• १२ साउन २०८१, शनिबार

मेची राजमार्गमा वैकल्पिक मार्ग बनाउन सुझाव

blog

मेची राजमार्गको धस्सिएको माइखोलास्थित राजदुवाली माथिको सडक खण्ड । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असार ३० गते । करोडौँ रुपियाँ खर्च गर्दा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला राजदुवाली माथिको सडक खण्डको विकल्प खोज्न इन्जिनियरहरूले सुझाव दिएका छन् । आज इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ नेतृत्वको टोली सो क्षेत्रको स्थलगत निरीक्षण गरेपछि निरीक्षणमै पुगेका इन्जिनियरहरूले यस्तो सुझाव दिएका हुन् । 

माइखोलास्थित राजदुवालीदेखि माथि गोलाखर्क भन्ज्याङसम्मको करिब तीन सय मिटर भू–भागमा बगिरहेको राजमार्गलाई कुनै पनि प्रविधिबाट दीर्घकालीन रूपमा समाधान गर्न सकिने अवस्था नदेखिएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर लक्ष्मण बरालले बताउनुभयो । "यहाँ भएका अध्ययनहरूमा पनि भौगर्भिक अवस्थाकै कारण सडक धस्किरहेको छ । अब यसलाई हिलो फ्याँकेर, ग्राभेल हालेर सडक सुचारु गराउनको खास विकल्प छैन," बरालले भन्नुभयो, "अब जमिन मुनिबाट पाइप हालेर पानी कटाउने अर्को प्रविधिको काम गर्न लागेका छौँ ।"

कार्यालयका अर्का इन्जिनियर मनीषा कट्टेलले यो क्षेत्रको वैकल्पिक सडकका रूपमा मेची राजमार्गको गोदकस्थित शिलपुरबाट माई खोला हुँदै इलाम नगरपालिकाको तिल्केनी जोड्ने गरी केन्द्रबाट कुरा आएको बताउनुभयो । "अफिसियल रूपमा त्यहाँको सर्भे गर्ने, अन्य काम अघि बढाउने गरी केही पनि आएको छैन तर, त्यताबाट विकल्पको कुरा भने उठेको छ," इन्जिनियर कट्टेलले भन्नुभयो । 

त्यसो त चार वर्ष अघिनै इलामस्थित विपद् व्यवस्थापन समितिको बैठकले पूर्वाञ्चल सडक डिभिजन कार्यालयलाई भन्ज्याङदेखि राजदुवालीको क्षेत्रमा सडक भासिएपछि जोखिम बढेको ठहर गर्दै विकल्प खोज्न सुझाव दिएको थियो । करिब पाँच वर्षअघि भौगर्भिक अध्ययन टोलीले पनि राजदुवाली पुलभन्दा माथिको भू–भागमा जग्गा भित्रभित्रै बग्दै गरेको अध्ययनमा देखाएको थियो । 

काठमाडौँस्थित इटीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययन अनुसार सतहभन्दा १५ मिटर मुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको थियो । माइखोलादेखिमाथि करिब तीन सय मिटरको भू–भागमा भित्रभित्रै जमिन दब्ने र बग्ने गरेको जनाइएको थियो । अध्ययनमा त्यहाँको सतहभन्दा करिब २० देखि २५ मिटर तल सम्म रड राखेर एंकरिङ्ग गर्ने र कङ्क्रिट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । सोही अनुसार सडक डिभिजन कार्यालयले छ करोड ७७ लाख रुपियाँ खर्चेर सडकको एंकरिङ्ग गर्ने र वाल लगाउने काम गरेको थियो । तर, अहिले त्यो पनि भास्सिएर काम नलाग्ने भएको छ । 

यहाँको जमिन दिनदिनै धस्सिएकाले राजमार्ग बन्द हुने अवस्था छ । वर्षा यामको यो बेला पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ सम्म आवत–जावत गर्ने मालवाहक र यात्रुवाहक सवारीहरू जोखिम मोलेर यहाँको सडक पार गरिरहेका छन् । दैनिक यही सडकमा भ्यान चलाउँदै आउनु भएका साङरुम्बाका प्रकाश चौलागाईंलाई पनि कति बेला यहाँको सडक पार गर्ने भन्ने चिन्ताले सताइ रहन्छ । "सडक राम्रो भइदिए हुन्थ्यो, यहाँ त सवारी चालकले धेरै जोखिम मोल्नु परेको छ । पानी परेका बेला सडक पार गर्नै गाह्रो छ," चौलागाईंले भन्नुभयो । 

अब पनि राजमार्गको उक्त खण्डको विकल्प नखोजिएर यातायात अवरुद्ध हुँदा पूर्वी पहाडलाई नै असर गर्ने सरोकारवालको बुझाइ छ । मालवाहक र यात्रु वाहक गरी दैनिक सयौँ सवारी सञ्चालन हुने राजमार्गको यो क्षेत्रमा जोखिम हुँदा यातायात व्यवसायीलाई पनि चिन्ता बढेको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बा बताउनु हुन्छ । निरीक्षणमा पुग्नु भएकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भने तत्कालका लागि मर्मत सम्भार गर्दै सवारीलाई चालू गराउने विषयमा आफूहरूले सहजीकरण गरिरहेको बताउनुभयो ।