• ७ पुस २०८१, आइतबार

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

blog

काठमाडौँ, असार २५ गते । सांसदहरूले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बाढीपहरोका कारण जनताले ठुलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद रञ्जुकुमारी झाले वर्षाका कारण सप्तकोशी नगरपालिकाका धेरै स्थान जलमग्न भएको बताउनुभयो । सांसद श्यामकुमार घिमिरेले सरकारले बाढीपहिरोबाट क्षति हुन नदिन योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “बिना योजना बस्ती बनाउँदा धेरै क्षति भएको छ । अधिकांश स्थानमा सडक अवरुद्ध छ”, उहाँले भन्नुभयो, “सडक निर्माणका लागि आवश्यक बजेट छुट्याइनुपर्छ ।” सांसद प्रेम सुवाल, रामप्रकाश चौधरी र चित्रबहादुर केसीले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस