• १३ साउन २०८१, आइतबार

ढुङ्ग्रे खोलाको कटानले पूर्वपश्चिम लोकमार्गको पुल जोखिममा

blog

बर्दीबास ५ पूर्वपश्चि लोकमार्गस्थित ढुङ्ग्रे खोलाले कटान गरेको बेलगाछी पुल। तस्बिर: रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, असार २८ गते। अविरल वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले बर्दीबास ५ स्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बेलगाछी पुल जोखिममा पारेको छ। खोलाले सडकको दायाँतर्फ तीव्र कटान गर्न थालेपछि उक्त पुल बाढीको उच्च जोखिममा परेको हो। 

तीव्र वेगको बाढीले लोकमार्ग नजिक चुरे र भावर क्षेत्रबाट बगाएर ल्याएको बालुवासहितको गेग्य्रानले खोलाको सतह उठाउँदै लगेकोले पुलमा दोहरो जोखिम देखिएको छ। एकातिर तीव्र कटान भैरहेको छ भने अर्कोतिर गेग्रानले पुल र खोलाबिचको सतह १  मिटरभन्दा पनि कम पारेको छ। तत्काल सुरक्षाका उपाए नगरे पुल र खोलाको उचाइ समानान्तर अवस्थामा पुग्ने जोखिम बढेको प्राविधिकले जनाएका छन्। 

बिहीबार साँझदेखि बढेको बाढीले क्षति पुर्‍याउन थालेपछि बर्दीबासस्थित इलाका प्रहरीले पुलबाट एकपटकमा एउटा मात्र सवारी चल्न दिएको छ। बर्दीबास प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले दुवैतर्फबाट एकैसाथ गाडी चल्दा कटानतर्फको सडक र पुल भासिन सक्ने सम्भावना भएकोले पुल नजिक एकतर्फी सञ्चालन गरिएको बताउनुभयो। 


बढ्दै गएको बाढीले पुल पश्चिम तीव्ररुपमा साइड कटान गरिरहेकोले जोखिम बढ्दै गएको उहाँले बताउनुभयो। खोलाले थप क्षति गरेमा जङ्गली क्षेत्रमा पर्ने लोकमार्गको यो खण्ड आवागमन ठप्प हुने सम्भावना बढ्दै गएको छ।