन् । विकसित राष्ट्रले सहरी वनलाई योजना अनुरूप व्यवस्थापन गरे पनि नेपालमा त्यस्तो हुन सकेको छैन । सहर भित्रका राष्ट्रिय वन, संरक्षित क्षेत्र र निजी वनबाहेकका सहरी वन हेर्ने स्पष्ट जिम्मेवारीसहितको कुनै निकाय छैन । सहरी वन कार्यक्रम सञ्चालन गर्ने केही निकाय जस्तै वन तथा वातावरण मन्त्रालय मातहतका निकाय, स्थानीय निकाय र सडक विभाग भए पनि नेतृत्वदायी भूमिका कसैको पनि तोकिएको छैन । सरोकारवाला बिचको समन्वय पनि कमजोर छ ।
सहरका कतिपय स्थानमा जसले पायो त्यसले, जहाँ पायो त्यहीँ, जे पायो त्यही प्रजाति, जसरी पायो त्यसरी, जत्रा पायो त्यत्रा साइजका बिरुवा रोप्ने गरिएका छन् । अस्थायी प्रकृतिका संस्थाले रोपेका केही स्थानमा बिरुवाको संरक्षण र व्यवस्थापनको जिम्मा लिने कोही नभएर बेवारिसे जस्ता बनेका छन् । अत्यन्त साँघुरा फुटपाथमा समेत बिरुवा रोपिनुका साथै सडक बिचमा पनि पिपल, फलेदो, काँगियो जस्ता ठुला साइजका प्रजातिका बिरुवा रोपिएका देखिन्छन् । कतिपय रुखले तार छोएका छन् भने कतिले दृष्टि रोक्ने जस्ता समस्या ल्याएका छन् । रोपेपछि बिरुवाको सिँचाइ, संरक्षण र व्यवस्थापनमा कम ध्यान पुग्ने गरेको छ । चाहेका र उपयुक्त प्रजातिका बिरुवाको सहज उपलब्धताको पनि कमी रहेको छ । बिरुवा मरेका ठाउँमा पुनः रोपणको कार्य प्रभावकारी छैन । अध्ययन, अनुसन्धान र विषयगत विज्ञताको कमी देखिन्छ । अनुगमनमा पनि अपेक्षाकृत ध्यान पुगेको छैन । यसरी सहरी वन विकासको कार्यमा कुशल योजना, कार्यदिशा, बलियो इच्छाशक्ति तथा सबैको अपनत्वसहित साझा सहभागिताको खाँचो देखिन्छ ।
सुझाव
देशका मौजुदा र सम्भाव्य सहरी वनको सूचना एकीकृत गरिनु पर्छ । सहरका कस्ता ठाउँमा कुन प्रजातिका र कुन साइजका बिरुवा रोप्ने भन्नेबारे स्पष्ट मापदण्ड तयार गरिनु पर्छ । दीर्घकालीन सोचबिना रोपिएका रुखले फाइदाभन्दा समस्या बढी पार्न सक्छन् । पालिकाको योजनामा हरियाली प्रवर्धनका कार्यव्रmमलाई प्राथमिकतामा राखिनु पर्छ । सरोकारवालाको सहकार्यमा वृक्षरोपण, संरक्षण, व्यवस्थापन र आर्थिक, सामाजिक एवं स्वास्थ्यसँग सम्बन्धित विषय समावेश गरी योजना तर्जुमा गरिनु पर्छ ।
सहरी वातावरण संरक्षण गर्ने कार्य कुनै एक्लो निकायबाट मात्र सम्भव नभएकाले यसमा विभिन्न सरोकारवालाको सहकार्यको आवश्कयता पर्छ । सहरी वन विकासका लागि वन तथा वातावरण मन्त्रालय मातहतका निकाय, स्थानीय तह, सडक विभाग, पुष्प व्यवसायीलगायत सरोकारवालाको प्रतिनिधित्व हुने गरी एक ‘सहरी वन विकास समिति’ गठन गर्नु पर्छ । त्यसमा कुनै एक निकायलाई नेतृत्वदायी जिम्मेवारी तोकिनु पर्छ ।
ठिक ठाउँमा उचित प्रजातिको बिरुवा रोपिनु पर्छ । गलत ठाउँमा गलत प्रजाति रोपिएमा फाइदाभन्दा घाटा बढी हुन्छ । प्रजाति रोज्दा वृक्षरोपणस्थलको प्रकृति र बिरुवाका प्रजातीय गुण (पतझड-सदाबहार, वृद्धिदर, सम्भाव्य उचाइ, आकार, रङ, फूल, फल, जराको फैलावट, छत्रको प्रकृति, रोग प्रतिरोध क्षमता, घच्चा सहन सक्ने क्षमता) तथा तलमाथि दायाँबायाँका उपलब्ध स्थानलगायत पक्षमा ध्यान दिनु पर्छ । वृक्षरोपण गर्दा सम्भव भएसम्म स्थानीय प्रजाति नै रोज्नु उचित हुन्छ
सहरी वन विकासका सम्भावित क्षेत्र सडक किनार, सडक बिच, खोला किनार, सामुदायिक-धार्मिक-कबुलियती वन क्षेत्र, संरक्षित क्षेत्र, धार्मिक क्षेत्र, सार्वजनिक क्षेत्र, कार्यालय-स्कुल-अस्पताल-वित्तीय संस्था भवन परिसर, निजी जग्गालगायत हुन् । सहरी क्षेत्रमा बिरुवा रोप्ने र हुर्काउने कार्य कठिन कार्य हो । यसमा अन्यत्रभन्दा विशेष ध्यान पुर्याउनु पर्छ । वृक्षरोपण पछि बिरुवालाई मानिस, पशु, रोगकिरा, डढेलो आदिबाट संरक्षण गर्नु पर्छ । साथै, आवश्यकता अनुसार तारवार वा ट्री–गार्ड, हेरालुको व्यवस्था गरी नजिकका सरोकारवाला वा समूहलाई जिम्मा दिनु पर्छ । बिरुवा नजिकका बासिन्दालाई बढी जिम्मेवार बनाउनु सबभन्दा प्रभावकारी हुन्छ । सहरी क्षेत्रमा ठुलो सम्भावना बोकेको कौसी खेतीलाई पनि प्रवर्धन गर्नु पर्छ । यसका लागि थप प्रचारप्रसारको अवश्यकता छ ।