• १२ साउन २०८१, शनिबार

कृषि फार्म सञ्चालक पलायन हुँदै

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, असार ३० गते । सुनसरीमा व्यावसायिक कृषि फार्म सञ्चालन गर्र्नेे कृषकको सङ्ख्या घट्दै गएको छ । कृषकको वित्तीय क्षेत्रमा पहुँच नहुनु, बजार जोखिम हुनु जस्ता समस्याले व्यावसायिक युवा कृषक व्यवसायबाटै पलायन हुन थालेका हुन् । 

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीमा वराह कृषि फार्म दर्ता गरेर पाँच वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आउनुभएका वराहक्षेत्र–९, ढोलबजिया–३३ का तोयाराम चौधरीले कृषि फार्म बन्द गर्नुभएको छ । तीन वर्षको कोरिया बसाइँपछि नेपालमै केही गर्ने सोचेर २०७५ सालबाट १२ लाख रुपियाँ लगानी गरेर खोर निर्माण गरी व्यवसाय सुरु गर्नुभएको थियो । दुई दिनअघि घरेलु कार्यालयमा गएर फार्म दर्ता खारेजी गरेको बताउँदै उहाँले भन्नुभयो, “वित्तीय र बजार जस्ता समस्याले गर्दा व्यवसाय छोड्नु प¥यो ।” कृषि व्यवसायबाट पलायन हुने तोयाराम प्रतिनिधि पात्रा मात्र हुनुहुन्छ । 

घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा कृषि फार्म दर्ता गर्न आउने कृषक व्यवसायी घट्दै गएका छन् । घरेलु कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ४०१ कृषि फार्म दर्ता भएका थिए । घरेलु तथा साना उद्योग विकास कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार चालु आवमा कृषि व्यवसाय दर्ता गर्ने किसानको सङ्ख्या घटेको छ । 

चालु आवमा १७४ वटा कृषि व्यवसाय दर्ता भएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रको वर्तमान अवस्था, वैदेशिक रोजगारीको प्रभाव, बैङ्किङ सेक्टरबाट ऋणका विषयमा गरिएको कडाइले गर्दा पनि फार्म चलाउन गाह्रो भएको भनेर दर्ता खारेजीका लागि निवेदन आउने गरेका छन् ।

इजाजत साझेदारी फार्म नियमावलीको प्रावधान अनुसार कुनै पनि फार्म खोलेको तीन वर्ष नपुगिकन दर्ता खारेजीको निवेदन गर्न पाइँदैन । तीन वर्ष पुगेपछि बन्द गर्नुपर्ने कानुनी प्रावधानसहित निवेदन आएमा दर्ता खारेजी हुन्छ ।” 

घरेलुबाट कृषि, पशु, बाख्रा, बङ्गुर, कुखुरापालनलगायतका फार्म दर्ता गरेर किसानले व्यावसायिक रूपमा काम गर्दै आएका थिए । कृषिमा सबैले राम्रो छ भनेको सुन्ने, सामाजिक सञ्जाल, युट्युबमा हेरेर कृषिमा भविष्य छ भनेर फार्म दर्ता गरेर ठुलो लगानी गर्दा कृषकको लगानी डुब्ने गरेको वराहक्षेत्र नगर कृषि शाखाका कृषि प्राविधिक नीरबहादुर राई बताउनुुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “कृषि फार्म विभिन्न उद्देश्य राखेर खोल्ने हुँदा पनि कृषि फार्म टिक्न सकेका छैनन् । कतिले सरकारी अनुदान प्राप्त गर्न, सहुलियत ब्याजदरमा ऋण लिनका लागि मात्र खोलिने गरेकाले पनि फार्म टिक्न सकेका छैनन् ।” फार्म सञ्चालकमा सामान्य प्राविधिक ज्ञान नहुनु जस्ता समस्याले पनि कृषि फार्म सञ्चालक पलायन भएका छन् ।