• १२ साउन २०८१, शनिबार

धानमा किराको समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

blog

किराले क्षति गरेको हंसराज बास्मती धान । तस्बिर : डिलबहादुर सिंह/डोटी

डिलबहादुर सिंह
डोटी, असार २९ गते ।
 जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बासमती धानमा किरा देखा परेको छ । जोरायल गाउँपालिका हंसराज बासमती धान उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ ।

जोरायल गाउँपालिका कृषि शाखा प्रमुख प्रदीप साउँदका अनुसार पातबेरुपा किराले धानमा बसी हरियो पदार्थ खाएर धानको बोटलाई सुकाउने गरेको छ । शाखा प्रमुख साउँदले भन्नुभयो, ‘‘धानमा हल्का खैरो रङ्गको वयस्क पुतली, पखेटामा दुईवटा बाङ्गा–टिङ्गा धर्साहरू भएको लार्भा हल्का हरियो रङ्गका किरा देखा परेको छ । भित्र पट्टि बसी हरियो पदार्थ खाइ धानको पातलाई सुकाइदिन्छ ।’’

धानमा किरा लागेको जानकारी किसानबाट आउने बित्तिकै गाउँपालिकाबाट स्थलगत अनुगमन गर्दा पात बेरुवा किराले स्थानीय किसानको तीन रोपनी धान पूर्णरुपमा क्षति गरेको छ । अनुगमनका क्रममा आंशिक रूपमा ५७ रोपनी धानमा असर गरेको जोरायल गाउँपालिका कृषि विकास शाखाले जानकारी दिएको छ । गाउँपालिकाबाट किसानलाई उपचार विधिको जानकारी दिइएको बताइएको छ ।

पात बेरुवा किराका कारण धानको बोट सुक्न थालेपछि किसानलाई धान उत्पादन घट्ने चिन्ताले सताउन थालेको छ । जोरायल गाउँपालिका हंसराज बासमती चामल जिल्ला बाहिर समेत निर्यात हुने गर्दछ ।

करिब १० हेक्टर जमिनमा बासमतीको खेती गरिने गरेको छ । हंसराज बासमती धानमा किरा लागेपछि किसानले किराबाट धानको शीघ्र उपचार तथा रोकथामको माग गरेका छन् । आफ्नो करिब सात रोपनी खेतमा लगाइएको हंसराज बासमती धानमा किराले नोक्सान गरेको दुखेसो पोख्दै जोरायल गाउँपालिका ३ की किसान कल्पना बोहराले भन्नुभयो, ‘‘बासमती राम्रै उत्पादन होला भनेर अरूको जग्गा पनि पैसा दिएर हामीले धान रोप्यौ तर किरा लागेर पुरै खेत सुकिसक्यो ।’’

जिल्ला अन्य स्थानमा गरिएको अन्य जातका धानहरूमा समेत यो पात बेरुवा किरा फेला परेको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार जोरायल गाउँपालिका जस्तै के.आइ.सिह गाउँपालिकाको सलेनागााउँ र दिपायल सिलगढी नगरपालिकाको घोल्ताडा लगायत पूर्वीचौकी गाउँपालिका विभिन्न स्थानमा रोपिएको धान खेतीमा पात बेरुवा किरा देखा परेको छ । केही दिन अघि लगातार रूपमा अत्यधिक वर्षा भएका कारण पातबेरूवा किरा धानका पातमा देखा परेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो ।

कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, ‘‘यो किरा धानको बोट सानो छदा धेरै हुन्छ । धान ठुलो र सुख्खा अथवा घाम लागेपछि हटेर जान्छ । सुख्खा हुँदा समेत नहटे विषादी प्रयोग गर्नुपर्ने हुन्छ ।’’