• १२ साउन २०८१, शनिबार

पहिरो खसिरहने सत्र नम्बर भिर

blog

बाबुराम कार्की

वराहक्षेत्र, असार २५ गते । वर्षायाममा बाढी आउनु, पहिरो जानु सामान्य कुरा नै हो तर प्रत्येक वर्ष १७ नम्बर भिरमा खस्ने पहिरोले सबैको ध्यान खिच्ने गरेको छ । 

सुनसरीको वराहक्षेत्र नगर–१ मा रहेको पहिरो खसिरहने १७ नम्बर भिर सबैको नजरमा पर्दै आएको छ । चतरादेखि वराहक्षेत्र मन्दिर क्षेत्रसम्मको सडक क्षेत्रमा पर्ने १७ नम्बर भिरमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यो पहिरो नगरदेखि सडक विभागसम्मको चासोको विषय बन्ने गरेको छ । भिरमा जाने पहिरोले सडकखण्ड अवरोध गर्ने हुँदा स्थानीयवासी तथा तीर्थालु पर्यटकलाई सास्ती हुँँदै आएको छ । 

एक पटक पहिरो जाँदा तीन दिनदेखि एक हप्तासम्म पहिरो पन्छाउन लाग्ने गरेको छ । प्रमुख धार्मिक तीर्थस्थलका रूपमा रहेको वराहक्षेत्र मन्दिर सोही बाटो हुँदै जानुपर्ने बाध्यता छ । 

सडक डिभिजन कार्यालय विराटनगरबाट १७ नम्बर भिरको अवस्था जान्न बुझ्न फोन तथा म्यासेजको व्यवस्था गरिएको छ । अन्य भिरभन्दा यो भिरबाट बढी पहिरो खस्ने हुँदा बाटो आवतजावत गर्नै डरमर्दाे हुने गरेको वडा नम्बर १ का वडा सदस्य कुमार भट्टराई बताउनुहुन्छ । 

भिरको काखबाट निकालिएको सडक भएकाले पनि पहिरोको उच्च जोखिममा पर्ने गरेको प्राविधिक बताउँछन् । चतरादेखि वराहक्षेत्र मन्दिर हुँदै भोजपुरसम्म पुग्नका लागि पैदलयात्रीले चार दशकअघि प्रयोग गर्ने गरेको गोरेटोलाई नै बाटोको रूप दिँदा समस्या झेल्नु परेको स्थानीय युवराज भट्टराई बताउनुहुन्छ ।

बर्खाको तीन महिना वराहक्षेत्र नगरदेखि सडक डिभिजन कार्यालयसम्म १७ नम्बर भिरको चर्चा हुने गरेको छ । वर्षाभरि प्रायः सडक अवरोध भइरहने हुँदा सडक डिभिजन विराटनगरले पहिरो व्यवस्थापन गर्दै आएको सडक डिभिजन विराटनगरकी इन्जिनियर शीतल पराजुलीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “उक्त सडकका लागि एक इन्जिनियरसहित पाँच जना कर्मचारी फिल्डमा खाटिएका छौँ । उच्च जोखिम रहेको ठाउँमा जाली हाल्ने काम भइरहेको छ । सडकको अवरोध हटाउन एस्काभेटर राखिएको छ ।”