• २४ असार २०८१, सोमबार

समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्छ :अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शुक्रबार काठमाडौँमा आयोजित पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको अन्तिम दिनलाई सम्बोधन गर्दै । तस्बिर : विमलबहादुर बिष्ट/रासस

काठमाडौँ, असार २१ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताउनुभयो। 

उहाँले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताउनुभयो। उहाँले यसले केन्द्रमा मात्र नभ प्रदेशमा पनि प्रभाव पार्ने बताउनुभयो। उहाँले नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने बताउनुभयो। उहाँले नयाँ समीकरणमा सामेल हुने पार्टीसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ। यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ। यसले एउटा क्षेत्रमा मात्रै प्रभाव पार्ने छैन, यो नयाँ सरकारका काम, क्रियाकलाप कस्तो हुनेछ, त्यसले राष्ट्रिय राजनीतिलाई पनि प्रभाव पार्नेछ। यस अर्थमा हामीले कसरी अघि बढ्ने हो ? यस बारेमा विभिन्न दलसँग पनि वार्ता गर्नुपर्नेछ। समाजवादी मोर्चालाई क्रियाशील गर्नुपर्नेछ। त्यसको निम्ति पनि बैठक बस्न ढिलो भइसकेको छ। अहिलेको नयाँ समीकरणको आधारमा नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ। कुन ढङ्गले अघि बढ्ने हो ? कस्तो नीति लिनेछ ? कहिले आकार ग्रहण गर्नेछ, पुरानो सरकार कहिले बिदा हुनेछ, यी सबै कुरा यत्तिकै भन्न सकिँदैन, हाम्रो पनि सहभागिता र भूमिका रहने भएकाले यस कार्यमा पनि जुट्नुपर्नेछ।’

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा गरेको बताउनुभयो।