• १३ साउन २०८१, आइतबार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

blog

सुत्केरी बेथा लागेकी गर्भवती बुढाको हेलिकोप्टरमा उद्धार गरेर सुर्खेत लगिँदै । फाइल तस्बिर

राजन रावत

हुम्ला, असार २९ गते । शनिबार बिहान सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी बेथाले च्यापेपछि शुक्रबार राति लौँठी स्वास्थ्य चौकी ल्याइएको भए पनि स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिने स्वास्थ्यकर्मीले भनेपछि गर्भवतीलाई प्रदेश अस्पतालमा लगिएको हो ।  

लौँठी स्वास्थ्य चौकीका संयोजक नवीन भण्डाराले अदानचुली गाउँपालिका –६ को लौँठी गाउँकी ३१ वर्षीया लक्ष्मी बुढालाई सुत्केरी बेथा लागेको अवस्थामा स्वास्थ्य चौकीको प्रसूति गृहमा ल्याएको भए पनि अवस्था जटिल देखिएको कारण सुत्केरी गराउन नसकिने भएपछि प्रदेश अस्पताल सुर्खेतमा हेलिकोप्टरबाट उद्धार गरिएको बताउनुभयो । 

बेथाले च्यापेको अवस्थामा गर्भवती बुढालाई स्वास्थ्य चौकीमा ल्याएको भए पनि सुत्केरी गराउन नसकिने भएको र अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीको सिफारिसमा जिल्ला बाहिर रिफर गरिएको उहाँले बताउनुभयो । 

यसका लागि सहजीकरण स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनुभयो । हेलिकोप्टरले उद्धार गरेको भाडा भने राष्ट्रपति महिला उत्थान कार्यक्रमले बेहोर्नेछ ।