• ८ पुस २०८१, सोमबार

बिदामा उपकरणमा मात्रै नभुलौँ

blog

चैत २८ गतेदेखि सुरु भएको कक्षा आठको अन्तिम परीक्षाभन्दा केही दिनअघि एकजना अभिभावकसँग भेट भयो । कक्षा आठमा पढ्ने आफ्नो छोराका बारेमा गुनासो गर्दै उनले भने, “उसलाई मागेजति सबै सुविधा दिएको छु । उसलाई घरमा केही काम गर्नुपर्दैन । आफ्नो मोजा पनि उसले धुनुपर्दैन । तैपनि उसले घरमा पढ्दै पढ्दैन ।” 

यस्तो गुनासो एकजना अभिभावकको मात्र होइन शिक्षक भेट्न भनेर आउने धेरैजसो अभिभावकको हुन्छ । आफ्ना नानीबाबुले राम्रोसँग पढून् भन्दै उनीहरूले गर्न सक्ने उनीहरूकै ओछ्यान मिलाउनेदेखि जुत्ता पोलिस गरिदिनेसम्मका सबै काम अभिभावकले गरिदिएका हुन्छन् । तर पनि विद्यार्थीले पढाइमा त्यति ध्यान दिएको पाइँदैन । त्यसकारण विद्यार्थीले गर्न सक्ने काम उनीहरूलाई नै लगाउनुपर्छ । घरमा केही नगर्ने भन्दा पनि केही न केही काम गर्ने विद्यार्थीको पढाइ राम्रो भएको विभिन्न अध्ययनले देखाएका छन् । 

उनीहरूलाई जतिखेर पनि पढ् मात्रै भन्ने गरेमा पढाइप्रति रुचिभन्दा पनि वितृष्णा आउन सक्छ । समय–समयमा विद्यार्थीलाई पढाइभन्दा टाढा राखेर केही समयका लागि स्वतन्त्र पनि हुन दिनुपर्छ । घरपरिवारका सदस्यसँग हुने व्यवहारले पनि धेरै कुरामा सघाउँछ । आधा, एक घण्टा जति टेलिभिजनमा आफूलाई मनपर्ने कार्यक्रम हेरेर आनन्द लिन सक्छन् ।

साथै आफ्ना साना भाइबहिनीसँग घरभित्र खेलिने खेल खेल्दा पनि रमाइलो हुन्छ वा पत्रपत्रिका पढेर सामाजिक, भाषा विषयसँगै अरू विभिन्न विषयसम्बन्धी ज्ञान बढाउन सक्छन् । एसईई दिने विद्यार्थीले बिहान उठेर ताजा मन, मस्तिष्क भएका बेला अरू पढ्नुपर्ने विषय दोहो¥याउने बानी बसाल्दा पढाइमा राम्रो गर्न सक्छन् । एसईई दिने विद्यार्थीले युट्युबमा आफूलाई अप्ठ्यारो लागेका विषयका भिडियो हेरेर सजिलै पढ्न सकिन्छ । इन्टरनेटका विभिन्न साइटमा आफूलाई अप्ठ्यारो लागेका प्रश्नको सजिलै समाधान पाइन्छ ।

दशैँ, जाडो जस्तै अन्तिम परीक्षा सकिएको यो लामो बिदामा अभिभावकले उमेरअनुसार आफ्ना नानीबाबुलाई भान्सामा प्रवेश गराउनु झनै महत्त्वपूर्ण हुन्छ । जहाँ उनीहरू थरी–थरीका परिकार पकाउन तथा तिनको स्वाद लिन सिक्छन् । यसले पेसा जस्ता विषयमा धेरै सहयोग पु-याउँछ । सानो कक्षामा पढ्ने विद्यार्थीले किताबमा चित्रका रूपमा मात्र देखेका हरिया सागपात, तरकारी, गेडागुडी, फलफूल वास्तविक रूपमा छुट्याउन सक्छन् । भान्सामा प्रयोग हुने आफ्नै देशमा फल्ने जडीबुटीयुक्त खाद्यपदार्थ जस्तै अदुवा, दालचिनी, टिमुर, मेथी आदि चिन्न सक्छन् । माथिल्लो कक्षामा पढ्ने आफ्ना नानीबाबु भान्सामा पसेर आफैँ पकाएपछि खाना मीठो भएन भनेर किचकिच गर्ने र फाल्ने बानीमा पनि धेरै सुधार आउँछ । जुन मैले मेरै नानीमा पनि देखेकी छुँ । 

कक्षा आठमा पढ्ने ऊ जब भान्सामा तरकारी, रोटी पकाउन पस्छे, कक्षा एकमा पढ्ने छोराले पनि भान्सामा गएर चिया पकाउँछु भन्दै जिद्दी गर्छ । हाम्रै निगरानीमा सुरक्षित तरिकाले उसले पनि धेरैचोटि चिया पकाएर हामीलाई खुवाइसक्यो । आफ्ना नानीबाबुको सानो सहयोगले उनीहरूलाई मात्रै फाइदा गर्दैन कहिलेकाहीँ हामी आमालाई पनि दिनभरि अफिसको कामले लखतरान परेका बेला वा सञ्चो नभएका बेला धेरै राहत महसुुस गराउँछ । यस्ता घरायसी काममा छोराछोरी नभनी दुवैलाई समान रूपले भान्सामा प्रवेश गराउनु जरुरी हुन्छ । छोराचाहिँ बाहिर खेल्न जाने छोरी भने अर्काको घर जाने जात भन्दै पकाउन जान्नैपर्छ भन्ने भेदभावकारी मान्यतालाई भने तोड्नैपर्छ । उनीहरूलाई बेला–बेलामा टाढा या नजिकका विभिन्न पर्यटकीय क्षेत्र घुम्न लिएर जाँदा विभिन्न कुराको ज्ञान बढ्नुका साथै झनै ताजा अनुभव गर्छन् । नयाँ कक्षाको पढाइमा मन लाग्छ ।

आफ्ना नानीबाबुले विगतमा के गरे र भविष्यमा के गर्दा राम्रो हुन्छ भन्नेमा अभिभावक एकदमै चनाखो हुनुपर्छ । पढाइबाट फुर्सदको समयमा विद्यार्थी जुनसुकै कुरामा पनि आफूलाई व्यस्त राख्न सक्छन् । किशोर अवस्था (टिनएज) का विद्यार्थीमा उत्सुकता धेरै हुन्छ । यसकारण उनीहरू यो उमेरमा कुलतमा फस्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । पानीको बोतलमा अल्कोहल हालेर स्कुलमा ल्याउने, इलेक्ट्रिक हुक्का, मधुजस्ता गुट्खा आदि साथीको लहैलहैमा लागेर वा कस्तो हुँदोरहेछ भनेर उत्सुकतापूर्वक स्वाद लिन पुगेका घटना कहिलेकाहीँ स्कुलमा समेत सुनिन्छन् । 

अभिभावकको निगरानी वा आफ्नै सुझबुझले कतिले यो अम्मल छाडे पनि कोही भने यसलाई निरन्तरता दिन पुग्छन् । यसले उनीहरू अम्मली बन्दै जाँदा स्वास्थ्यमा नराम्रो असर गर्नुका साथै यस्ता चिज किन्न चाहिने रकमको जोहो गर्न घरबाहिर वा घरभित्रै चोरी गर्न पुग्छन् । यसकारण हामीले उनीहरूलाई उमेरअनुसार आफ्ना लुगा, धुने, सुकाउने, आइरन गर्ने, आफ्नो ओछ्यान मिलाउने स्कुलको जुत्ता पोलिस गर्ने जस्ता काममा संलग्न गराउन सक्छौँ । यसले उनीहरूमा काम गर्ने बानीको विकास हुन्छ । 

लामो समयसम्म एकै ठाउँमा बसेर मोबाइल जस्ता विद्युतीय सामग्रीमा व्यस्त हुँदा शरीरलाई चाहिने आवश्यक व्यायाम नपुगेर बिरामी हुने सम्भावना अधिक हुन्छ । घरभित्रै गर्न सकिने गायन, वादन, नाच इत्यादिमा उनीहरूको रुचिअनुसार व्यस्त गराउन सकिन्छ । यसले उनीहरूमा शारीरिक कसरत हुनुका साथै अल्छीपनाबाट पनि छुटकारा मिल्छ । बिदाको समयमा पढाइको बोझ नहुने भएकाले घरभित्रै आफ्ना नानीबाबुलाई विभिन्न सीपमूलक कुरा सिकाउँदा राम्रो हुन्छ । साना नानीबाबुलाई कविता बनाउन, कथा भन्न लगाउने, डायरी भर्न लगाउने, चित्र कोर्न सिकाउने, गीत गाउन नाच्न लगाउने, फूलमा पानी हाल्ने स्याहार्ने जस्ता उनीहरूको प्रतिभा उजागर गराउने रमाइला क्रियाकलाप घरमै गराउन सकिन्छ । 

बिदामा सहरभन्दा टाढा गाउँघर जाने विद्यार्थीलाई पशुपालन गरेको, बारीमा लगेर बालीनाली, तरकारी, फलफूल लगाउने  तरिका, तिनीहरू फल्ने समय र पाकेपछि कसरी भिœयाउने जस्ता विधि सिकाउँदा उनीहरूले राम्रोसँग बुझ्छन् र भविष्यमा कृषि पेसा अपनाउने लक्ष्य पनि लिन सक्छन् । एक जना अभिभावकलाई दमको समस्या रहेछ । कक्षा छमा पढ्ने छोराको जुत्ता पोलिस गर्दा उनलाई पोलिसको गन्धले गाह्रो भएर अस्पताल पु-याउनुपरेछ । यसकारण आफ्ना यस्ता स–साना काम नानीबाबुले आफंैँ गर्दा घरका अरू सदस्यलाई मद्दत पुग्छ । अहिले विद्यार्थी सबैभन्दा बढी व्यस्त हुने भनेको मोबाइल, ल्यापटप, ट्याब आदि विद्युतीय उपकरणमा हो । 

आफ्ना बालबालिका ढोकामा चुकुल लगाएर एक्लै बस्न खोजे भने अभिभावक चनाखो भएर बस्नुपर्छ । आफ्नै आमाबुवाबाट केही लुकाउन खोजे भने उनीहरू नराम्रो काममा फसेको पनि हुन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ । विद्यार्थीमाझ साइबर क्राइमका घटना बढिरहेका बेला अभिभावकले आफ्ना बालबालिका इन्टरनेटको प्रयोग के कामका लागि गरिरहेका छन् भनेर चासो राख्न जरुरी देखिएको छ ।

बेला–बेलामा उनीहरूका इमेल, फेसबुक अकाउन्ट, म्यासेन्जरलगायत स्कुलका झोला पनि उनीहरूले थाहा नपाउने गरी जाँच गरिरहनुपर्छ । योसँगै कतिपय विद्यार्थी आफ्नो जन्मदिन मनाउन अभिभावकसँग जबर्जस्ती पैसा मागेर बाहिर रेस्टुराँतिर जाने गरेको देखिन्छ । यसले उनीहरूमा फाल्तु खर्च गर्ने बानीको विकास हुनुका साथै कुलतमा फस्ने सम्भावना धेरै देखाउँछ । यसको सट्टा उनीहरूका मिल्ने साथी बोलाएर घरमा नै रमाइलो गर्दा केही कुराको डर रहँदैन । आफ्ना नानीबाबु राम्रा मान्छे बनून् भन्नका लागि अभिभावक तथा शिक्षक मिलेर किशोरावस्था पूरा नहुँदासम्म उनीहरूको आनीबानी, चालचलन, उठबसको निगरानी गरिरहनुपर्छ । 



Author

मञ्जु भट्ट