• १२ साउन २०८१, शनिबार

वर्तमान समयानुकूल पर्यटन नीति बनाउँछु : पर्यटन मन्त्री पाण्डे

blog

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सोमबार मन्त्रालयको पदबहाल गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

काठमाडौँ, असार ३१ गते । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनुकूल पर्यटन नीति बनाउने बताउनुभएको छ ।

सोमबार मन्त्रालयको पदबहाल गर्नुहुँदै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताउनुभयो ।

उहाँले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको जानकारी दिनुभयो ।

पर्यटन मन्त्री पाण्डेले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताउनुभयो । उहाँले जनताले भ्रष्टाचारको न्यूनीकरण गरी सुशासनको प्रत्याभूति खोजिरहेको जिकिर गर्नुभयो ।

उहाँले युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दै सबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताउनुभयो । उहाँले ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउने बताउनुभयो ।

‘‘निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कुनै पनि कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्न चाहन्छु । जनताले भ्रष्टाचारको न्यूनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन् । युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ ।,’’ पर्यटन मन्त्री पाण्डेले भन्नुभयो, ‘‘ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउन सक्छन् । हाम्रा इन्जिनहरुलाई ठिकठाक बनाएर सर्भिसिङ गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्नेछ । पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशील र रचनात्मक रुपमा काम गर्नेछ । पर्यटन नीति सुधार गर्नेगरी कार्यदल गठन गर्नेगरी परिर्माजन गर्नेछौं ।’’

उहाँले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटक भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी सिर्जनशील र रचनात्मक रुपमा काम गर्ने बताउनुभयो ।