महोत्तरी समाचारदाता
महोत्तरी, असार ३१ गते । महोत्तरीको मटिहानीका आगलागीपीडित परिवारलाई नगरपालिकाको संयोजनमा रतौली युवा क्लबले आइतबार एक कार्यक्रमबिच व्यावसायिक सामग्री वितरण गरेको छ ।
क्लबले आगलागीपीडित परिवारलाई व्यावसायिक सामग्रीसहित बालबालिकाको नियमित अध्ययनका लागि शैक्षिक तथा पोसाक वितरण गरेको छ । वडा नं. ६ को जरलहवा बस्तीमा वैशाख १२ गते भएको आगलागीमा परेर १०३ परिवारको सम्पूर्ण सामग्री जलेपछि उनीहरूको खाद्यान्नका साथसाथै आयआर्जनसमेत खोसिएको थियो ।
आगलागीपछि विभिन्न सङ्घ संस्थाहरूले खाद्यान्नको जोहो गरे पनि आयआर्जनतर्फ ध्यान नदिएका कारण अग्निपीडित परिवारको अवस्था खस्कँदै गएको देखेर क्लबले आयआर्जनका लागि सामग्री वितरण गरेको क्लबका कार्यक्रम संयोजक कृष्णबहादुर भुलले बताउनुभयो । उहाँले आगलागीपीडित परिवारहरूमध्ये तीन परिवारलाई नास्तालगायतका पसल सञ्चालन गर्न ठेला, चार परिवारलाई सिलाइ मेसिन, छ परिवारलाई फ्रिजलगायतका सामग्री वितरण गरिएको जानकारी दिँदै यसले उनीहरूलाई आर्थिक उपार्जनमा सहयोग पुग्ने बताउनुभयो ।
सो कार्यव्रmममा नगरप्रमुख हरिप्रसाद मण्डल तथा क्लबका निर्देशक वैद्यनाथ चौधरीले अग्निपीडित परिवारलाई ती सामग्री वितरण गर्नुभएको हो । क्लबका निर्देशक चौधरीले एफसिएको सहयोगमा अग्निपीडित ५१ परिवारलाई आर्थिक उपार्जनका लागि ४० हजार रुपियाँदेखि ५० हजारसम्म आर्थिक सहयोगसमेत दिइएको बताउँदै सो बस्तीका १०६ ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, एकल महिलालाई समेत पौस्टिक आहार तथा बालबालिकाको पठनपाठन अवरुद्ध हुन नदिन पाँच÷पाँच हजारका दरले सहयोगसमेत गरिएको बताउनुभयो ।
आगलागी बस्तीमा विद्यालय जाने २३१ बालबालिकाको अध्ययनलाई निरन्तरता दिन तीन हजार रुपियाँ बराबरको स्टेसनरी, पोसाक, जुत्तालगायतका सामग्रीसमेत वितरण गरिएको छ । आगलागीपीडितका लागिसमेत काम गर्दै आएका क्लबका निर्देशक चौधरीले व्यावसायिक सामग्री पाएका अग्निपीडितलाई तीन महिनासम्म व्यावसायिक तालिमसमेत दिई उनीहरूलाई व्यवसायमा दक्ष बनाउने लक्ष्य रहेको बताउँदै यसले अग्निपीडितलाई आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तीन महिनासम्म समय समयमा व्यावसायिक समस्या बुझेर सोही अनुसार साक्षरता कक्षा सञ्चालन गर्ने तथा व्यवसायको लेखाजोखा राख्न सिकाउने क्लबको योजना छ ।
कार्यक्रममा नगरप्रमुख मण्डलले आगलागी पीडितलाई क्लबले गरेको सहयोगका लागि धन्यवाद दिनुहुँदै आयआर्जनका लागि सामग्री र नगद पाएकालाई आयआर्जनका लागि काम गर्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले समेत परेको खण्डमा सहयोग गर्ने आश्वासन दिनुभयो ।