• ३ साउन २०८१, बिहिबार

बागमतीमा राप्रपाले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको बिहीबार बसेको बैठक।

राममणि दाहाल

हेटौँडा, साउ ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बारेमा छलफल भएको हो। 

राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले संसदीय दलको बैठकमा सहभागी प्रदेश सभा सदस्य मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको विपक्षमा मतदान गर्ने मनस्थितिमा रहेको र सोही अनुसार निर्णय भएको जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाको बैठकमा राख्ने विश्वासको मतको बारेमा पार्टीमा छलफल गरी निर्णय गरिने बताउनुभयो । राप्रपा संसदीय दलका नेता उद्धव थापाले यसअघि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताउनुभएको थियो ।

विश्वासको मत दिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको छ ।

साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको हो।

सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेश संसदीय दलले असार २४ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको थियो ।