• १३ साउन २०८१, आइतबार

मन्त्री र सचिवको नाम लिएर विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी पक्राउ

blog

फाइल तस्बिर

काठमाडौँ, असार २७ गते। गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट दबाब  दिएको खुलेको छ ।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाउनुभएको थियो। 

जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुग्नुभएका विष्टलाई गृहमन्त्रीले  मन्त्रालयबाटै फिर्ता पठाउनुभएको हो।

भिजिट भिसामा गैरकानुनी रूपमा मान्छे पठाउने काम गरिरहेको आशङ्कामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो।  विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रूपमा गृह मन्त्रालयमा कार्यरत थिए।