• १३ साउन २०८१, आइतबार

साठी अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा

blog

तस्बिर : रासस

काठमाडौँ, असार २७ गते । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले  राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति उत्पन्न भएको बताउनुभयो । “बैङ्कको किस्ता र अन्य कर तिर्न नसकी हजारौँ व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दबाब परेको छ” अध्यक्ष सिंहले भन्नुभयो । 

आर्थिक वर्षको अन्त्यमा स्रोत सुनिश्चितता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले दिएका कारण हजारौँ व्यवसायी प्रभावित भएका उहाँले बताउनुभयो । यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उहाँले बताउनुभयो । विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै उहाँले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको अध्यक्ष सिंहले बताउनुभयो । रासस