• १२ साउन २०८१, शनिबार

धार्मिक पर्यटनका आधार

blog

नेपालमा धार्मिक पर्यटनको सम्भावना निकै छ । यो देश प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको क्षेत्र मात्रै नभई विविध जाति, भाषा, वेशभूषा र परम्पराको अनुपम सङ्गमस्थल हो । यहाँ विश्वको अग्लो हिमशिखर, बुद्धको जन्मस्थल र मन्दिरैमन्दिरका सहरहरू छन् । यहाँका धार्मिक दृष्टिले महŒवपूर्ण मानिने मठ, मन्दिर, विहार, स्तूप, कुण्ड, धार्मिक गुफा पर्यटकको आकर्षणका केन्द्र हुन् । काठमाडौँ उपत्यकामा हनुमानढोका दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, हिरण्यवर्ण महाविहार, बुङ्मती, चाँगुनारायण, पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर, भक्तपुर दरबार क्षेत्र, पाँचतले मन्दिर अवलोकनका लागि महत्वपूर्ण धार्मिक स्थल हुन् । काठमाडौँ उपत्यकाबाहिरका धार्मिक पर्यटकीय स्थलमा लुम्बिनी, वराहक्षेत्र, दामोदर कुण्ड, हरिहर क्षेत्र, पाथीभरा, हलेसी महादेव, स्वर्गद्वारी, काँक्रेविहार, नमोबुद्ध आदि हुन् । धार्मिक अनौठा गुफाहरूमा काठमाडौँस्थित चोभारको गुफा, ल्हासापाको गुफा, धादिङको गुप्तेश्वर गुफा, पोखराको महेन्द्र गुफा आदि पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् ।

सन् २०२३ को अक्टोबरमा मात्र नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाईमार्गबाट मात्र एक लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीदेखि अक्टोबरसम्म आठ लाख ९९ हजार ६६८ पर्यटक नेपाल आए । पर्यटन बोर्डका अनुसार यही सन् २०२४ मार्चमा एक लाख २८ हजार १६६ विदेशी पर्यटक नेपाल आए । गत वर्षको तुलनामा यो २८.९ प्रतिशतले बढी हो; जसमा भारतबाट मात्र ३० हजार ६८९ र चीनबाट १२ हजार ९३ जनाले भ्रमण गरेका छन् । भारतीय पर्यटकले धेरै जसो धार्मिक पर्यटकका रूपमा नेपाल भ्रमण गर्छन् । भारतबाट बर्सेनि एक लाखभन्दा बढी पर्यटक नेपालमा तीर्थयात्रा र बिदा मनाउन आउँछन् । 

भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, माल्दिभ्स र अफगानिस्तानका पर्यटक धार्मिक पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । सार्क मुलुकभित्र यहाँका तीर्थस्थलबारे प्रचारप्रसार गर्न सकिए पर्यटकको घुइँचो बढ्न सक्छ । युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा नेपालका विभिन्न ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदालाई सूचीकृत गरिएको छ । हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, पशुपतिनाथ मन्दिर, स्वयम्भू महाचैत्य, चाँगुनारायण, बौद्ध स्तूप र बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा सूचीमा घोषणा गरिएको छ । यस्तै चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज पनि विश्व सम्पदा सूचीमा रहेका छन् । 

लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गरेपछि शाक्यमुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीले विश्वसामु बुद्धभूमिका रूपमा परिचित हुने अवसर पायो । लुम्बिनीबाट सुरु गरेर तिलौराकोट, सैनामैना, पाल्पा, देवदह र रामग्रामसम्मको बुद्धिस्ट सर्र्किटका रूपमा विकास गर्न पनि सम्भव छ । हिन्दु र बौद्धको आस्था केन्द्र कैलाश मानसरोवरदेखि काठमाडौँको पशुपतिनाथसम्म परिक्रमा गर्न सक्ने ज्योतिर्लिङ्ग पथ अन्तर्गत बाटोघाटोको व्यवस्था गर्न सकिए धार्मिक पर्यटनमा फड्को मार्न सकिन्छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व सम्पदामा सूचीकृत गर्नका लागि १६ ऐतिहासिक र सांस्कृतिक स्थानको सम्भाव्यता अध्ययन गरेको छ । यसमा जनकपुर, मुस्ताङ, लोमान्थाङ, खोकना, रामग्राम, पनौती, गोरखा दरबार, तिलौराकोट, कीर्तिपुर, नुवाकोट दरबार क्षेत्र, दैलेखको दुल्लु, रुरुक्षेत्र, सिँजा उपत्यका, पाल्पाको तानसेन, साँखु (शङ्खरापुर) आदि हुन् । यसले पनि धार्मिक पर्यटनका लागि सहयोग नै गर्ने छ । 

नेपालको आर्थिक विकासको मेरुदण्ड मानिने पर्यटन क्षेत्रको विकासका लागि पर्यटकका आधारभूत सुविधा तयार गर्नु जरुरी छ । पर्यटन उद्योग विदेशी मुद्रा आर्जन र रोजगारीका दृष्टिले अग्रपङ्क्तिको उद्योगमा पर्छ । पर्यटन क्षेत्रको विकासका लागि प्रचुर सम्भावना भएर पनि यसको सदुपयोग गर्न सकिएको छैन । अझ धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रको विकासका लागि सबैको योगदान र सहयोग आवश्यक छ । 

केही वर्षअघि नेपालको पर्यटन उद्योगमा ह्रास आएको थियो । नेपालमा दुई ठुला विमान दुर्घटना हुँदा हवाई सुरक्षामा प्रश्न उठ्नु र प्रदूषणका कारण यो समस्या देखिएको थियो । यसैको आडमा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक प्रचारप्रसार हुन पुगेको थियो । यस्तै कोरोना महामारीमा पनि पर्यटन उद्योग सुस्ताएको थियो । यो बेला नेपालको मात्र नभएर विश्वकै पर्यटन उद्योग सुस्ताएको थियो । विविध कारणले पर्यटकको भिसा शुल्क, पर्वतारोहण शुल्क निकै चर्को भएको पर्यटकको गुनासो पनि रह्यो । राजनीतिक अस्थिरता र अन्य विविध कारणले पनि बाह्य पर्यटकमा नेपालप्रति नकारात्मक सोच पर्यो तर हाल विश्वमा कोरोना महामारी नियन्त्रणमा छ ।

सन् २०२२ देखि पर्यटक नेपाल आउन थालेका छन् । नेपाल आउने अधिकांश पर्यटक दृश्यावलोकनका लागि मात्र होइन; यहाँको धार्मिक स्थल, सांस्कृतिक सम्पदा र ग्रामीण जनजीवनसँग परिचित हुन पनि आउँछन् । पर्यटकहरू साहसिक पर्यटन, इको टुरिजमतर्फ पनि आकर्षित हुन थालेका छन् । आफूले खर्च गर्ने प्रत्येक डलरको मूल्यलाई उनीहरू सदुपयोग गर्न चाहन्छन् । नेपालका लागि ग्रामीण पर्यटनको सम्भावना बढी छ । अहिले आन्तरिक पर्यटन पनि निकै बढेको छ । मौलिक ग्रामीण जनजीवनसँग परिचित हुन स्वदेशी तथा विदेशी दुवै पर्यटक लालायित छन् । वृद्धावस्थामा धार्मिक स्थलको भ्रमण गर्न इच्छा हुन्छ ।

यसका लागि यातायात र अन्य सुविधा उपलब्ध भए यसतर्फ पनि पर्यटकको घुइँचो लाग्न सक्छ । ग्रामीण क्षेत्रका मठ, मन्दिर, पाटी पौवा, कुण्ड हेर्न सजिलो हुने थियो । केही स्थान जस्तै– मनकामना, चन्द्रागिरिमा केबलकारको व्यवस्थाले तीर्थयात्रीलाई सुविधा भएको छ । यस्तै समयमै बाटोघाटो, खोलानालामा पुलपुलेसा, केबुलकारको व्यवस्था गर्न सकिए कतिपय धार्मिक र ऐतिहासिक स्थान अवलोकन गर्न भक्तजन र विदेशी पर्यटकका लागि सुविधा हुने थियो । पर्यावरणीय पर्यटनलाई बढावा दिन धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्र्ण पर्यटकीय क्षेत्रमा हेलिप्याड निर्माण गर्न नितान्त आवश्यक छ । सगरमाथा र लुम्बिनीलाई मार्ग बनाएर दक्षिण एसिया जोड्न सके अति उत्तम हुन्छ । विश्वमा नेपाल पर्यटनका लागि प्राथमिकतामा परेको देश हो । त्यसैले भैरहवामा निर्माण सम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सकिए धार्मिक पर्यटन विकासमा निकै सघाउ पुग्ने छ । 

पर्र्यटन प्रवर्धनका लागि यस व्यवसायसँग आबद्ध निजी क्षेत्रका सङ्गठनहरू नारा, टान, हान र अन्य विभिन्न सङ्गठनले पनि पर्यटन व्यवसायीसित सम्मिलित भएर मुलुकको पर्यटन उद्योगको अभिवृद्धिका लागि सकारात्मक भूमिका खेल्नु जरुरी छ । विभिन्न अवसरमा घोषित सन् १९९८ को नेपाल भ्रमण वर्ष, इको टुरिजम, पर्वतीय वर्ष–२००२ का अवसरमा पर्यटन उद्योगको विकासका लागि निकै प्रयास भएको थियो तर यस्ता कतिपय घोषणा नारामा मात्र सीमित हुन पुगेका पनि छन् । पर्यटन बजार योजना अनुसार उकास्न सकिएको छैन । यसका लागि सङ्घसंस्थाको व्रिmयाशील सहभागिता आवश्यक छ । नेपाल सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । यस अवसरमा धार्मिक पर्यटनको सम्भाव्यतालाई जोड दिनु पर्छ ।  

नेपालको धार्मिक पर्यटनको विकासमा अन्तर्राष्ट्रिय सहयोग पनि जरुरी छ । नेपालको भूमिमा विभिन्न देशका राष्ट्राध्यक्षको भ्रमणले पर्यटन उद्योग फस्टाउन मद्दत मिल्नुका साथै यसबाट विश्वमा परिचित हुन पाइन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको लुम्बिनी, जनकपुर र मुक्तिनाथको भ्रमणले नेपालको धार्मिक पर्यटन प्रवर्धनमा टेवा मिलेको छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबाट भएको नेपालका ऐतिहासिक क्षेत्र पाटन दरबार, सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी क्षेत्रको भ्रमण पर्वतारोहण, पदयात्रा र धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण मानिएको छ । यस्ता भ्रमणबाट विभिन्न देशबिच धार्र्मिक, सामाजिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन पनि सघाउ पुग्छ ।

Author

मुनीन्द्ररत्न वज्राचार्य