• २४ असार २०८१, सोमबार

व्यवस्थित सहरीकरण प्राथमिकता

blog

रौतहटको कटहरिया नगरपालिकाकै नामबाट नामकरण गरिएको मासुको प्रख्यात परिकार ‘कटियाको मासु’ (माटोको भाँडामा पकाइने मासु) अहिले देशका मुख्य सहरमा समेत फैलिएको छ । यस नगरपालिकाको पूर्वमा गुजरा, वृन्दावन र गरुडा नगरपालिका छन् । पश्चिममा फतुवा विजयपुर, उत्तरमा गुजरा नगरपालिका रहेको छ भने दक्षिणमा देवाही गोनाही र मौलापुर नगरपालिका छ । कुल नौ वटा वडा रहेको यो नगरपालिकामा मधेशी, थारू, मुसहर, डोमलगायतका जातजातिको बसोबास छ । नगरपालिका नजिकै रहेको बौधिमाई मन्दिर धार्मिक आस्थाको केन्द्रविन्दु हो । यहाँ २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका अजयप्रकाश जयसवाल जिल्लाकै कान्छा नगरप्रमुख हुनुहुन्छ । उहाँसँग गोरखापत्र दैनिकका रौतहट समाचारदाता यादवराज पुरीले गर्नुभएको कुराकानी :

निर्वाचनअघि जनतासँग गर्नुभएका प्रतिबद्धता कति पूरा गर्दै हुनुहुन्छ ?

निर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धता क्रमशः पूरा हुँदै गएको छ । कोरोनाको महामारीले थिलथिलिएको नगरको आर्थिक, सामाजिक पक्षको सुधार चुनौतीपूर्ण हुँदा हुँदै पनि चुनावमा जनतासँग गरिएका शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रको विकास र विस्तारका वाचा क्रमशः पूरा गर्दै छु । नगरभित्रका कच्ची बाटो कालोपत्रे, ढलान तथा ग्राभेलयुक्त बनाइएको छ । 

कृषकको बाहुल्य रहेको यस नगरपालिकामा कृषि क्षेत्रको विकासका लागि कृषि मार्गको निर्माण गरिएको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न हाटबजार व्यवस्थापन गरिएको छ । खाद्यान्न, तरकारी तथा दलहन बालीको उत्पादन वृद्धि गर्ने उद्देश्यले नदी तथा भूमिगत पानी निकाली सिँचाइ सुविधा उपलब्ध गराउन ८५ लाख मूल्य बराबरको विद्युतीय पोल र तारको व्यवस्थापन गरिएको छ । सिँचाइका लागि किसानले प्रयोग गर्ने विद्युतीय कृषि मिटरको महसुलसमेत नगरपालिकाले भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । खाद्यान्न, तरकारी तथा फलफूललाई लामो समयसम्म ताजा तथा गुणस्तरीय कायम राख्न र बजारभाउ वृद्धि भएपछि बजारीकरण गरी राम्रो आम्दानी गर्न करिब १९ करोडको रुपियाँ लागतमा शीतभण्डार निर्माण हुँदै छ । 

 नगरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्ता सुधार भएका छन् ?

नगरका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने व्यवस्था मिलाइएको छ । शिक्षक अभावले अध्यापन प्रभावित भइरहेको अवस्थामा पालिकाले प्राथमिक तहका ३५ जना शिक्षक करारमा नियुक्त गरेको छ । पालिकाका विद्यालयमा भौतिक तथा शैक्षिक वातावरण सन्तुलन राख्न प्रयत्न गरिएको छ । हाल प्रकाशित माध्यमिक शिक्षा परीक्षामा ‘ए’ प्लस ल्याउने पाँच जना विद्यार्थीको मनोबल बढाउन र उच्च शिक्षा अध्ययनमा सहजता ल्याउन पालिकाले जनही एक एक वटा ल्यापटप वितरण गर्ने निर्णय गरेको छ । र अन्य विद्यार्थीलाई पढाइ सामग्री वितरण गर्ने व्यवस्थासमेत मिलाएको छ । पालिकाको जनता माध्यमिक विद्यालयमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिएको छ ।  

पालिकाले स्वास्थ्यको क्षेत्रमा पनि विशेष योगदान गरेको छ । १५ श-याको नगर अस्पताल निर्माण गरी एमबिबिएस डाक्टरको व्यवस्था गरिएको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य चौकीको व्यवस्थापन गरिएको छ । यसमा  सोलार प्यानल जडान गरी विद्युतीय शक्तिलाई निरन्तरता दिइएको छ । पालिकाका ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दालाई लक्षित गरी वडा नं. ८ मा ‘बर्थिङ सेन्टर’ निर्माण गरिँदै छ । यसबाट प्रजनन सेवा लिन वडाका महिला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने छ । 

नगरपालिकाको दिगो आन्तरिक स्रोतको अवस्था कस्तो छ ? 

नगरपालिकाको दिगो आन्तरिक स्रोत भनेको मालपोत तथा भूमिकर र सिफारिस दस्तुर मात्र हो । यसबाट वार्षिक औसत आम्दानी करिब ४० लाख रुपियाँ हुन्छ । घरबहाल तथा व्यवसाय कर न्यून छ । प्रदेश सरकारको मातहतमा रहेका नदीजन्य पदार्थको उत्खनन र बिक्रीवितरण ठप्प छ । आउँदो आर्थिक वर्षदेखि नदीजन्य पदार्थको उत्खनन र बिक्रीवितरणको ठेक्का लगाई नगरपालिकाको आन्तरिक स्रोत उचित ढङ्गबाट परिचालन गरिने छ ।

नगरपालिकामा कस्ता कस्ता चुनौती छन् ? 

यस नगरपालिकामा चुनौतीका चाङ छन् । नगर उपप्रमुख र वडा प्रतिनिधिका आआफ्नै अडानले गर्दा बजेट विनियोजनमा समस्या आउने, नगर सभा प्रभावित हुने, राजनीतिक दबाब अधिक आउने, कर्मचारी तथा शिक्षक भर्नामा दबाब सिर्जना गर्ने, विकास निर्माणका काममा बाधा पु-याउने जस्ता कार्यले सहज रूपमा विकासका कार्य गर्न सकिएको छैन । 

नगरपालिकालाई सक्षम र सबल बनाउन तथा यसको दिगो विकास गर्न के के योजना ल्याउनुभएको छ ?

नगरको दिगो विकास गर्न पहिलो प्राथमिकतामा व्यवस्थित सहरीकरण परेको छ । हरेक घरमा शुद्ध खानेपानी तथा पूर्ण सरसफाइलाई पनि प्राथमिकतामा राखिएको छ । गरिब दलित एवं विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा, बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम योजनामै परेको छ । यसै गरी एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत कृषि रोजगारीको सिर्जना गरी पालिकाका दलित तथा गरिब युवालाई विदेश पलायन हुनबाट रोक्ने तयारीमा नगरपालिका अग्रसर छ । जिल्लाकै ठुलो फलफूल नर्सरी रहेको बिर्तीप्रस्टोका गाउँबाट उत्पादित विभिन्न जातका बोटबिरुवाको बजारीकरण गरी किसानको आयआर्जन वृद्धि गर्ने, माछापालनको अत्यधिक सम्भावना रहेको यस नगरपालिकामा माछापालक किसानका लागि पनि योेगदानमूलक कार्यक्रम ल्याइएको छ ।