• १२ साउन २०८१, शनिबार

अग्निपीडित परिवारको अस्थायी गोठमै बास

blog

निर्माणाधीन अवस्थामा घर ।

हरि काेइराला

उर्लाबारी, असार २३ गते । मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलका २२ अग्निपीडित घरपरिवारको अस्थायी गोठमै बास भएको छ । गत चैत ३ गतेको भीषण आगलागीमा परी बाबुसाहेव टोलको सन्थाल बस्ती छिनभरमा खरानी भएको थियो । 

सरकारले तत्कालै अग्निपीडित प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि २०७७ अनुसार घर निर्माणको प्रक्रिया अघि बढाएको थियो । यद्यपि सबै प्रक्रिया पुरा हुँदा मनसुन सुरु हुनु अगावै घर बन्न सकेका छैनन् । घर नबनेपछि उनीहरू हाल गाई गोठमा बसेर दैनिकी बिताइरहेका छन् । अग्निपीडित जङ्गली मुर्मुले भन्नुभयो, "घरमा बसे जस्तो हुँदैन नि । दुखले चलेको छ । जङ्गली मात्र होइन, तल्लु, भना, धारो, जुगल, मङ्गल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, वासुदेव, चट्टा किस्कु, मनोज, बुधराम, मराहाङ हेमराम र सुमन सतार, सुकल हाँस्दा, लुकु टुडु , बाबूलाल बेश्राको अवस्था पनि उस्तै छ ।"

"सरकारले घर बनाइदिन्छ भनेर हामीले गाईबस्तु पाल्न गोठ बनायौँ । त्यही गोठमा टाउको लुकाएका छौँ," लुकु टुडुले भन्नुभयो, "अलि डाँडामा बस्ती भएकोले डुबानमा परेको छैन ।" तर, ठुलो कष्टका साथ बसिरहेको चट्टा किस्कुले बताउनुभयो । 

कुल ६ लाख ५५ हजार रुपियाँमा निर्माण हुने घरका लागि कोशी प्रदेश सरकारले ३० प्रतिशत खर्च व्योहोर्ने भएको छ । यस्तै स्थानीय सरकारले १४ प्रतिशत खर्च व्योहोर्ने भएको छ भने सङ्घीय सरकारले ५५ प्रतिशत हुन आउने रकम ३ लाख ५५ हजार उपलब्ध गराउने छ । घर निर्माणका लागि डेमिडेनस र लुथरन वर्ल्ड फेडेरेसनले समेत सहयोग गर्ने भएका छन् । घरसँगै अलग्गै भान्छा कोठा, ट्युबवेल र शौचालय निर्माण हुनेछ । 

यसैबिच गोठमा बसेर दैनिकी चलाइरहेका अग्निपीडितको घर निर्माणका लागि नेकपा एमाले रङ्गेली नगर समितिले ३ लाख ६५ हजार ३ सय ४० रुपियाँ आर्थिक सहयोग गरेको छ । आकाश मुनि बास भएका सन्थालहरूलाई स्थानीयको पहलमा गोठमा सम्म राख्न सकिएको  स्थानीय टङ्क ठकुरीले बताउनुभयो ।

नगरपालिकाले बस्ती पुनर्निर्माणका लागि सर्वसाधारणसँग क्युआर कोड मार्फत सहयोग आह्वान गरेको थियो । हालसम्म क्युआर कोड मार्फत ६ लाख १५ हजार रुपियाँ नगद सङ्कलन भइसकेको छ । अग्नि पीडितहरूलाई वर्षायाम सुरु हुनु अगावै घर हस्तान्तरण गर्ने नगरको योजना थियो । तर, सरकारी बजेट समयमा उपलब्ध नहुँदा समयमा घर निर्माण गर्न नसकिएको नगर प्रमुख दिलीपकुमार बगडियाले बताउनुभयो । 

वडा नं. ३ का वडाध्यक्ष भरतराज प्रसाईँले दसैँसम्ममा अग्निपीडितलाई नयाँ घरमा भित्राउने योजना रहेको बताउनुभयो । २२ वटा घरमध्ये गहिरो भागमा निर्माण हुने ४ वटा बाहेक सबै घरको जग निर्माण भइसकेको छ । अब जस्ता लगाएर बस्दै गर्ने बनाउने तयारीमा छौँ । लगातारको पानीका कारण हाल काम गर्न नपाएको वडाध्यक्ष प्रसाईँले बताउनुभयो ।