• ३ असार २०८१, सोमबार

अक्षय तृतीयाको शास्त्रीय महत्त्व

blog

वैशाख शुक्ल तृतीयालाई अक्षय तृतीयाका नामले जानिन्छ । तिथिहरूमध्येको उत्तम तिथिका रूपमा लिइने भएकाले यो दिन अक्षय तृतीयाका नामले चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले कुनै पनि व्रत, उत्सव तथा पर्व मनाउँदा त्यसको ऐतिहासिक महìव तथा सन्दर्भलाई लिएर मनाउने गरेको देखिन्छ । कुनै पनि व्रत तथा उत्सवका लागि विशेष कालको निर्धारण धर्मशास्त्रीय नियम र विधानअनुसार गर्ने गरिन्छ । सामान्यतया कुनै पनि व्रत तथा उत्सवको प्रारम्भ तथा अन्त्य गर्दा विशेष काल तथा समयमा गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । वसन्त ऋतुको उत्तरार्धमा पर्ने यो पर्व महìवपूर्ण र ऐतिहासिक दृष्टिले पनि प्राचीन पर्व हो । हाम्रा धर्मशास्त्रीय ग्रन्थमा चैत र वैशाखलाई मधु र माधवको नामले जानिन्छ ।

दुवै शब्द मधुबाट बनेका हुन् । मधुको अर्थ एक प्रकारको रस हो, जसले वृक्ष, लता तथा प्राणीलाई मत्त बनाउँछ भन्ने अर्थ निरुक्तमा गरिएको छ । त्यस्तो किसिमको विशेष रस जुन ऋतुमा प्राप्त हुन्छ, त्यो ऋतुलाई वसन्त भनिएको हो । यो ऋतुमा पानी नपर्दा पनि वृक्ष, लता आदि फुल्न थाल्छन् । प्राणीहरूमा मदन–विकारको प्रादुर्भाव हुन्छ । क्षीरस्वामीले यही कारणले गर्दा वसन्त शब्दको अर्थ ‘वसन्त्यस्मिन् सुखम्’ अर्थात् जसमा प्राणीहरू सुखपूर्वक रहन्छन् भनेका छन् । यसको तात्पर्य यो ऋतुमा जीवजन्तु मात्र होइन, वृक्ष, लता आदिलाई पनि आल्हादित गर्ने मधुरस प्रकृतिद्वारा प्राप्त हुने भएकाले यसलाई वसन्त भनिएको हो । वसन्त ऋतुको उत्तरार्धमा पर्ने यो समय कृषिप्रधान क्षेत्र भारत वर्षमा हिउँदे बाली भिœयाएर वर्षे बाली लगाउने समय पनि हो ।

अक्षय तृतीयाको निर्णय गर्दा जुन दिन चतुर्थीले युक्त तृतीया छ, त्यही दिनलाई अक्षय तृतीयाका रूपमा लिनुपर्ने शास्त्रीय विधान रहेको छ । अर्को दिन सूर्योदयपछि छ घडीभन्दा कम तृतीया तिथि भएको अवस्थामा पहिलो दिन नै अक्षय तृतीया मान्नुपर्ने कुराको उल्लेख धर्मसिन्धुमा गरिएको छ । यसै दिन बुधबार, सोमबार र रोहिणी नक्षत्र भएको अवस्थामा अझ फलदायी मानिएको छ । रोहिणी तथा सोम–बुधबारका लागि पूर्वविद्धा (द्वितीयायुक्त तृतीया)लाई भने लिन नहुने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थमा गरिएको छ ।

मत्स्यपुराण (६५, १–७) र नारदीय पुराण (१.११२.१०) मा अक्षय तृतीयाका सम्बन्धमा विशेष वर्णन गरिएको छ । ती पुराणमा यो दिनमा गर्नुपर्ने कर्तव्यकर्मका सम्बन्धमा उल्लेख गरिएको छ । त्यहाँ भनिएको छ– यो दिन उपवास गर्नुपर्छ, भगवान् वासुदेवको पूजा गर्नुपर्छ । यसरी वासुदेवको पूजा गर्दा अक्षताले गर्नुपर्ने कुराको उल्लेख पनि त्यहाँ गरिएको छ । वैदिक सनातन धर्ममा कुनै पनि कर्तव्य कर्म गरिसकेपछि अग्निमा होमका साथ दान गर्नुपर्ने विधान छ । अक्षय तृतीयाका दिन उपवास, होम र दान गर्नाले सम्पूर्ण पापबाट मुक्त हुने कुराको उल्लेख पनि शास्त्रमा गरिएको पाइन्छ । यसरी अक्षय तृतीयाका दिन गरिएको व्रत, होम र दान अक्षय हुन्छ भन्ने धार्मिक विश्वास छ ।

मत्स्य पुराणमा यो दिनमा जेजस्तो कर्म गरिन्छ या जसलाई उद्देश्य गरेर यज्ञ गरिन्छ तथा जप, तप गरिन्छ त्यसको फल अक्षय हुन्छ भनिएको छ । यो तिथिका दिन गरिएको उपवास पनि अक्षयफल दायक मानिएको छ । यही अक्षय तृतीयाका दिन कृतिका नक्षत्र पनि परेको छ भने त यसलाई विशिष्ट रूपले फल दिने भनिएको छ । भविष्य पुराणमा पनि अक्षय तृतीयाका सम्बन्धमा विस्तारपूर्वक वर्णन गरिएको छ । त्यहाँ यो दिनलाई युगादि तिथिहरूमा गणना गरिएको छ । भविष्य पुराणमा वर्णन गरिएअनुसार सत्ययुगको आरम्भ यसै दिनबाट भएको थियो । यस दिन स्नान, दान, अग्निहोत्र, होम, वेदाध्ययन, पितृका लागि तर्पण आदि सबै अक्षय बन्दछ । यो दिन जलपात्र, छाता–जुत्ता दान गर्नाले कहिल्यै पनि दुःख नपर्ने कुराको उल्लेख पनि पुराणादि ग्रन्थमा गरिएको छ ।

अक्षय तृतीयाको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भइने कुराको उल्लेख वैदिक सनातन धर्मावलम्बीको निबन्धग्रन्थ धर्मसिन्धुमा गरिएको छ । यस्तै यो दिन श्रीकृष्णलाई विशेष चन्दन चढाउने विधान पनि रहेको छ । यो दिन भगवान् श्रीकृष्णलाई चन्दन चढाएको अवस्थामा अझ फलदायी हुने कुराको उल्लेख पनि धर्मसिन्धुमा गरिएको छ । यही दिन यव (जौ)को सातु दान र यव (जौ)बाट विष्णुको पूजा गर्ने विधान पनि छ । जौको सातु र दक्षिणासहित जलको घडा दान गर्न सबैभन्दा उत्तम दिनका रूपमा पनि यो दिनलाई लिइएको छ । 

कालविज्ञानअनुसार पनि अक्षय तृतीया तिथि वसन्त ऋतुमा पर्छ । यो समयमा कृषकले सबै गृष्मकालीन जौ, गहुँ आदि अन्न भित्र्याइसकेका हुन्छन् । हाम्रो प्राचीन धार्मिक प्रथा तथा मान्यताअनुसार नयाँ अन्न भित्र्याइसकेपछि त्यो अन्न सर्वप्रथम देवता एवं पितृलाई अर्पण गर्नुपर्छ, त्यसपछि यथाशक्ति दान गरेपछि भोजन गर्ने विधान छ । यही विधानअनुसार कृषिप्रधान हाम्रोजस्तो देशका लागि यो दिन महìवपूर्ण दिन हो । 

यो दिनलाई ऋतुदानका लागि पनि उपयुक्त दिनका रूपमा लिइएको देखिन्छ । वैशाख सङ्क्रान्तिलाई विषुव सङ्क्रान्ति पनि भनिन्छ । दिन र रात बराबर जुन महिनामा हुन्छ, त्यसलाई विषुव भनिन्छ । सूर्य कहिले उत्तरायण र दक्षिणायन हुने गर्छन् । विषुवमा सूर्य ठीक पूर्व दिशामा रहन्छन् । यसैले वैशाख र कात्तिक महिनाको सङ्क्रान्तिलाई विषुव सङ्क्रान्ति भनिन्छ । धर्मशास्त्रमा विषुव सङ्क्रान्तिको विशेष  महत्त्व रहेकाले यो महिनामा पर्ने विशेष पर्वको पनि त्यत्तिकै महìव रहेको छ । यही कारणले गर्दा वैशाखमा अक्षय तृतीया र कात्तिकमा अक्षय नवमीलाई दानका निम्ति प्रधान मानिएको छ । त्यसैले यो दिनमा अन्नदान गर्नाले अक्षयफल प्राप्त हुन्छ भन्ने धर्मशास्त्रीय विश्वास रहेको छ । यो दिन गाउँघरमा बाटोमा बसेर बटुवालाई जौको सातु, गुण, पानी बाँड्ने प्राचीन परम्परा र मान्यता रहिआएको छ । 



Author

डा. वासुदेव खनाल